महिला आन्दोलनकी अग्रणी योद्धा

– मञ्जु थापा

लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनको श्रद्धेय एवं सुपरिचित नाम हो सहाना प्रधान । उनै सहाना घरीघरी मन्द हाँस्नुभयो, घरीघरी आँसु खसाल्नुभयो र धेरै बेर मौन रहनुभयो । हामीले छुट्टिनका लािग हात जोडेर विदा माग्दा सकीनसकी आफ्ना हात उठाएर हामीलाई आशिर्वाद र प्रेरणा दिनुभयोे । मैले यो अशक्त स्थितिमा उहाँलाई पछिल्लोपटक २०७० साल असारको पहिलो हप्ता सानेपास्थित उहाँकैै घरको ओछ्यानमा भेटेकी थिएँ । एक वर्षपछि २०७१ असोज ७  गते एमालेको प्राङ्गणमा उहाँको मृत देहमाथि अबिर र श्रद्धाका फूलहरू चढाएँ ।

विगत पच्चीस वर्षदेखि प्रत्यक्ष चिनेको र कतिपय अवस्थामा सँगसँगै काम गरेको आदरणीय दिदीलाई त्यसरी विदा गर्दा उहाँको जीवनका सुनेका देखेका झाँकीहरू शनःैशनैः सम्झनामा आउन थाले । २०४६ सालको जनआन्दोलनमा शान्ति सुरक्षा भंग गरेको र पञ्चायतविरोधी आन्दोलनमा लागेको आरोपमा म गिरफ्तार भएर करिब डेढ महिना केन्द्रीय महिला कारागार काठमाडौंमा थुनिएकी थिएँ जहाँ मैले पहिलोपटक सहाना दिदीलाई निकटबाट देख्ने र भेट्ने अवसर पाएँ । साथै उहाँसँग लामो समय बस्ने, विचारहरू सुन्ने, नेपाली महिला आन्दोलनका ऐतिहासिक क्षणहरू सम्बन्धमा उहाँजस्तो जीवित इतिहासबाटै प्रत्यक्ष सुन्ने र उहाँका ज्ञान तथा व्यवहारबाट धेरै कुराहरू सिक्ने मौका मिल्यो । त्यहाँ उहाँ सबैभन्दा वरिष्ठ राजबन्दी हुनुहुन्थ्यो भने म सबैभन्दा कनिष्ठ थिएँ तर पनि उहाँका अगाडि कुनै कुरा सोध्न वा जिज्ञासा राख्न मलाई कहिल्यै असजिलो वा असहज महसुस भएन । उहाँ हरेक कुरालाई व्यवहारिक ढंगले बुझाउने र सिकाउने गर्नुहुन्थ्यो । उहाँको दृष्टिकोणमा रहेको उदारता र खुलापनलाई जो कोहीले पनि सजिलै महसुस गर्न सक्थ्यो । यही कारणले उहाँ हाम्रा निम्ति र धेरैका निम्ति राजनीतिक योद्धा सहाना प्रधान मात्र हुनुभएन, सहाना दिदी बन्न पुग्नुभयो ।

आन्दोलनकै आइकन

नेपालको प्रजातान्त्रिक र महिला आन्दोलनको एक दरिलो आइकनका रूपमा रहनुभएकी सहाना प्रधानको जीवन आफैमा एक खुला पुस्तक हो जसलाई पढेर मात्र पनि धेरैले आँट र प्रेरणा लिन सकिन्छ । तर विडम्बना नै भन्नुपर्छ, स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट विदा लिनुपरेपछि उहाँलाई उहाँका समकालीन र सहकर्मीहरूले एउटा राजनीतिक अगुवाका रूपमा सम्झिए पनि उचित सम्मान र कदर गर्न सकेका थिएनन् । अझ नयाँ पुस्ताका धेरैजसो राजनीतिकर्मीहरू त उहाँको योगदानप्रति पूर्णतः परिचित पनि छैनन् । बलेको आगो ताप्ने संस्कृतिले विगत र इतिहासलाई सम्मान गर्न सिकाउँदैन तर आज नेपालको राजनीतिक र महिला अधिकार आन्दोलन जहाँ छ, त्यसको आधारभूमि खडा गर्ने अग्रणी अभियन्ता सहाना प्रधानहरू नै हुन् जसलाई कदापि बिर्सन मिल्दैन ।

