महिलावादी भनिनमै गर्वको अनुभूति

“महिलावादले कुनै लडाइँ लडेको छैन । यसले कोही विरोधीलाई मारेको छैन । यसले कुनै कन्सन्ट्रेसन क्याम्पको स्थापना गरेको छैन । कुनै शत्रुलाई भोकै राखेको छैन, कुनै क्रुर व्यवहार गरेको छैन । महिलावाद शिक्षाका लागि, मत खसाल्न पाउने अधिकारका लागि, काम गर्ने वातावरण राम्रो होस् भन्नका खातिर लडिरहेछ । सडकको सुरक्षाका लागि,बच्चाहरूको रेखदेखका लागि, सामाजिक कल्याणका निमित्त, बलात्कृत भएकाहरूलाई स्वास्थ्य उपचार दिने क्लिनिक खोल्न, महिला शरणार्थीहरूका लागि काम गर्न अनि कानुनहरूको सुधार गर्न खटिइरहेछ । यस्तोमा पनि यदि कसैले “ओहो, म त महिलावादी होइन भन्छ भने म त्यस्ता व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु, किन महिलावादी होइन ? तपाईंको समस्या के हो ?”

– अमृता लम्साल

नेपालका ‘महिलावादीहरूमध्येकी एक, सशक्त ‘महिलावादी नेता, डाक्टर रेणु अधिकारीको एउटा भनाइले सरक्कै ध्यान तान्यो, उहाँलाई कुनै मन्त्रीले आफूलाई ‘महिलावादी होइन ‘महिला अधिकारवादी भनेर परिचय बनाउन सल्लाह दिएछन् । यसको जवाफमा उहाँको भनाइ रहेछ, ‘म एक महिलावादी हुँ र म त्यसै भनिनमा गर्वको अनुभूति गर्दछु ।’

विषयको उठान यही हो, ‘महिलावादी भन्दा नराम्रो सुनिने तर ‘महिला अधिकारवादी कर्णप्रिय हुने ! आखिर के तात्विक फरक छ त यी दुई शब्दहरूमा ? यसका बारेमा पश्चिमा धर्म गुरुहरूको केही सोचहरू उधृत गर्न मन लाग्यो । उनीहरूको मन र मष्तिष्कमा पनि “महिलावादी” भन्ने बित्तिकै एकदमै कर्कशा देखिने, माया र ममताविहीन अनुहार भएका, लुगाहरू पनि केटाकै जस्तो मात्र लगाएका आदि आदिको छविको आकृति कुँदिने रहेछ भने अर्को तर्फ घरेलु महिला भन्ने बित्तिकै मायालु, आफ्नो पतिको सेवामा खट्न हरबखत तत्पर रहने, कोरिबाटी चिटिक्क परेकी, सुन्दर देखिने खालको पोसाक मात्रै पहिरिने, भारी भरकम उचाल्ने या त्यस्तो (सदियौँदेखि लोग्ने मानिसले गर्ने भनेर तोकिएको) काम गर्न दुस्साहस नगर्ने व्यक्तिलाई जनाइने रहेछ !

यी विचारहरू पढेपछि लाग्यो, यहाँनेर पश्चिमा समाजको सोच र पूर्वीया समाजको सोचमा त्यति धे…..रै अन्तर रहेनछ ! यसको प्रमाणका लागि बाइबलको एउटा लाइन यहाँ उधृत गर्न चाहन्छु, जसमा भनिएको छ, “Whose end is destruction, whose God is their belly, and whose glory is in their shame, who mind earthly things.”(Philippians 3:1)”। यसको व्याख्या सम्बन्धित व्यक्तिहरूले यसरी गरेका रहेछन,“एउटा घरेलु नारी उसको पतिको लागि वरदान हो । कुनै पनि पुरुष “Mack Truck” (धेरै बलियो देखिने या थोत्रो देखिने भन्न खोजेको हो कि?) सँग विवाह गर्न चाहँदैनन् ।

