बेलबारीकी ‘कवि’ उपमेयरः ‘कवितामा भन्दै आएका कुरा राजनीतिमार्फत पूरा गर्छु’

मोरङकी कवि तारा पराजुलीले ‘सुपर मुन’ शीर्षकको कवितामा जूनलाई सम्बोधन गर्दै लेखेकी छन्–

‘त्यहाँ तिम्रो कुनै जात छैन
धर्म, सम्प्रदाय र वर्ग छैन
र त तिमीमाथि विभेद छैन
तिमी आलोचनामुक्त छौ
र त सर्वपूज्य छौ
यहाँ त नाघ्नै नसक्ने जातका पर्खाल छन्
आँखा पोल्ने गरी धर्मको धूवाँ उडिरहेको छ
यो पिरो–पिरो बाटो छिचोल्न सक्छौ ?’

कवितामा यसरी पेचिलो प्रश्न सोध्ने पराजुलीले अब प्रश्न सोध्न पाउने छैनन् । किनकि अब उनको भूमिका बदलिएको छ । मोरङको बेलबारी नगरपालिकाको उपमेयरमा निर्वाचित उनी अब प्रश्न सोध्ने हैन, उत्तर दिने भूमिकामा हुनेछिन् । स्थानीय माग र आवश्यकता सम्बोधन गर्ने दायित्वले उनलाई बाँध्नेछ ।

कविता र साहित्यिक लेखनकी तारा पराजुली नै नेकपा एमालेका तर्फबाट बेलबारीकी उपमेयर बनेकी ढाकाकुमारी पराजुली हुन् । मेयरमा एमालेकै ज्ञानेन्द्र सुवेदी विजयी भए ।

आइतबार नगरपालिकाको सपथ लिने तयारी गरिरहँदा तारा यतिबेला फोन तथा सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना लिन व्यस्त छिन् । त्यसरी शुभकामना दिनेहरु राजनीतिक वृत्तसँगै साहित्यिक क्षेत्रका पनि त्यत्तिकै छन् ।

कवि लेखकहरु सन्देह गर्छन्, अब त राजनीतिमै डुब्ने होला, लेख्नेवर्ने कुरा त्यस्सै होला !

यस्तो प्रश्नमा यी ‘ब्यूटी विथ ब्रेन’ कवि सुरुमा त हाँसो पोख्छिन्, लगत्तै गम्भीर बन्छिन् ।

भोजपुरकी चेली, मोरङकी नेतृ

ताराले जीवनको यात्रा भोजपुरको साङ्पाङबाबाट सुरु गरे पनि राजनीतिक सफर मोरङको साविकको डाँगीहाटबाट थालिन् । उनी भोजपुरमा ०३८ साल चैत ३० गते जन्मिएकी हुन् । कवितामा क्रान्तिकारी विचारसँगै मायाको पनि कुरा गर्ने उनले जीवनमा प्रेमतिर ढल्किने फुर्सदै पाइनन् । यसैले गत वर्षको दशैंमा परिवारको रोजाइमा मागीबिहे गरिन् ।

तारा बेलबारी नगरपालिकाको उपमेयर पदमा उठेको सुनेपछि धेरैले आश्चर्य माने– कवि मान्छे कसरी राजनीतिमा आइन् ? आखिर के ले उनलाई यतातिर तान्यो ?

तर, धेरैले उनलाई साहित्यिक दुनियाँमा चिनारी बनाएको हिसाबले मात्रै चिने पनि उनको राजनीतिक जग पुरानै हो ।

‘यो स्थानीय तहको निर्वाचनबाट धेरैले मलाई एक्कासि राजनीतिमा आएको भने, तर म हिजो पनि राजनीतिमै थिएँ’, उनले अनलाइनखबरसँग भनिन् ।

कक्षा आठमा पढ्दा नै उनी अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आबद्ध भइसकेकी थिइन् । राजनीतिप्रति उनको चासो कलेज पढ्ने बेलामा झन् प्रगाढ भयो । उनी सुकुना क्याम्पस (साविकको इन्द्रपुर मोरङ हाल सुन्दर हरैंचामा पर्ने) की विद्यार्थी थिइन्, कुनै पदमा नबसेर पनि अनेरास्ववियुलाई सहयोग र समर्थन गरिन् ।