कुनै बेला भर्भराउँदो आगो जस्तो बनेर राणा शासकका सामुन्ने आप्mनो आवाज बुलन्द गर्ने र नेपालको प्रगति, आम नेपाली जनता तथा नेपाली महिलाको अधिकारका लागि सिंगो जीवन बिताउनुभएकी उहाँको जीवनका पछिल्ला तीन–चार वर्ष अस्वस्थताका कारण अत्यन्त कष्टकर रहे । जहाँनिया राणाशासनदेखि गणतन्त्र प्राप्तिसम्मको अवधिमा उहाँले राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्रसम्म विभिन्न राजनीतिक व्यवस्था देख्नु र भोग्नुभयो । यी अनेक आरोह अवरोहहरूबाट प्रत्यक्ष प्रभावित हुँदै उहाँले आप्mनो जीवनयात्रालाई अघि बढाउनुभयो । सहाना प्रधानको जिन्दगीको कथा अत्यन्त धेरै उकालीओरालीहरूले भरिएको छ । ती तमाम उतारचढावहरूमा कहिल्यै नआत्तिँदै निरन्तर राजनीतिमा क्रियाशील सहाना प्रधानको गत असोज ६ गते देहान्त भएको छ । अब उहाँ हाम्रो स्मृतिपटलमा मात्र हुनुहुन्छ । त्यसो त नेपाली जनता र महिलाले प्राप्त गरेका अधिकारका लिखत तथा उनीहरूको रूपान्तरित जीवनमा पनि उहाँको उपस्थिति सधैसधै जीवन्त रहनेछ ।

बाल्यकाल : बद्रीफूलबाट सहानासम्म

सहाना प्रधानको बाल्यकाल आम नेपाली बालबालिकाको अनुभवभन्दा नितान्त फरक छ । आफू पाँच वर्षको उमेर हुँदा आमाको देहान्त भई आमाको माया र रेखदेखबाट वञ्चित सर्वसाधारण नेपाली छोरी बद्रीफूलले सहाना प्रधानको छवि निर्माण गरुञ्जेलकोे यात्रा अत्यन्त कष्टकर, रोमाञ्चक र प्रेरणादायी छ ।  विक्रमाब्द १९८४ साल असार २७ गते आमा रम्भादेवी र बाबु शंकरलाल प्रधानबाट जन्मिएकी सहानाले पाँच वर्षकै उमेरमा सदाका लागि आप्mनी आमालाई गुमाउनुभयो । आमाको देहान्तपछि हजुरआमा सानुनानीको रेखदेख र मायामा हुर्किनुभएकी सहानाका दिदी साधना, दाइ गौरीलाल र भाइ शंकरप्रसाद हुनुहुन्थ्यो । आमाको मृत्युपछि बर्मामा व्यापार गर्नुहुने बुबा, काका र हजुरआमाको साथ लागेर आप्mना दिदी र दाजुभाइका साथै पाँच वर्षकी बालिका सहाना पनि बर्मा जानुभयो । बर्मामा बसेका नेपालीहरूले छोरीलाई पढ्न पठाइहाल्ने चलन नभए पनि सहानाका बुबाले उहाँहरू दुबैजना दिदीबहिनीलाई परिस्थिति अनुसार नेपाली स्कुल, बर्मेली स्कुल र मद्रासी स्कुलमा पढ्ने व्यवस्था मिलाइदिनुभयो । घरमा हजुरआमाले पनि नातिनातिनीमा कहिल्यै विभेद गर्नुभएन, घरको काम पनि नलगाई सधैं पढ्ने वातावरण मिलाइदिनुभयो । बर्मा बस्दाको १०—११ वर्ष अवधिको बाल्यकाल सहानाको जीवनमा अत्यन्त रमाइलो, सुखद र अर्थपूर्ण रह्यो । सहानाको जीवनमा शिक्षाको ज्योति सल्काउने र चेतनाको बीउ रोप्ने धरती बर्मा नै थियो ।

