मनीषा कोइरालाको बलिउड कमब्याक नरगिस दत्तको भूमिकामा

बलिउड स्टार सन्जय दत्तको हाल निर्माणाधीन बायोपिक फिल्ममार्फत लामो समयपछि सिल्भर स्क्रिनमा फर्कन लागेकी छन् अभिनेत्री मनीषा कोइराला । उनले यस बायोपिकमा सन्जय दत्तकी आमा तथा आफ्नो जमानाकी सुपरस्टार नायिका नरगिस दत्तको भूमिकामार्फत कमब्याक गर्न लागेकी हुन् । यसका साथै उनले अर्को फिल्म ‘डियर माया’ मा पनि लिड रोल गर्ने भएकी छन् ।

पछिल्लो समय क्यान्सरजस्तो गम्भीर रोगले ग्रस्त भई लामो समय उपचाररत रहेर स्वस्थ लाभ गरिसकेर मनीषा फेरि एकपटक ठुलो पर्दामा फर्किन तयार भएकी हुन् । चाँडै नै उनी राजकुमार हिरानीद्वारा निर्देशित सन्जय दत्तको बायोपिक सिनेमामा सन्जय दत्तको भूमिका निर्वाह गर्ने नायक रणवीर कपूरकी आमाको भूमिकामा देखा पर्दै छन् । हालै मनीषाको एउटा भिडियो पनि इन्टरनेटमा भाइरल भएको छ जसमा उनी सेतै फुलेका कपाल र एकदमै चाउरी परेको अनुहार भएकी एकजना बुढी महिलाको अवतारमा देखिएकी छन् । उनको यो लुक दर्शकहरूलाई हैरान पारिदिने किसिमको छ ।

बायोपिक फिल्मका निर्देशक हिरानीले यस फिल्मका लागि मनीषालाई नै चयन गर्नुको कारण बताउँदै आफूले थुप्रै अभिनेत्रीहरूको नामबारे विचार गरेको तर मनीषाको नाम नै सबैभन्दा उपयुक्त रहेको ठहर गरेको जानकारी दिए । मनीषा कोइराला आफैँ पनि एक क्यान्सर सर्भाइभर हुन् । उनलाई सन् २०१२ मा पाठेघरको क्यान्सर रोग लागेको थाहा भएको थियो जसको उपचारका लागि उनी छ महिना अमेरिकामा बसेकी थिइन् । छ महिना लामो उपचारपछि सन् २०१३ मा उनको यो रोग निको भएको थियो । यही रोग र निजी समस्याहरूले गर्दा उनी लामो समय ग्ल्यामरको दुनियाँ र चहलपहलबाट टाढा थिइन् ।

स्वर्गीय नरगिस दत्त पनि क्यान्सर रोगले ग्रस्त भएर सन् १९८१ मा दिवंगत भएकी थिइन् । स्वयम् पनि क्यान्सरको पीडा र उपचारको सास्ती अनुभव गरिसकेकी मनीषाले यो भूमिका बढी सहजतासाथ निर्वाह गर्न सक्ने हिरानीको ठम्याइ छ ।

सन्जय दत्तको बायोपिकका अतिरिक्त ४६ वर्षीय मनीषाले इम्त्यिाज अली निर्देशित ‘डियर माया’ मा पनि लिड भूमिकामा अभिनय गर्दैछन् ।

मनीषाले फिल्म ‘सौदागर’ बाट बलिउड सिनेमा जगतमा प्रवेश गरेकी हुन् । सन् १९९० को दशकमा ‘१९४२ ए लभ स्टारी, बम्बे, खामोशी, अकेले हम अकेले तुम, लज्जा, दिल से’ आदि समेत अनेक लोकप्रिय फिल्ममा अभिनय गरेकी थिइन् । उनले दुईवटा नेपाली फिल्ममा पनि नायिकाको अभिनय गरिसकेकी छन् ।

१९ वैशाख २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*