नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्षमा पहिलोपटक महिला

 

काठमाडौँ । निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएकी छन् । चैत २९ गते काठमाडौंमा सम्पन्न महासङ्घको ५१औँ वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्ष भवानी राणालाई महासङ्घको नयाँ अध्यक्ष निर्वाचित गरेको हो । यससँगै उनी महासङ्घको १८औँ अध्यक्षका रूपमा पदासीन बनेकी छन् । स्मरणीय छ, केही समय पहिले संस्थाको विधानको छैटौँ संशोधनले महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान निर्धारित गरेको थियो ।
निर्वाचित भएपछि एक कार्यक्रममा बोल्दै उनले नयाँ वर्ष २०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने बताउँदै आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासङ्घले आर्थिक समृद्धिका लागि विशेष योजनासहित काम गर्ने औँल्याउँदै भनिन्, ‘मुलुकले विकाससँगै यतिबेला समृद्धि चाहेको छ । विकासको विकल्प छैन । मेरो नेतृत्वको महासङ्घले सरकारसँगको सहकार्यमा आर्थिक समृद्धिका कामहरूलाई अघि बढाउनेछ ।’ उनले मुलुकमा रोजगारी सिर्जना गर्ने र युवाहरूलाई विदेश पलायनबाट रोक्नका लागि पनि महासङ्घले काम गर्ने जिकिर गर्दै उनले युवाहरूलाई विदेश पलायनबाट रोक्नका लागि महासङ्घले देशका सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने आफूहरूको योजना रहेको पनि उनले सार्वजनिक गरिन् ।
मूलतः पर्यटन व्यवसायसँग सम्बद्ध नवनिर्वाचित एफएनसिसिआई अध्यक्ष भवानी राणा २०६२ सालदेखि महासङ्घ गतिविधिमा सक्रिय हुन थालेकी हुन् । २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर उनले महासङ्घ केन्द्रीय पदाधिकारीका रूपमा उद्योगीहरूमाझ आफ्नो प्रारम्भिक परिचय स्थापित गरेकी हुन् । सोही अवधिमा उनले महिला उद्यमी विकास समितिको सभापतिका रूपमा आफ्नो जिम्मेवारी उत्साहपूर्वक पूरा गरेकी थिइन् ।
बाँकेमा स्थापित÷सन्चालित स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको रूपमा कार्यरत राणा स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिको निर्देशक, स्नेहा बी एन्ड एस कोलाब्रेसन प्रालिको व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजको प्रवद्र्धक, पद्य क्रियसन प्रालिको निर्देशक र बागेश्वरी विकास बैंकको प्रवद्र्धक समते हुन् ।
उद्योग–वाणिज्य–व्यापार क्षेत्रमा लामो समयदेखि काम गर्दै अतुलनीय अनुभव हासिल गरेकी राणाले राजजधानी उपत्यकास्थित सेन्ट मेरिज स्कुलबाट विद्यालयीय शिक्षा पूरा गरेपछि उच्च शिक्षा भने भारतको लखनउ विश्वविद्यालयबाट हासिल गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डको सदस्यका हुनुका साथै महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष समेत रहेकी राणा राजनीतिक शास्त्रमा स्नातकोत्तर हुन् ।
महासङ्घको सोही साधारण सभाले संस्थाको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उपाध्यक्षहरूतर्फ उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाललाई निर्वाचित गरेको छ । त्यसैगरी, कार्यकारिणी समिति सदस्यमा उद्योग वाणिज्य समूहतर्फ उमेश डालमिया, सूरजकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दीपक लम्साल, ध्रुवराज श्रेष्ठ (भारी), राजेन्द्रकुमार श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी, देवकुमार श्रेष्ठ, सुदर्शन कार्की, सुशीला सापकोटा, पशुपतिबहादुर खड्का, गजेन्द्रकुमार भगत, नरवीर रावत, लोकविक्रम थापा, निर्मलकुमार चौधरी, मनोजकुमार मुन्धडा, दिपेन्द्रकुमार खत्री र भुवनलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसै गरी, कार्यकारिणी समिति सदस्यमा निर्वाचन क्षेत्र प्रदेश नं १ बाट रोहितप्रसाद प्रसाईं, प्रदेश नं २ बाट गणेशप्रसाद लाठ, प्रदेश नं ३ बाट कमलकुमार श्रेष्ठ, प्रदेश नं ४ बाट निर्माणकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट भीमबहादुर थापा, प्रदेश नं ६ लङ्कमान रोका र प्रदेश नं ७ बाट प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । वस्तुगत सङ्घतर्फ २७, एसोसिएटतर्फ २२ र द्वि–राष्ट्रिय उवासङ्घतर्फ एक स्थानमा अजय मुडभरी निर्वाचित भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*