तर दोस्रो विश्वयुद्धको विभिषिकासँगै बेलायतको उपनिवेशका रूपमा रहेको बर्माका विभिन्न सहरमा जापानले आक्रमण सुरु ग¥यो । यसबाट युद्धको कहालीलाग्दो अवस्था तथा आतंकलाई थेग्न नसकेर बर्मामा राम्रोसँग व्यापार एवं घरजम गरी बसेका नेपालीहरू पनि नेपाल फर्कन थाले । सोही जत्थाको एउटा हिस्साका रूपमा हजुरआमा, बुबा, काका र परिवारका अन्य सदस्यहरूसँगै सहाना पनि नेपाल फर्किनुभयो । बर्माबाट नेपाल आइपुग्दासम्म हवाइ आक्रमण, जंगली जनावर, लुटेरा, दुर्घटना आदि अनेकौं दुःख विपत्तिहरूलाई सहँदै र यत्र–तत्र छरिएका लाशहरूमाथि कुल्चिँदै भाग्नुपरेका विभत्स अनुभवहरू सहानाले बाल्यकालमा नै व्यहोर्नुभयो । सँगै आएका धेरै घरपरिवार र सहयात्रीहरू छुटे पनि सहानाको परिवारका सबैजना जसोतसो नेपाल आइपुग्न सफल हुनुभयो ।

काठमाडौंको असनमा उहाँहरूको पुस्तैनी ठूलो घर थियो । काठमाडौंको तीनथाना आइसकेपछि वर्मामा छँदा उदार रहेकी उहाँकी हजुरआमालाई पनि नेपालको सामाजिक चालचलनको दबाब पर्न गयो । अनि उहाँले काठमाडौंको तत्कालीन भेषभुषा अँगालेको देखाउन दुईवटी नातिनीलाई फ्रकमाथि साडी बेरिदिनुभयो । सहानालाई अनौठो लाग्यो ।

यही घटनादेखि उहाँले नेपालमा छोराछोरीबीचको भेदभाव महसुस गर्न थाल्नुभयो ।

उहाँको घरमा छोरीहरूले बिहानबिहान पूजाको थाली लिएर मन्दिरमा पूजा गर्न चाहा¥यो तर घर फर्किएपछि परिवारका छोराहरूलाई फुलौरा खान दिने तर छोरीहरूलाई नदिने चलन थियो । खाना पाकेपछि छोरालाई चोखो थालमा पहिल्यै पस्किएर खान दिने छोरीहरूलाई काम लगाउने र पछि काका, बुबा वा परिवारका अरूले खाएको जुठो थालमा खान दिने गरिन्थ्यो । यस्ता भेदभावहरू उहाँलाई असाध्यै बिझाउँथे ।

सहानाका सहोदर हजुरबुबा बितिसक्नुभएको थियो । घरमा विधवा हजुरआमाको हैसियत बलियो थिएन । आमा नभएका उहाँ दुवै दिदीबहिनीलाई अन्य बाजे, बजै, ठूलीआमा, काकाकाकीले धेरै काम लगाउने र हेप्ने गर्दथे । त्यति मात्र हैन, सहानाका दाइ र भाइलाई नेपाल आइपुगेको पन्ध्र दिनमा नै दरबार स्कुलमा भर्ना गरियो तर छोरीहरू साधना र सहानाको पढाइ बीचैमा छुटेकोमा कसैलाई मतलब हुने कुरै भएन । अझ उहाँहरूले घरमा लुकीलुकी किताब समाएर पढ्न थालेको देख्यो भने घरको मूली बाजे रिसाउनुहुन्थ्यो । यी सबै अपहेलना र विभेदले दिदीबहिनीको मन उकुसमुकुस हुन्थ्यो । यस्तो व्यवहारले उहाँलाई घरीघरी बर्मा बसाइँको याद दिलाउँथ्यो । दुई–तीन वर्ष निराशा र मनमा चोट बोकेर यसरी नै बिते । यसैगरी सहानाले बाल्यकालमै घरभित्र छोरीमाथि हुने विभेददेखि विश्वयुद्धको त्रासदीसम्म र शिक्षा तथा चेतनाको झिल्को देख्ने अवसर सँगसँगै पाउनुभयो ।