यहाँनेर म एउटा कुरा जोड्न चाहन्छु, घरेलु नारी हुन पातली नै हुनुपर्छ भन्ने छैन । धेरै ठुला हड्डी भएका महिलाहरू पनि घरेलु महिला भएका छन् । नारीत्व या यसको अस्तित्व भनेको मानसिक स्थितिको एहसास हो । त्यस्ता नारीहरू, उनीहरूलाई पुरुषले ढोका खोलिदिएर उनीहरू भित्र नपसुन्जेल ढोका समाएर बसेकोमा (जुन पश्चिमा संस्कृतिमा एउटा सभ्य व्यवहार मानिन्छ) नराम्रो मान्दैनन् बरु त्यसलाई स्वागत नै गर्छन् । त्यस्ता नारीहरू कुनै पनि भारी भरकम वस्तुहरू उठाउँदैनन, त्यसका लागि उनीहरू बलियो पुरुषको मद्दत माग्दछन् । त्यस्ता नारीहरूले नै पुरुषहरूलाई साँचो रूपमा पुरुष हुनाको अर्थ दिलाउँछन् किनकि, उनीहरूलाई ती पुरुषहरूको पौरुषत्व, बल र साहसको खाँचो हुन्छ्र । ती नारीहरूलाई पुरुषबाट त्योभन्दा बढी अरू कुनै कुराको आवश्यकता पर्दैन । उनीहरूको मानसिकताले पुरुषहरूप्रतिको धारणा त्यसरी नै बनाइसकेको हुन्छ । ती महिलाहरू मानसिक रूपले कम समलैङ्गिक हुन्छन् ।

अर्कोतर्फ महिलावादीहरू पुरुषले जस्तो सोच्दछन् उनीहरू पुरुषकै जस्तो लुगा लगाउँदछन् । मतलब, प्यान्ट र शर्ट आदि आदि । (यी हरफहरू पंक्तिकारले रचेको होइन, उपर्युक्त हरफहरूलाई “फेमिनिज्म भर्सेज फेमिनिटी” साइटबाट उद्धृत गरिएको हो) । यी पंक्तिहरू पढ्दा लाग्छ, पूर्वीया समाजले कानुन निर्माणको आधारशीला मानेको मनुस्मृति जस्ता ग्रन्थहरू र राजनीतिको आदर्श मानेको चाणक्य नीतिका हरफहरू भन्दा पश्चिमेली धर्मशास्त्रहरू पनि कुनै हालतमा कम छैनन् जसबाट उनीहरूको धर्म, संस्कृति र समाजका काइदा र नियम तय हुन्छन् । तर फरक यत्ति हो, पश्चिमाका कानुन लेखकहरूले महिलालाई शिक्षा प्रदान गर्ने कुरामा कानुनरूपी लठ्ठीको निर्माण गरेर भए पनि कुनै कन्जुस्याइँ गर्न दिएनन् । त्यसै कारण पश्चिमा समाज अलि कति भए पनि अगाडि बढ्न सकेको हो । होइन भने ‘महिलावादी’ र “महिला अधिकारवादी” माथिको तर्क र विचार सम्प्रेषण गर्ने सन्दर्भमा दुवै समाजका बासिन्दाहरू झन्डै झन्डै उस्तै छन् । मात्रामा धेर थोर मात्रै हो, निमिट्यान्न भने छैन । यसै बारेमा, महिलाको उत्पत्ति कसरी भयो भन्दा उनीहरूको बाइबलले पनि “महिलाको उत्पत्ति, पुरुषको करङको हाडबाट” भएको भन्दछ ।

