महिलालाई ‘सनसेट कर्फ्यूु’ लाग्ने समाज। यही चुनौतीपूर्ण समाजमा काम गर्नुछ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कुर्सीमा बसेर। कर्णालीको जुम्लामा।
चुनौती अँगाल्दै सिन्धुपाल्चोकमा सहायक सिडिओका रूपमा दुई वर्ष खटिएकी दुर्गा बञ्जाडे कर्णालीकै पहिलो महिला सिडिओ बनेर पुगिन् जुम्लाको खलंगा।
फागुन १७ मा खलंगा पुगेकी बञ्जाडेले पहिलो कदम चालिन्- बालविवाहविरुद्ध।
‘यसअघि बालविवाहको मुद्दा नै दर्ता नहुने रहेछ,’ बञ्जाडेले आफ्नो पहिलो कदमबारे भनिन्, ‘अपरिपक्व उमेरमा विवाह गराउनु आफैंमा अपराध हो। यसलाई कानुनले बन्देज गरेको छ। त्यसैले चैत ४ गतेबाट पहिलोपटक बालविवाहविरुद्धको मुद्दा दर्ता लिन थालियो।’
मुद्दा दर्ता गरेर मात्र भएन। रोकथामको उपाय पनि त निकाल्नुपर्यो। बालविवाह रोक्न स्कुल-स्कुलमा अन्तर्क्रिया र पण्डितलाई तालिम दिन सुरु भयो।
अर्को कदम : अडियोमा नागरिक बडापत्र
‘प्रशासन नागरिकमैत्री भएन भन्दै दिनहुँ गुनासा आउँथ्यो। ३९ प्रतिशतमात्र शिक्षित भएको जिल्लामा कतिले बुझ्लान् जिल्लाको बडापत्र। त्यसैले अडियो राख्ने उपाय निस्कियो,’ बञ्जाडे बताउँछिन्।
स्थानीय खस नेपाली भाषामा राखिएको उक्त बडापत्रले नागरिकको गुनासालाई सम्बोधन गर्ने बञ्जाडेको दाबी थियो। उनले भनिन्, ‘हेल्पडेस्क भएन, नागरिकले दुःख पाए, नागरिकमैत्री भएन भन्दै दिनहुँ गुनासा सुनिन्थ्यो। सबै व्यवस्था थियो। तर नागरिकको पहुँच अझै देखिएन। त्यसैले अडियो राख्ने उपाय आयो।’
खस भाषामा बनाइएको अडियो बडापत्र स्थानीय एफएममा बज्छन्। सामाजिक सञ्जालमा राखिएका छन्।
यतिबेला चिसिएको छ जुम्ला। बेलाबेला सञ्चारमा समस्या आइरहने यहाँ तापक्रम माइनसमा पुगेपछि समस्या थपिन्छन्।
‘अहिले जुम्लामा हिउँ परिरहेको छ, चिसो बढेसँगै सञ्चारमा समस्या छ। हिउँदको समयमा त एक हप्तासम्म पनि ल्यान्डलाइन फोन चल्दैन। इन्टरनेटको त चर्कै समस्या छ,’ बञ्जाडेले भनिन्।
जुम्ला प्रशासन छाउगोठ हटाउने काममा समेत निरन्तर लागिपरेकी बताउँछिन् उनी।
एकैपटक तीन जागिर, रोजिन् प्रशासन
अर्घाखाँचीको छत्रदेवमा जन्मिएकी हुन् बञ्जाडे। अर्घाखाँचीकै सरस्वती माविबाट एसएलसी सकाएकी उनले बुटवल बहुमुखी क्याम्पसबाट आइएल पूरा गरिन्।
स्नातक तीनकुने सामुदायिक क्याम्पस काठमाडौँमा रात्रि कलेजबाट। त्रिवि कीर्तिपुरबाट जनप्रशासनमा स्नातकोत्तर गरेकी उनले एमफिलसम्मको पढाई पूरा गरिन्। सरकारी सेवामा सानैबाट चासो राखेकी उनलाई एमएको पढाई सकिएलगत्तै २०६८ मा तीन निकायमा एकैचोटी परीक्षा दिने अवसर जुर्यो।
‘एमए सक्नसाथ लोकसेवा आयोगमा शाखा अधिकृतका लागि, त्रिविमा उपप्राध्यापकका लागि र राजस्वम पनि परीक्षा दिएँ। सबैमा पास पो भइयो,’ बञ्जाडे भन्छिन्, ‘तीनमा दुई त छाड्नैपर्यो। त्यसपछि रोजेँ प्रशासन।’
प्रशासन नै किन ?