राजनीतिक चेतना र सक्रियता

सहानाको जीवनमा विभेद र असजिलाहरू बढिरहेकै बेलामा नेपालमा राणाशासनविरोधी आन्दोलन भुसको आगो सरह विस्तारै फैलँदो थियो । १९९७ सालमा चारजना प्रजातन्त्रप्रेमीको हत्या गरिएपछि त्यसले मुलुकमा राणाविरोधी भावना झन्झन् बढिरहेको थियो । अलिकता शिक्षित र सचेत मानिसहरू जहाँनिया पारिवारिक राणाशासनका विरुद्ध संगठित र जागरुक हुन थालेका थिए । त्यस्तै मानिसहरूको सम्पर्क–संगतमा सहानाका भाइ शंकरप्रसाद पनि पुग्नुभयो । सोही क्रममा सचेत आन्दोलनकारीमध्येका प्रेमबहादुर कंशाकारले सहानाका दिदीबहिनीलाई भेट्ने जमर्को गर्नुभयो । भाइमार्फत खबर पाएपछि उहाँहरूको भेट भयो । शिक्षाको स्वाद चाखिसकेका उहाँहरू चुप लागेर बस्नुभएन, लुकीलुकी दाइभाइका किताब लिएर पढ्न थाल्नुभएको थियो । कसरी आप्mनो पढाइलाई निरन्तरता दिने भन्नेमा उहाँहरूमा ठूलो चिन्ता थियो । त्यसैले स्वाभाविक रूपमा, भेटका क्रममा पनि सहानाले आफूहरूले पढ्न नपाएको गुनासो गर्नुभयो भने आन्दोलनकारीहरूले उहाँहरूलाई आन्दोलनलाई सघाउन आग्रह गरे । अनि सहानाका दिदीबहिनीले रातरातभरि नागरिक अधिकारको पक्षमा पर्चा लेखेर आन्दोलनलाई सघाउन थाल्नुभयो । यसरी सुरु भएको उहाँको राजनीतिक यात्रा जीवनको मध्यतिर केही समय रोकियो तर पछि फेरि उहाँ राजनीतिमा होमिनुभयो र शरीरले साथ दिँदासम्म लगातार लागिरहनुभयो ।

नेपालमा पहिलोपटक २००४ साल वैशाख १७ गते काठमाडौंमा नागरिक अधिकारका लागि जुलुुुस निस्किएको थियो । त्यस जुलुसमा प्रेमलालहरूको संगत र प्रेरणाले सहाना प्रधान पनि सहभागी हुनुहुन्थ्यो । इन्कलाब जिन्दाबाद, नागरिक अधिकार दिनैपर्छ, मर्न मेटिन तयार छौं, गोलीदेखि डराउन्नौंजस्ता नारा लगाउँदै दुई–तीन सय विद्यार्थीले जुलुस निकालेका थिए । अन्ततः भाषण र जुलुस सुरु भएको केही समयमा नै धरपकड सुरु भयो जसमा सहाना, साधना, स्नेहलता र कनकलता चारजना महिला पनि गिरफ्तारीमा पर्नुभयो । देशमा पहिलोपटक निस्किएको जुलुसमा नै सहभागी भएर सहाना पनि जीवनमा पहिलोपटक पक्राउ पर्नुभयो । त्यसयता २०६३ सालको लोकतान्त्रिक आन्दोलनको समयसम्म पक्राउ पर्ने यो क्रम पटकपटक जारी रह्यो । त्यतिबेला थुनेको ठाउँमा ब्यारेक प्रशासनले नराम्रो खाना दिएको विरोधमा पनि उहाँहरू सात दिन अनशन बस्नुभयो ।

संगठनका रूपमा हेर्दा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पुष्पलालहरूको संगतले सहानाले पनि २००७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । सात सालको क्रान्तिमा उहाँ त्यसै पार्टीको महिला संघ, युवा संघ र विद्यार्थी संघमा रहेर राणाविरोधी आन्दोलनमा सक्रिय हुनुभयो । आन्दोलनकारीहरूको अगुवाइ गर्दै विभिन्न आमसभा र कोणसभाको वक्ता बन्नुभयो । त्यतिबेलासम्म उहाँको परिवारको दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको थियो । यो समयमा उहाँलाई परिवारबाट पनि सहयोग प्राप्त थियो । त्यसयता पनि उहाँ आप्mनो पार्टीले नेतृत्व गरेका राजनीतिक आन्दोलनहरूमा सरिक भइरहनुभयो । यसरी पच्चीस वर्षको उमेर हुँदासम्म उहाँको राजनीतिक यात्रा उदाउँदो र जाज्ज्वल्यमान हुँदै गइरहेको थियो ।