बहसको विषय फेरि पनि उही, “महिलावादी“ शब्द किन कर्कश सुनिने ? र, “महिला अधिकारकर्मी” चाँहि पाच्य हुने किन ? आखिर महिलावादी र महिला अधिकारकर्मीले उठाउने कुराहरू उस्तै हुन् ।  उनीहरू कुनै अर्को ग्रहबाट आएका प्राणी पनि होइनन् । उनीहरूले कुनै सिङ र जुरो उमार्न खोजेका पनि छैनन् । उनीहरू त केवल थाँक्रोमा बेरिएर बाँच्नुपर्ने बाध्यताबाट महिला व्यक्तित्वलाई मुक्त गर्न चाहन्छन् । त्योभन्दा बढी अरू केही होइन । एउटी महिलालाई “थाँक्रो” भएर होइन, एउटा “व्यक्ति” का रूपमा बाँच्न उत्प्रेरित गर्छ । त्योभन्दा बढी उनीहरूले केही चाहेका छैनन् । यो उत्प्रेरणाभित्र उनीहरूको कुनै व्यक्तिगत स्वार्थ पनि लुकेको छैन । बरु महिला अगाडि बढे भने आफूहरूको अस्तित्व नै लोप होला भन्ने डरले भरिएको जस्तो गरेर विरोध गर्नेहरूको आवाज उठ्ने गर्दछ ।

आखिर ‘महिलावादी’ या  ‘महिलावाद’ र  ‘महिला अधिकारवादी’ या  ‘महिला अधिकारवाद’ मा के फरक छ त ?

महिला अधिकारका समर्थक शरद सी न्यौपानेको विचारमा, “महिलावाद भनेको महिलाहरूको राजनीतिक, आर्थिक, सामाजिक अधिकार तथा समान अवसरहरूलाई लक्ष्य बनाएर त्यसको व्याख्या र स्थापनाका लागि गरिने सामूहिक आन्दोलन हो । महिलावादको धारणा महिला अधिकारमै निहीत हुन्छ्र । महिलावाद विशेषतः महिलाकै विषयमा केन्द्रित हुन्छ, तर महिलावादले लैङ्गिक समानता खोज्ने हुँदा, केही महिलावादीहरू पुरुषहरूको स्वतन्त्रतालाई पनि महिलावादको आनश्यक भाग मान्दछन् र पुरुषहरू पनि यौन विभेद र लैङ्गिक विभेदको सिकार हुनसक्छन् भन्ने मान्दछन् । त्यसैले महिलावादी भनेको जुनसुकै लिङ्गको व्यक्ति हुन सक्छ जसले महिलावादमा भाग लिएको हुन्छ” । त्यसैले उहाँ गर्वका साथ आफूलाई, “म पनि एकजना पुरुष महिलावादी हुँ ” भन्न हिच्किचाउनुहुन्न ।

फेरि पनि उही प्रश्न, ‘महिलावाद’ या  ‘महिलावादी’ प्रति किन त्यत्ति सारो नकारात्मक धारणा राखिन्छ त ?

सन १९६० मा अमेरिकी महिला क्यारोल हेनिस्चले लेखेको नारीवादसम्बन्धी एउटा निबन्धले ल्याएको धारणा ‘द पर्सनल इज पोलिटिकल’ देखि लिएर आजका दिनमा उठ्ने महिलाका हक हितका व्याख्याहरूसम्म (विशेष गरी आफ्नै देश) मा कम र बेसीको कुरा मात्र हो,  तात्विक अन्तर खोज्ने हो भने खासै फरक देखिंदैन । यसै बारेमा विक्रम सम्वत २०५४ साल वैशाखमा घटेका दुईवटा घटना प्रस्तुत गर्न मन लाग्यो ।

त्यतिबेला तत्कालीन श्री ५ को सरकारले दुईवटा गैँडा बेलायत सरकारलाई उपहार प्रदान गर्यो । त्यस कुराको विरोधमा वातावरणसम्बन्धी समाचार लेख्ने पत्रकारहरू खुबै तात्तिए । उनीहरूले विरोध प्रदर्शन गरे, ‘कन्वेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिस अफ वाइल्ड फौना एन्ड फ्लोरा’ (साइटिस) को कुरो उठाए । सो कार्यमा संलग्न धेरै व्यक्तिहरू पत्रकार भएको नाताले उनीहरूको पहुँच श्रव्य–दृश्य तथा अन्य समाचार माध्यममा समाचारले खुबै स्थान पायो । त्यसको केही दिनपछि, राजधानीको मुटु मैतीदेवीमै एक महिलालाई बोक्सी झार्ने निहुँमा यातना दिइयो र उनको मृत्यु भयो ।

