पहिलो चरणमा जस्तो देखिएन तालमेल

काठमाडौं, ४ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको आजको नयाँ पत्रिकामा खबर छ ।

पहिलो चरणको निर्वाचनमा कतिपय ठाउँमा तालमेल प्रभावकारी नदेखिएपछि दोस्रो चरणमा तालमेल कम देखिएको छ । केन्द्रबाट भन्दा पनि स्थानीयस्तरमा आफैँ पहलकदमी लिएर तालमेल भएको नेताहरूले बताएका छन् । धेरै जिल्लामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । माओवादी र एमाले एक नगरपालिकामा मात्रै तालमेलमा छन् । केही स्थानीय तहमा दलहरूबीच तालमेलको पहल जारी छ । स्थानीय आवश्यकताअनुसार ठूला दलहरूले विभिन्न ठाउँमा साना दलहरूसँग पनि तालमेल गरेका छन् ।

एक लाख ६३ हजार सुरक्षाकर्मी परिचालन

गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ । पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारेको गृहले जनाएको छ । तीनवटै सुरक्षा निकाय र म्यादी प्रहरी गरी निर्वाचनमा एक लाख ६३ हजार ८ सय २३ जना सुरक्षाकर्मी खटाइएको गृहप्रवक्ता दीपक काफ्ले बताए । नेपाल प्रहरी, सशस्त्र, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान र सेना खटाएर सबै मतदान केन्द्र सुरक्षा नियन्त्रणमा लिइएको गृहमन्त्री जनार्दन शर्माले बताए । तत्काल जनताको सुरक्षा व्यवस्थाका लागि पछाडि नहट्न प्रहरी अधिकृतलाई निर्देशनसमेत दिइएको उनले बताए ।

      असार ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*