बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

काठमाडौं, ३१ साउन ।

सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाहरूमा गैरसरकारी संस्था (एनजीओ/गैसस) हरूलाई मनपरी ढंगले राहत वितरण गर्न रोक लगाएको छ । सोमबार बिहान बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकपछि गृहमन्त्री जनार्दन शर्माले गैससहरूलाई फिल्डमा गएर सामान बाँड्न रोक लगाइएको जानकारी दिएका हुन् ।

मन्त्री शर्माले त्यसका लागि समाजकल्याण परिषद् र अर्थ सचिवलाई निर्देशन आवश्यक निर्देशन दिएको पनि बताएका छन् । सरकारको निर्णयसँगै अब गैससहरूले सरकारसँगको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेछ । भूकम्पको बेला एनजिओहरुले गरेको मनपरीलाई दृष्टिगत गर्दै बाढी पहिरोले निम्त्याएको विपद्का समयमा सजगता अपनाइएको गृहमन्त्रीले बताए ।

एनजिओले जिन्सी राहत वितरण गर्न चाहे अब विपद् व्यवस्थापन महाशाखासँग समन्वय गर्नुपर्नेछ भने सरकारले प्राथमिकताको आधारमा वितरण गर्नेछ । यस्तै नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

बैठकले बाढी पहिराले क्षति पुर्याएका ठाउँमा निजी र सरकारी सम्पत्तिको लगत १० दिनभित्र संकलन गर्ने निर्णय पनि गरेको समाचार छ । रासस

    मंगलबार, साउन ३१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*