पाल्पामा महिला आम्दानीको भरपर्दो स्रोत बन्दै झिनियाँ

रामपुर (पाल्पा), २७ असोज ।

तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) रोटीको व्यापार महिलाको गतिलो आम्दानीको स्रोत बनेको छ ।

सदरमुकाम तानसेन, रामपुरलगायत विभिन्न ठाउँका महिलाले झिनियाँको व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत १० वर्ष अघिदेखि झिनियाँको व्यापार गर्दै आएकी रामपुर नगरपालिका–५ राङ्भाङकी मैयाँ श्रेष्ठलाई यतिबेला झिनियाँ बनाउन र बेच्न भ्याईनभ्याई छ । उनले विशेष गरी तिहार पर्वका बेला झिनियाँ बेचेर रु एक लाख ५० हजारसम्म आम्दानी गर्छिन् ।

“तिहारको चहलपहल शुरु हुनासाथ झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ”, उनले भनिन् । झिनियाँको व्यापार शुरु गरेदेखि घरखर्च चलाउन र आफू परनिर्भर हुन नपरेको उनको भनाइ छ ।

झिनियाँ बनाएर १० वर्ष बितेको थाहा नभएको उनको अनुभव छ । श्रेष्ठले दशैँ तिहारका बेला कामदारसमेत राखेर झिनियाँ उत्पादन गर्दै आएकी छन् । अहिले दैनिक ३०० दर्जनभन्दा बढी झिनियाँ बिक्री गर्छिन् ।

त्यस्तै रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारीकी लक्ष्मी श्रेष्ठले झिनियाँबाट राम्रै आम्दानी हुन थालेपछि विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेकी हुन् । घरमै बसीबसी उनले झिनियाँ बनाएर तिहारका बेला रु दुई लाख ५० हजारसम्म आम्दानी गर्छिन् ।

यहाँ उत्पादन भएको झिनियाँ पाल्पाका विभिन्न बजार, स्याङ्जा, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पुर्याउनै सकिएको छैन”, उनले भनिन् ।

ठूलो लगानी गर्न नपर्ने तथा रु २५-३० हजारको लगानीमा घरमै बसीबसी लाखौँ रुपैयाँ कमाइ हुने भएपछि धेरैको दिनचर्या झिनियाँ बिक्रीमै बित्ने गरेको छ । झिनियाँ बिक्रीबाट महिलाले पर्याप्त आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको झिनियाँ प्रतिदर्जन रु ६० देखि रु ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहार पर्वका लागि मात्र बनाइने झिनियाँको हिजोआज अन्य समयमा पनि व्यापार हुने गरेको छ ।

पछिल्लो समय तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । रासस

    शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*