‘मैले इच्छाएको क्षेत्र हो यो। प्रशासनमा रहेर काम गर्दा विकट र दुर्गम क्षेत्रमा पनि काम गर्नुपर्छ। जसरी अहिले खटिएकी छु नि। गाउँदेखि शहरसम्म। राष्ट्रिय अन्तर्रार्ष्ट्रिय स्तरसम्म सहभागी हुन पाइने भएकोले पनि यो क्षेत्र रोजेकी हुँ,’ बञ्जाडेले भनिन्।
हुलाकदेखि जुम्ला यात्रा
उनको पहिलो पोस्टिङ थियो हुलाक कार्यालय, सुन्धारा। त्यहाँ काम गर्दागर्दै उनले उपसचिवका लागि परीक्षा दिइन्। लगत्तै अध्ययनका लागि पुगिन् दक्षिण कोरिया।
लैंगिक विकास अध्ययनको विषय। कोरियाबाट फर्केपछि उपसचिवमा नाम निस्कियो। र त्यहाँबाट पुगिन् स् वन र सिँचाइ विभाग।
त्यहाँबाट सरुवा भइन् योजना आयोगमा। त्यहाँ काम गर्दागर्दै उनको मनमा प्रश्न उठे, ‘पढेका कुरा, कोरियामा पढेका अनुभव लगायतबाट। गाउँको अवस्था साँच्चै कस्तो रहेछ ?’
त्यही प्रश्नको उत्तर खोज्न सहायक सिडिओ भएर सिन्धुपाल्चोकको चौतारा पुगिन् उनी। २०७२ वैशाखको भूकम्पलगत्तै चौतारा पुगेकी थिइन् उनी। पुनर्निर्माण स्थापना केन्द्र उनको कार्य विभाग। गाउँको अवस्थाबारे केही जान्ने मौका पाइन् उनले।
जुम्ला पुगेपछि
गत वर्ष फागुन १७ गते खलंगामा पहिलो महिला सिडिओको रूपमा स्वागत गरियो बञ्जाडेलाई। छाउप्रथा विद्यमान रहेको जिल्लामा उनीमाथि चुनौतीका चाङ थिए।
पातमा भात, महिलामा देखिँदैन जवानी
जुम्लाका गाउँमा पुगेर उनले देखिन पातमा खान खाएको। आफूलाई भने सिडिओ भन्दै खोजीखोजी थालमा खान दिएको सम्झिन्छिन् बञ्जाडे, ‘पातमा राखेर खाना खाएको देखेको छु। चम्चा त परको कुरा। मलाई सिडिओ भनेर थालमै खाना दिन्थे।’
जुम्लाका महिलाको जीवन सकसपूर्ण छ। लवाइ-खुवाईले यहाँका युवतीमा जवानीसमेत नखुल्ने उनको भनाई थियो। ‘त्यहाँका हावापानी र लवाइ-खुवाइकै कारण होला २२ वर्षका युवती पनि ३४ वर्षका जस्ता देखिन्छन्। उनीहरू जवान नै हुँदैनन् जस्तो,’ बञ्जाडेले सुनाइन्।
छाउगोठ हटाउन निरन्तर प्रयास
पछिल्लो समय जुम्ला प्रशासन कडाइका साथ छाउगोठ हटाउने कार्यमा लागिपरेको छ। परम्परागत रूपमा जरा गाडेको छाउपडी प्रथा हटाउन निरन्तर लागिपरेको बञ्जाडे बताउँछिन्, ‘हिजो पनि लागिपरेकी थिएँ। आज पनि लागिरहेको छु। तर मैले एक्लैले केही गर्न सक्दिनँ। फेरि धर्मसँग यसरी जकडिएको छ कि छुमन्तर गरेर हटाउन सकिँदैन,’ छाउ प्रथाबारे उनले आफूले गरेको प्रयास उनले सुनाइन्।
