प्रदेश/प्रतिनिधि सभा चुनावमा खटिने कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने

काठमाडौं, ८ कात्तिक ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट वञ्चित भएका छन् ।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी वञ्चित भएका छन् । आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरूलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको हो । यसअघि २०६४ र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने समानुपातिकतर्फ उनीहरूको मताधिकार निर्वाचन कानुनबाटै सुरक्षित गरिएको थियो ।

यसअघिका निर्वाचनमा निर्वाचन कानुनमै समानुपातिकतर्फ मतदान गर्न दिने व्यवस्था राखिएको र दलहरूबीच समेत सहमति भएका कारण मतदान गर्न दिइएको भए पनि यसपटक कानुनमा व्यवस्था नभएको र दलहरू पनि मतदान गर्न दिन सहमत नभएका कारण रोक लगाइएको आयोगले जनाएको छ । – राजधानी दैनिकबाट

बुधबार, कात्तिक ८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*