ती महिलाको मृत्युलाई नजिकैबाट देख्ने र बचावको कोसिस गर्नेहरूले त्यसलाई समाचार माध्यममा ल्याउन कोसिस गर्दा (त्यतिबेला महिला सम्बन्धी समाचार छाप्न या पत्रपत्रिकामा छपाउन जी–हजुरी नै गर्नुपर्दथ्यो र त्यो समाचार प्रकाशमा आओस् भनेर यस अर्थमा पनि चाहिएको थियो कि राजधानीको मुटुमै पनि महिलामाथि हुने हिंसाले कति गहिरो जरो गाडेको छ भन्ने जानकारी सर्वसाधारणलाई होस्)  महिला पत्रकारहरूलाई “महिलावादी“ भएको कारणले मात्रै त्यो समाचारमा चासो लिएको भन्ने आशयका आरोपहरू लगाइयो तर त्यति ठुलो महिला हिंसाको समाचारलाई ठुलै मुद्दा या “विषय” का रूपमा कसैले लिएन । यो त समाजमा आधिपत्य जमाएर बस्नेहरूले महिला विषयक समाचारहरूलाई कसरी “महिलावाद” या “महिलावाद” को बिल्ला लगाइदिएर नकारात्मक बनाइदिन्छन् भन्ने एउटा सानो उदाहरण मात्रै हो । त्यस्ता धारणाहरूमा आज पनि खासै फरक परेको जस्तो लाग्दैन । त्यसैले होला डा. रेणु अधिकारीले हालै मात्र यस्तो अभिव्यक्ति प्रकट गर्नुभएको, “मानिसहरूलाई महिलावादको धारणा बुझाउनु ठुलै चुनौती रहेछ भन्ने कुरा अहिले बुझेँ ।”

हुन त, पढेलेखेको जमातले यो कुरा नबुझेको पनि होइन । कुनै बेला वेस्ट बेंगाल अफ इन्डियाको कुनै एक ग्रामीण क्षेत्रमा महिलाहरूको आर्थिक स्थितिबारे सर्वेक्षणमा समेत काम गरिसक्नुभएका एक बुद्धिजीवीका अनुसार, “मेरो विचारमा महिलावाद भनेको विशेषतः सोच हो । यो सोचले महिलामाथि सदियौँदेखि हुँदै आएका लैङ्गिक भेदभावलाई नियालेर मान्यता र संस्कृतिको नाममा हुँदै आएका त्यस्ता कुराहरूलाई प्रश्न गर्दै हटाउने कोसिस गर्दछ । उक्त सोचले त्यस्ता कुराहरूलाई ठीक बनाउनुभन्दा अगाडि ’के चाँहि गलत थियो त ?’ भनेर विश्लेषण गर्दछ । त्यसैले पनि केही विचारकहरूको दृष्टिकोणमा महिलावाद अमान्य हुन्छ । अर्कोतर्फ, महिला अधिकारले मुख्यतः कुनै पनि कुरालाई महिलाको पक्षमा ठीक बनाउने कार्य गर्दछ। समष्टिमा भन्नु पर्दा, महिला अधिकारकर्मीहरूले ती पुराना भेद्भावपूर्ण कुराहरू कसरी व्यवहारमा आए वा रहे भन्ने कुरामा जोड नदिई, केवल त्यस्ता भेद्भावपूर्ण कुराहरूलाई कसरी असरदार रूपमा हटाउन सकिन्छ भन्नेमा मात्र जोड दिन्छन् ।“ वास्तवमै भन्नु पर्दा उहाँको कुरा तर्कपूर्ण छ्र । हुन त, हातले सीधै नाकको टुप्पो समाए पनि या घुमाएर समाए पनि समाउन खोजेको त नाकको टुप्पो नै हो ! तर आफू नकारात्मक भूमिकामा देखिन नचाहने शाश्वत मानव स्वभावको कारणले गर्दा नै एउटै कुरा पनि भिन्दा भिन्दै अर्थ र भिन्दा भिन्दै दृष्टिकोणले लिइने होलान !