छाउगोठ हटाउन उनी आफैं पनि गाउँगाउँ पुगेर महिला तथा किशोरीलाई महिला हिंसाबारे सचेत गराउँछिन्। आफ्नै उदाहरण दिन्छिन्स् म पनि एक महिला हो, मलाई पनि महिनावारी हुन्छ, म मात्र होइन राष्ट्रपतिलाई पनि हुन्छ नि किनकि उहाँ पनि एक महिला नै त हुन् होइन ररु तर हेर त हामी छाउ बार्दैनौँ।
उनको कुरा सुनेपछि गाउँका महिला अचम्मित हुन्छन्- आमै नि, हाम्रा सिडिओलाई नि छाउ हुन्छ रे !
बोलीले भन्दा पनि कमले जनताको मन जित्न सक्नु पर्दोरहेछ, त्यसैले कामलाई प्राथमिकता दिनुपर्छ भन्ने बञ्जाडेको मान्यता।
उनी भन्छिन्, ‘राज्यका निकायले जनताका लागि गरेका हरेक कामलाई सार्वजनिक गरेपछि नैतिकताले पनि बाँध्छ र काम बाँडफाँड गरेर अगाडि बढ्ने हो भने सेवा सुविधा सुलभ र सहज रूपमा प्रदान गर्न सकिनेछ।’
परिवारबाटै थालौँ विद्रोह
नेपाली समाज अझै पनि साँघुरो सोचाइ र संरचनाबाट मुक्त हुन नसकेको उनको बुझाइ छ। विशेष गरी छोरीका लागि। जुन उनले आफूले पनि भोगिन्।
सनसेट कर्फ्यू अर्थात् सूर्य अस्ताउनुअघि नै घरमा आइसक्नुपर्ने बाध्यता छ महिलालाई। खोसिएका अधिकार खोज्न महिला आफैं अघि बढ्नुपर्ने उनको सुझाव छ। बाहिर अधिकारका कुरा गर्ने तर घरमा विद्रोह गर्न नसक्दा महिला आफैं कमजोर बनेको उनी बताउँछिन्।
‘महिलाले घरभित्र परिवारमा विद्रोह गर्नै सकेनन्। घर बाहिरको विद्रोहले मात्रै परिवर्तन त कहाँ हुन्छ र। परिवर्तन गर्नु छ भने आजैबाट, आफैंबाट पो सुरु गर्ने हो त,’ बञ्जाडेले भनिन्।
समाजले महिलाको पीडाबारे गहन अध्ययन गर्न कन्जुस्याईँ गरेको उनको आरोप छ। यसको उदाहरण आफू कार्यरत जिल्लालाई दिन्छिन् उनी।
महिला विकास कार्यालय नहुँदा संवेदनशील क्षेत्र महिला तथा बालबालिकाका लागि भनेजस्तो काम गर्न नसकेको बन्जाडेले बताइन्। भनिन्, ‘कतिपय अस्पष्ट र अपर्याप्त हाम्रा ऐन कानुनले पनि अनेकौँ समस्यालाई सम्बोधन गर्न बाधा भइदिन्छ। यस विषयमा हेर्ने महिला विकास कार्यालय नै छैन जुम्लामा।’ (पहिलोपोस्टबाट साभार/फूलमाया पुरीको रिपोर्ट)
आइतबार, पुस १३, २०७६ मा प्रकाशित
Leave a Reply