प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सेना च्याम्पियन

काठमाडौं । तीन देशको सहभागितामा नेपालमा सम्पन्न प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ । प्रतियोगितामा एपिएफ दोस्रो र पूर्वाञ्चल तेस्रो भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा चैत २४ गते बिहिबार भएको खेलमा सेना ६ स्वर्ण, दुई रजत र एक कांस्य पदक हात पार्दै च्याम्पियन बनेको हो । एपिएफले दुई स्वर्ण र दुई कांस्य पदक जित्यो भने एक स्वर्ण, दुई रजत र दुई कांस्यसहित पूर्वाञ्चल तेस्रो स्थानमा रह्यो ।

प्रतियोगिताको उद्घाटन गर्दै शान्ति मन्त्री सीतादेवी यादव
प्रतियोगिताको उद्घाटन गर्दै शान्ति मन्त्री सीतादेवी यादव

टिम पुम्से विधातर्फ नेपाल सेनाले स्वर्ण, मध्यमाञ्चलले रजत र एपिएफ र पूर्वाञ्चलले कांस्य जिते । एकल पुम्सेतर्फ सुदुरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्वर्ण, सुदूरपश्चिमाञ्चलकी नीता गुरुङले रजत र मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ताले कांस्य प्राप्त गरे ।

सिनियर फाइटतर्फको ६७ केजी तौल समूहमा सेनाकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत र सुदूरपश्चिमकी आकृति कार्की र पश्चिमाञ्चलकी ममता गर्बुजाले कांस्य पदक जिते । ६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिंहले स्वर्ण, सेनाकी मुस्कान कार्कीले रजत र मध्यपश्चिमाञ्चकली मीना पुन र पश्चिमाञ्चलकी अनिसा केसीले कांस्य प्राप्त गरे । ५७ केजी तौल समूहमा सेनाकी रेश्मा थापाले स्वर्ण, पूर्वाञ्चलकी सीना मादेनले रजत तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेरले कांस्य हात पारे ।

त्यस्तै, ५३ केजी तौल समूहमा भारतकी शिवानी ठाकुरले स्वर्ण, नेपालकी कल्पना चौधरीले रजत र पूर्वाञ्चलकी सुनीता तामाङ र सुदुरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कांस्य पदक जिते । ४४ केजी तौल समूहमा सेनाकी योगमाया श्रेष्ठले स्वर्ण, पूर्वाञ्चलकी सुशीला बुढाथोकीले रजत तथा मध्यमाञ्चलकी बीना गुरुङ र सुदूरपश्चिमाञ्चलकी चन्दा घर्तीमगरले कांस्य जिते । ४२ केजीमा एपिएफकी दक्षिणा ठकुरीले स्वर्ण, सेनाकी सीना श्रेष्ठले रजत तथा पश्चिमाञ्चलकी पूजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठले कांस्य जिते ।

फाइटतर्फ भारतकी शारदा दीक्षित र पुम्सेतर्फ सेनाको टिम ‘बेस्ट प्लेयर’ चुनिए । उनीहरू दुवैले ५१ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी ४६ केजीमुनि सेनाकी काजल श्रेष्ठले स्वर्ण, भारतकी कृतिका ठाकुरले रजत र ४९ केजीमा एपिएफकी अस्मिता खड्काले स्वर्ण र भारतकी शारदा दीक्षितले रजत जिते ।
यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको पहिलो दिनको खेलमा सरिता गुरुङले यु–१५ र सीना मादेनले यु–१९ पुम्सेमा स्वर्ण जितेका थिए । त्यसैगरी, यु–१५ उमेर समूहकै पुम्सेमा मध्यमाञ्चलकी मनिका रम्तेलले रजत, पूर्वाञ्चलकी स्वस्तिका तामाङ र कोरियाकी गायोङ शिनले कांस्य पदकमा चित्त बुझाएका थिए । यु–१९ तर्फको पुम्सेमा नेपाली सेनाकी रोशनी श्रेष्ठले रजत, मध्यमाञ्चलकी तामाङ र कोरियाकी जस्मिन बोसक हङले कांस्य हात पारेका थिए ।
नेपाल तेक्वान्दो संघको महिला सशक्तिकरण समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि शान्तिमन्त्री सीतादेवी यादवले गरेकी थिइन् । त्यस अवसरमा सांसद एवं नेपाली जनता दलका अध्यक्ष हरिशरण शाह, टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्कालगायतको उपस्थिति थियो । कुल १३ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा भएको थियो ।
नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तीकरण समितिको आयोजनामा भएको दुई दिने उक्त प्रतियोगितामा भारत, कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*