‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार ज्ञवालीलाई

काठमाडौँ, १४ साउन । बारबरा शान्ति प्रतिष्ठान नेपालले सन् २०१६ को ‘बारबरा एडम्स’ खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका संवाददाता कृष्ण ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष डा सन्दुक रुइतको अध्यक्षतामा भएको प्रतिष्ठानको आजको बैठकले नेपालको चिकित्साशास्त्र शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे कान्तिपुर दैनिकमा खोजमूलक समाचार प्रकाशन गरेबापत रु एक लाख एक राशिको उक्त पुरस्कार पत्रकार ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

निर्णायक समितिले तीन चरणको छनोट प्रक्रियापछि पत्रकार ज्ञवालीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै प्रतिष्ठानले उक्त पुरस्कारका लागि टेलिभिजन, रेडियो, अनलाइन र छापाबाट गरी ३७ जना पत्रकारले आफ्नो समाचारसहित आवेदन गरेका जनाएको छ ।

झण्डै ५५ वर्षसम्म नेपालका अंग्रेजी र नेपाली पत्रपत्रिकामा निरन्तर स्तम्भ लेखेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनुभएकी अमेरिकी नागरिक बारबरा एडम्सले जीवनको अन्त्यतिर अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिनुभएको थियो । उहाँको सन् २०१६ मा नेपालमा निधन भएको थियो । रासस

             शनिबार, साउन १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*