मतगणना हुँदा उम्मेदवार र प्रतिनिधिले मतपत्र छुन नपाउने !

संवाददाता । काठमाडौं, १९ मंसिर ।

निर्वाचन आयोगले आज एक पत्रकार सम्मेलन गरी बिहीबार दोस्रो चरणको मतदान सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बिहीबार अपरान्ह ५ बजे मतदान सकिनै वित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्ने सकिने व्यवस्था पनि मिलाएको छ । स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको पनि निर्वाचन आयुक्त पौडेलले बताए ।

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने पनि स्पष्ट पारेको छ । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने पनि बताए ।

निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ ।

पर्सी बिहीबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसीर १० गते सम्पन्न भइसकेको छ ।

त्यसअघि मंगलबार नै काठमाडौमा भएको एक साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले २१ गते ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आममतदाताहरुलाई आग्रह गरेका थिए ।

यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’

उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाइएका घट्नाहरुप्रति खेद व्यक्त गर्दै भने,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्सर्ना गर्छ ।’

मंगलबार, मंसिर १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*