छुई हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य

जुम्ला, ६ भदौ ।

स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् ।

ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् । छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफूलाई समस्या हुँदै आएको तिला गाउँपालिका–९ राँसामालापानी स्वास्थ्य चौकीका अनमी सरिता सेजुवालले जानकारी दिइन् ।

उनले यो पीडा तिला गाउँपालिकामा आयोजित स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गरेकी हुन् ।

छुई हुँदा गाउँका कसैले छुन मान्दैनन् । घरमा बस्न पनि मिल्दैन र भेडी गोठमा सुत्नुपर्छ”, दुखेसो पोख्दै अनमी सेजुवालले भनिन् । “शारीरिक स्वास्थ्यमा आउने समस्याबाट बचाउन सकियोस् भनेर सदरमुकाम खलंगाको संस्थामा गइन्छ, तर समुदायले स्वास्थ्यकर्मी नै स्वास्थ्य संस्थामा बस्दैनन् भनेर आरोप लगाउँछन्” छुई हुँदा घरमा बस्ने अवस्था नहुँदा त्यो अवधिमा संस्था छोड्नु परेको उनको भनाइ छ ।

गाउँमा विद्यमान सामाजिक कुप्रथा छुई’ मान्ने चलन कायमै रहेकाले त्यसको सिकार गाउँका महिला मात्र होइन, स्वास्थ्यकर्मी महिला नै पीडामा छन् । बेलाबेलामा भएका छुई प्रथाविरुद्धको अभियानले सडक छेउका बस्तीमा परिवर्तन देखिए पनि दुर्गम बस्तीका समुदायलाई यो अभियानले छुन सकेको छैन ।

जिल्लामा महिला तथा बालबालिका कार्यालय जुम्लाको नेतृत्वमा पाँचवर्षीय सामाजिक कुप्रथा ‘छुई’ अन्त्यको रणनीतिक योजना निर्माण भएको छ । परम्परागतरुपमा जरा गाडेको संस्कार आजै निर्मूल नहुने र योजना कार्यान्वयनमा आए त्यसले राम्रो प्रभाव पार्ने महिला विकास अधिकृत गोमा प्रसाईं बताउँछिन् । तथापि विगतभन्दा यो प्रथा छोड्नेको संख्या बढ्दै गएको उनको दाबी छ ।

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यो संस्कार पूर्णरुपले निराकरण नभए पनि विस्तारै घटाउनतर्फ स्थानीय सरकार लागिपरेको बताए। उपाध्यक्ष विष्णु बुढाले यो प्रथाको न्यूनीकरणका लागि दुर्गम वडाबाट छुई प्रथाविरुद्धको सामाजिक अभियान सञ्चालन गर्ने वचन दिए । यद्यपि जिल्लामा ५० प्रतिशत महिला स्वयंसेविकाले पनि छुई प्रथा मान्दै आएको स्थानीयवासी बताउँछन् । रासस

        मंगलबार, भदौ ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*