यसै बीचमा उहाँले आप्mनो अध्ययनलाई पनि निरन्तरता दिँदै अघि बढ्नुभयो । आफैले पहल गरेर खोलेका खुलाएका कन्या विद्यालयहरू उहाँलाई पढ्नका लागि मिल्दाजुल्दा भएनन् । उहाँ र दिदी साधनाले आफूहरूलाई नपढाए खाना पनि नखाने भन्दै दुई–तीन दिन खाना पनि नखाएर घरमा विद्रोह गर्नुभयो । अनि दाइभाइले पनि उक्त मागलाई साथ दिएपछि बुबा तथा काकाहरूले पनि सहमति जनाउनुभयो । घरमै आएर भुवनलाल प्रधान, प्रेमबहादुर कंशाकार, पूर्णबहादुर एमए आदिले उहाँहरूलाई तीन महिना निःशुल्क पढाइदिनुभयो । यसरी उहाँहरू दुबैजना कक्षा दशको टेस्ट परीक्षामा उत्तीर्ण हुनुभयो । अनि पछि २००४ सालमा सहाना, साधना, अंगुरबाबा जोशी र भुवन सिंह चारजना छात्रा प्रवेशिका परीक्षामा सामेल भै उत्तीर्ण पनि भए । यो त्यतिबेला अत्यन्त ठूलो चर्चाको विषय बन्यो । पछि उहाँले भारत लखनउको इजाबेला थोर्वन कलेजबाट आइए, नेपालबाट प्राइभेट बिए तहको पढाइ सक्नुभयो । साथै उहाँले परिवार, जागिर, पार्टीको काम समेत गर्दै कडा मिहिनेत गरेर अर्थशास्त्रमा एमए पनि गर्नुभयो ।

यसरी उहाँले आप्mनो शैक्षिक योग्यता र क्षमता त बढाउँदै लग्नुभयो तर २०१० सालमा कम्युनिस्ट नेता पुष्पलालसँग विवाह भइसकेपछि भने राजनीतिक सक्रियता विस्तारै कम हुन थाल्यो । पुष्पलाल पूर्ण रूपमा राजनीतिक काममा लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएका कारण उहाँले विस्तारै राजनीतिक काम कम गरेर आर्थिक उपार्जनका लागि पढाउने काममा बढी संलग्न हुनुपर्ने बाध्यता भयो । २०१७ सालसम्म उहाँ केही मात्रामा सक्रिय रहनुभयो, बीचबीचमा भद्र अवज्ञा आन्दोलन, ०१५ सालको पहिलो आम निर्वाचन आदिमा केही मात्रामा सक्रिय हुनुभयो । तापनि त्यसपछि २०३५ सालमा पुष्पलालको देहान्त हुँदासम्म उहाँको राजनीतिक सक्रियता हुने अवस्था रहेन । उहाँलाई पछि पार्टी काममा पूर्णकालीन भएर लागिसकेपछि पनि बेलाबेलामा राजनीतिलाई निरन्तरता दिन नसकेको भनेर यो आरोप लागिरह्यो ।