कलेज तहको राजनीतिमा अगाडि नदेखिए पनि ताराले स्थानीय स्तरमा भने राम्रै घुलमिल भएर मोर्चा सम्हालिन् । आफ्नो क्षेत्र साविकको डाँगीहाट (हाल बेलबारी ११) मा उनी एमालेको गाउँ कमिटिको सदस्य हुँदै उपाध्यक्ष भइन् । मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सदस्य समेत भइन् । युवा संघ नेपालको कोशी अञ्चल सदस्य रहेकी उनी एमाले निकट जनसाहित्यिक मञ्चको मोरङ जिल्ला सचिव छिन् ।

ती सबैभन्दा उनको आबद्धता अनेमसंघमा बढी रह्यो । दश वर्ष सो संगठनमा रहँदा उनले समाजमा महिलाको स्थिति मात्रै बुझिनन्, शक्ति समेत खुट्याइन् । फलस्वरुप स्थानीय स्तरमा जनाधार समेत बलियो पार्दै गइन् । बेलबारीमा अनेमसंघको सचिव हुँदै उनी अहिले पनि अध्यक्षको जिम्मेवारीमा छिन् ।

महिला सबलीकरणमा जोड दिने यी नेतृले स्थानीय स्तरमा कस्तो प्रभाव जमाइन् भने, सबै स्थानीय महिलाहरुको उनी प्रिय नेतृ बनिन् । स्थानीय चुनाव आउँदा त ती महिलाहरुले उनको उम्मेदवारीलाई निर्विकल्प मानिदिए ।

चुनावी मैदानमा उत्रिनुको पृष्ठभूमि बताइन्, ‘उहाँहरुले मसँग तपाईंले हामीलाई संगठित गर्दै हरेक कुरा सिकाउनुभयो, अब यो ठाउँको नेतृत्व गर्ने महिला तपाईं नै हो भनेर दह्रिलो आडभरोसा दिनुभयो । त्यही आधार पाएर म उठेकी थिएँ ।’

यस्तो हुटहुटी पाएसँगै पार्टीले पनि उनलाई पत्यायो । बेलबारीमा उनको प्रभावले जित्ने सम्भावना देखेपछि उनले टिकट पाइन् ।

Tara-Parajuli-Belbari

विकास पर्खिएको बेलबारीलाई कोसेली

मोरङको १७ स्थानीय तहमध्ये बेलबारीमा विकासको धेरै सम्भावना छ । यहाँ गर्न सकिने खाली ठाउँ धेरै भएकाले सर्वसाधारणमा विकासको स्वाद चाख्ने भोक तीव्र छ । पछिल्लो क्रममा धेरै ग्रामीण भेग गाभिएर नगरपालिका बनेकाले पूर्वाधार सुविधा अपर्याप्त छ ।

यस्तो अवस्थामा उपमेयरको रुपमा ताराले चुनावको बेला पार्टीले अघि सारेको एजेण्डालाई स्थानीय आवश्यकता अनुसार लागू गर्ने सोचेकी छिन् । त्यसमा आफ्नै पार्टीका मेयर रहेकाले कार्यसम्पादनमा अघि बढ्न सजिलो हुने उनले देखेकी छन् ।

जनप्रतिनिधिको रुपमा समग्र विकास–निर्माणलाई ध्यान दिनुका साथै आफ्नो पदीय जिम्मेवारीलाई पनि उनले कम आँकेकी छैनन् ।

‘उपमेयरको हातमा न्यायिक फाँट हुने भएकाले मैले नगरपालिकामा महिला हिंसा अन्त्य गर्न महिला सार्वजनिक सूचना डेस्क स्थापना गर्ने सोचेकी छु’ उनले सुनाइन् । डेस्कमा हिंसा पीडित महिलाहरुले आफ्नो उजुरी तथा समस्या राखेर समाधान खोज्न सक्छन् ।

