पहिलो चरण निर्वाचन : मौन अवधि आज मध्यरातदेखि सुरु

काठमाडौं, ७ मंसिर ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा हुने चुनावका सन्दर्भमा बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । यो मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

स्मरणीय छ, पहिलो चरणको निर्वाचन देशका ७७ मध्ये ३२ जिल्लामा आउँदो आइतबार मंसिर १० गते हुँदैछ ।

निर्वाचन आचारसंहिता, २०७२ र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आचारसंहिता, २०७३ मा भएको व्यवस्था अनुसार, निर्वाचनको मौन अवधि समय सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनै पनि प्रकारका चुनावी प्रचार-प्रसारमा संलग्न हुन पाइँदैन ।

निर्वाचन आयोगका अनुसार, यो अवधिमा एसएमएस, फेसबुक जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचनसम्बन्धी प्रचार-प्रसार पनि गर्न पाइँदैन ।

मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुरूप प्रचलित कानुनअनुसार कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।

सञ्चार माध्यमलाई भने दोस्रो चरणसम्मकै

यसरी पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा भने प्रसार-प्रसार गर्न पाइने छ ।

तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने भएको छ ।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचार संहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचार संहितामा मौनअवधिमा निर्वाचन प्रचार-प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ९आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै ‘मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न’ सचेत गराएको छ ।

मंसिर १० गते निर्वाचन हुने जिल्लाहरु :

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप

प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा

प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,

प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

बिहीबार, मंसिर ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*