जतिबेला पुष्पलाल पूर्णकालीन नेता भएर स्वदेशमा व्यस्त तथा भारत निर्वासनमा जानुभयो, सहाना एक्लैले दुई सन्तान (एक छोरी एक छोरा)ं हुर्काउनुपर्ने परिस्थिति सृजना भयो, त्यतिबेला उहाँ पार्टी राजनीतिमा सक्रिय हुन नसक्नु भएको अवस्थालाई कतिपयले पार्टीप्रतिको निष्ठासँग जोडेर प्रश्न उठाउने पनि गरेका छन् । तर आमाबाबु दुबैले दिनुपर्ने अभिभावकत्वको भूमिका कुशलतापूर्वक एक्लै निर्वाह गर्नुपर्ने महिलालाई यस्तो प्रश्न उठाउनु कति न्यायोचित होला ? सहानाले घरबार नसम्हालेको भए र छोराछोरीलाई राम्रो लालनपालन नगरेको भए पुष्पलाल त्यस उँचाइको नेता पुष्पलाल हुन सक्नुहुन्थ्यो वा सक्नुहुन्नथ्यो ? साथै, उहाँका छोराछोरी शिक्षित र समृद्ध हुन सक्थे वा सक्दैनथे भन्ने कोणबाट पनि यसलाई हेरिनुपर्छ । उहाँले श्रीमतीका रूपमा, आमाका रूपमा र घरमूलीका रूपमा निर्वाह गरेको भूमिकाले पनि पुष्पलाललाई सहयोग ग¥यो कि भनेर पनि हेरिनुपर्छ ।

छोराछोरी हुर्काउन र परिवार चलाउनका लागि सहानाले विभिन्न स्कुल, कलेज र विश्वविद्यालयमा पढाउनुभयो । पद्म कन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नुभयो । ट्युसन पढाउने र अनुवादको काम समेत गर्नुभयो तर धेरै वर्ष पढाइसकेपछि पेन्सन हुने हुने बेलामा तत्कालीन पञ्चायती सरकारले व्यवस्थाविरोधी विद्यार्थी आन्दोलनलाई सघाएको आरोपमा उहाँलाई २०३२ सालमा सेवाबाट बर्खास्त ग¥यो । उहाँको रोजीरोटी खोसियो । अनि उहाँ छोराछोरीसँग सल्लाह गरेर विद्यावारिधिको पढाइका लागि भारतको दिल्लीतिर हानिनुभयो तर बीचैमा श्रीमानको देहान्त भएपछि आफूमा आएको उदासी र पार्टी कामको व्यस्तताले उहाँले विद्यावारिधी गर्ने जमर्को बीचैमा छाडिदिनुभयो । २०१० देखि २०३५ सालसम्म उहाँको जीवनका पच्चीस वर्षको अवधि अध्यापन कार्यमा बित्यो यद्यपि राजनीतिमा लागेका श्रीमानलाई सघाउने र प्रत्यक्ष अप्रत्यक्ष रूपमा पार्टीका अन्य नेता कार्यकर्तालाई सघाउने काम पनि उहाँले गर्नुभयो । परम्परागत पारिवारिक भूमिकाले गर्दा महिलालाई राजनीतिक क्षेत्रमा निरन्तरता दिन कति गाहारो हँुदो रहेछ भन्ने एउटा प्रष्ट उदाहरण पनि हो उहाँको जीवनको यो अवधि ।

मुलुकका लागि काम गर्नु है

पुष्पलालले आप्mनो प्राण जाने अन्तिम समयमा सहानालाई मुलुकका लागि काम गर्नु है भनेर भन्नुभएको रहेछ । उहाँलाई राजनीति गर्ने आप्mनो अधुरो आकांक्षाले घच्घच्याइरहेकै थियो । साथै पुष्पलालका तिनै अन्तिम शब्दहरू सम्झिएर र पार्टीका नेता कार्यकर्ताहरूले नेतृत्व लिनुप¥यो भनेर गरेको आग्रहलाई मानेर उहाँ २०३५ सालमा पुनः पार्टीमा संगठित हुनुभयो । कम्युनिस्ट पार्टी मार्फत राजनीतिको मैदानमा उत्रिनुभयो । त्यसयता विभिन्न कम्युनिस्ट पार्टीहरू नेकपा माक्र्सवादी, नेकपा माले, नेकपा एमाले आदिमा संगठित हुँदै उहाँ प्रजातन्त्र, महिला अधिकार, जनता र मुलुकको स्वाभिमान तथा समृद्धिका लागि क्रियाशील रहिरहनुभयो । आप्mनो पार्टी संगठनलाई बलियो बनाउने, आम जनताको पंक्तिलाई जागरुक पार्ने र महिलालाई संगठित तथा चेतनशील बनाउने प्रक्रियामा उहाँको बाँकी जीवनका दिनहरू खर्चिन लागे ।