जे सुकै होस, या जसले जस्तोसुकै सोचुन्, हाम्रो उद्देश्यलाई महिलावादी रबिन मोर्ग्यान र उहाँका साथीहरूले यसरी वर्णन गर्नुभएको छ, “हामी ती महिला हौँ जसलाई थाहा छ,सबै मुद्दाहरू हाम्रा हुन, हामी हाम्रो बुद्धिमत्तालाई दाद दिन्छौँ, हामी भोलिको सुरुआत आफैं गर्दछौँ, प्रश्न गर्छौँ, हरेक कुरालाई आफ्नै हिसाबले व्याख्या गर्दछौँ, यतिसम्म कि, शक्ति समेत!” चाहे यसको लागि ’महिलावादी’ हुनुपरोस्  या  ‘महिला अधिकारकर्मी’ को खोल ओढ्नु परोस !’’

यहाँनिर फेरि एउटा कुरा प्रस्ट पार्न मन लाग्यो, हाम्रा पनि अगाडि पछाडि नाता–गोताका थुप्रै पुरुषहरूको सान्निध्य छ, हामीलाई जन्म दिने बाबु पनि “पुरुष” नै हुन् । (विशेषतः नेपालको परिप्रेक्षमा) हामी कुनै टेस्टट्युबबाट जन्मिएका बच्चाहरू होईनौँ । हामीलाई पनि हाम्रो हक र मर्यादाको सीमा थाहा छ । त्यसका लागि “मनुस्मृति” र समाजका ठेकेदारका “उपदेश” काखी च्यापेर हिँड्नु पर्दैन ।

हामीलाई कसैले पनि अजुबाको रूपमा हेर्नु र व्याख्या गर्नु पर्दैन । एक साधारण मनुष्यमा हुने नवरस करुणा, शृङ्गार, वीभत्स, रौद्र, हास्य, शान्ति आदि सम्पूर्ण रसको सम्मिश्रण छ । हामी कुन अर्थमा “मानव” को कोटिमा व्यवहार गरिन योग्य छैनौँ ?

यसलाई अझै प्रस्ट पार्न फेरि शरद सी न्यौपानेकै भनाइ सापट लिऔँ , “महिलावादले कुनै लडाइँ लडेको छैन । यसले कोही विरोधीलाई मारेको छैन । यसले कुनै कन्सन्ट्रेसन क्याम्पको स्थापना गरेको छैन । कुनै शत्रुलाई भोकै राखेको छैन, कुनै क्रुर व्यवहार गरेको छैन । महिलावाद शिक्षाका लागि, मत खसाल्न पाउने अधिकारका लागि, काम गर्ने वातावरण राम्रो होस् भन्नका खातिर लडिरहेछ । सडकको सुरक्षाका लागि,बच्चाहरूको रेखदेखका लागि, सामाजिक कल्याणका निमित्त, बलात्कृत भएकाहरूलाई स्वास्थ्य उपचार दिने क्लिनिक खोल्न, महिला शरणार्थीहरूका लागि काम गर्न अनि कानुनहरूको सुधार गर्न खटिइरहेछ । यस्तोमा पनि यदि कसैले “ओहो, म त महिलावादी होइन भन्छ भने म त्यस्ता व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु, किन महिलावादी होइन ? तपाईंको समस्या के हो ?”

अन्त्यमा, यो पंक्तिकार पनि शरद सी न्यौपानेले गरे जस्तै प्रश्न तेर्स्याउन चाहन्छु, यदि कुनै पनि पक्ष भएर समाजलाई उन्नति र प्रगतिको बाटोतर्फ डोर्याउनु गलत हो भने कुनै पनि शासक वा सरकारको रूपमा रहेर राज्य चलाउनु पनि त गलत हो । किनकि, सरकार चलाउनेले भन्दा महिलावादीहरू स्रोत र साधनको अभावमा पनि त्यस्तै  प्रकृतिका काम गर्न कम खटेका छैनन् ।

त्यसैले, उनीहरूलाई सम्मान दिने आँट कसैको छैन भने कम्तीमा पनि उनीहरूप्रति नकारात्मक धारणा नबाऊँ ।

०००

असार , २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*