चुनावको बेला बेलबारी नगरमा एमालेको नारा थियो, ‘एक वडा एक विशेषता, बेलबारी नगर समृद्ध जनता ।’ त्यस अनुसार हरेक वडालाई भिन्नाभिन्नै पहिचान बोकेको समृद्धिको वडा बनाउने उनीसहितका जनप्रतिनिधिको योजना छ । ११ वडा रहेको बेलबारीमा नयाँ सम्भावना भएको ठाउँमा नयाँ र परम्परागत विशेषता बोकेको ठाउँको संरक्षण र संवर्द्धन गरेर लैजाने सोच छ ।

खोलाहरुमा तटबन्धन, खाली जमिन भएका ठाउँमा वृक्षरोपण, असुरक्षित बस्ती व्यवस्थापन र सुकुम्बासी समस्या निराकरण पनि योजनामा परेको छ ।

यसका साथै नगरका लागि यी योजना अगाडि बढाउने ताराको सपना छ, जसमा उनले व्यक्तिगत परिकल्पना पनि मिसाएकी छन्ः

– नगरमा ५० शय्याको अस्पताल निर्माण गरेर जटिल रोगहरुको उपचार समेत नगरमै हुने व्यवस्था मिलाउने । निम्न आय भएकाहरुलाई निःशुल्क उपचार गरिने ।
– युवाहरुलाई विदेश पलायनबाट रोक्न निर्ब्याजी बीउ पुँजी लगानीको व्यवस्था गर्ने । रोजगारीका अवसरहरु खोज्ने ।
– हरेक वडामा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार साधनसहितको ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने । जसले गर्दा ज्येष्ठ नागरिकहरुले मन बहलाउन सकून् ।
– स्थानीय कला, संस्कृति, रहनसहन, भेषभूषा आदि झल्काउने संग्रहालय निर्माण गर्ने ।
– लोपोन्मुख र संकटमा परेका भाषा–साहित्यको अनुसन्धान र प्रकाशन पनि गरिने ।
– विभिन्न वडामा मनोरञ्जन पार्क बनाउने ।
– किशोर–किशोरीलाई चरित्रवान् नागरिक बनाउन किशोर–किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।

एउटा डर– झण्डाले कविता नकिचियोस् !

साहित्यमा राम्रो सम्भावना बोकेकी कवि राजनीतिमा हामफालेपछि धेरैले अब ताराले लेखनबाट सन्न्यास नै लिने हुन कि भन्ने संशय प्रकट गरेकी छन् । साहित्यप्रेमी र हितैषीहरुले फोन र फेसबुकमा शुभकामनासँगै सजग पार्ने सन्देश पनि दिइरहेका छन्– ‘झण्डाले कविता नकिचियोस् है तारा !’

त्यो शंका र डरलाई साँचो हुन नदिने ताराको अठोट छ ।

‘चुनावमा उठ्दा पनि मलाई सबैभन्दा धेरै कवि तथा साहित्यकारहरुले नै माया दिनुभयो । मेरो मुख्य क्षेत्र लेखन नै हो र अझै सशक्त रुपमा लेख्छु’, उनी भन्छिन्, ‘हिजो कविताबाट समाजका लागि एउटा कुरा लेखिरहेको थिएँ, अहिले उपमेयर भएपछि त्यही कुरालाई राजनीतिमार्फत व्यवहारमा लागू गर्नेछु ।’

जनमत जित्दै जनतालाई जवाफ दिने पाँचवर्षे यात्रामा होमिएकी ताराले स्थानीय आवश्यकता पहिचान गर्दै प्रश्नहरुको ठीक–ठीक उत्तर दिन सक्नुपर्ने चुनौती छ ।

यसै पनि कविहरु कवितामा मात्र चर्का कुरा गर्छन्, कार्यकारी भूमिकामा मैदानमा ओर्लिँदैनन् भन्ने आरोप लागिरहँदा ताराको अग्रसरता आफैंमा एउटा जवाफ भएको छ । –जोतारे धाइबा/अनलाइनखबर

     असार २४,  २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*