छठ पर्व नजिकिँदै जाँदा डोम जातिको व्यवसाय फस्टायो

गौशाला (महोत्तरी), १९ असोज ।

मिथिलाञ्चलवासीको महान् पर्व छठ नजिकिँदै जाँदा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार महोत्तरीमा फस्टाएको छ ।

कडा मेहनत र लगनसाथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), सुप, नाङ्लो, टपरी लगायतका बाँसका सामग्री अत्यधिक रुपमा बिक्री भइरहेको छ । उनीहरूले बनाएका यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ ।

डोमले बनाएका बाँसको सामग्री जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, गौशाला, रामगोपालपुर, सम्सी, बलवा, औरहीलगायत जिल्लाको विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ ।

महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको माग बढी भएकाले सो पेशा फस्टाउँदै गएको छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरा लगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ (महोत्तरी)मा बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने काठमाडौं, पोखरा, हेटौंडा, जनकपुर र विभिन्न भारतीय शहरमा पनि निर्यात हुने गरेको छ ।

डोम जातिले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला दुई-तीन लाखसम्म आम्दानी गर्ने गर्दै आएका छन् । यस वर्ष कात्तिक ९ गते मिथिलाञ्चललगायत देशभरि छठ पर्व मनाइने भएको छ । रासस

    बिहीबार, असोज १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*