त्यस बीचमा २०३७ सालको निर्दलीय वा बहुदलीय व्यवस्था छान्नका लागि भएको जनमत संग्रहमा आप्mनो पार्टीसहित बहुदलको पक्षमा उहाँ क्रियाशील हुनुभयो । कांग्रेस र कम्युनिस्टहरूको साझा आन्दोलनविना पञ्चायती व्यवस्था हटाउन सम्भव छैन भन्ने मान्यताले २०४२–०४३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको सत्याग्रहजस्ता आन्दोलनहरूमा पनि सडकमा नै उत्रिएर, गिरफ्तारी दिनुभयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उहाँले त्यतिबेलाका प्रमुख कम्युनिस्ट पार्टीहरू तथा वामपन्थी व्यक्तिहरूको साझा मञ्च वाममोर्चाको अध्यक्षको हैसियतले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । विभिन्न कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका कोभन्दा को कम भन्ने पुरुष नेताहरूले समेत उहाँलाई वाममोर्चाको अध्यक्ष प्रस्ताव गर्नु र स्विकार्नु पक्कै पनि चानचुने कुरा थिएन । उहाँले पनि अपेक्षाकृत कुशलतापूर्वक त्यस भूमिकालाई पूरा गर्नुभयो । मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नका लागि भएको आन्दोलनको सह–कमान्डरका रूपमा उहाँले आप्mनो नेतृत्व क्षमतालाई साबित गरेर देखाउनुभयो । त्यति मात्र होइन, आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन आन्दोलनकारी शक्तिको तर्फबाट दरबारमा वार्ता गर्न जाने टोली सदस्यमा रहेकी सहानाले राजा र दरबारियासँगको सम्झौताको टेबुलमा दह्रो अडान देखाउनुभयो ।

आन्दोलनको रथ हाँक्ने काम कुशलतापूवर्क सम्पन्न गरिसकेपछि उहाँको राजनीतिक निष्ठा र उँचाई राम्रैसँग बढ्यो । शैक्षिक योग्यता त उहाँसँग पहिलेदेखि नै थियो । त्यसैले त्यसपछि बनेका विभिन्न सरकारहरूमा पार्टी नेतृत्वले उहाँलाई पठायो । पछि २०६३–०६४ सालमा भएको लोकतान्त्रिक आन्दोलनको पनि अग्रपंक्तिमा रहेर उहाँले मुलुकलाई स्थायी शान्ति र लोकतन्त्रको दिशामा अगाडि बढाउन योगदान गर्नुभयो । यसरी राणाशासनको विरोधदेखि लोकतान्त्रिक व्यवस्थाको बहालीसम्म लागिरहने थोरै नेताहरूमध्ये एक हुनुहुन्थ्यो सहाना ।

महिला आन्दोलनमा योगदान

नेपालमा प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि सहाना प्रधानको नेतृत्वदायी भूमिका र महत्वपूर्ण योगदान वास्तवमै प्रशंसनीय छ । त्यससँगै नेपालमा महिलाको अधिकार प्राप्तिका लागि उहाँले गर्नुभएको त्याग र संघर्ष झनै उल्लेखनीय छ । बर्माबाट फर्किएपछि आफैले पढ्न नपाएको पीडाबाट झल्किन थालेको उहाँको विद्रोह क्रमशः महिला शिक्षा, महिलाको मताधिकार, राजनीतिक सहभागिता, महिलामाथि हिंसाको अन्त्यजस्ता समकालीन मुद्दाहरूलाई उठाउँदै सडक, सदन र पार्टीभित्र उजागर हुन थाल्यो ।

२००४ साल वैशाखमा पहिलो गिरफ्तारीमा परेको चौध–पन्ध्र दिनपछि सबै आन्दोलनकारीहरूलाई तत्कालीन श्री ३ पद्मशमशेरका अगाडि उभ्याइयो र उनीहरूलाई के चाहिएको हो भनेर सोधियो । केटीहरू चाहिँ किन नि ? भनेर सोध्दा सहानाले “केटीहरूले पनि पढ्न पाउनुपर्छ र जनतालाई नागरिक अधिकार दिनुप¥यो” भनेर भन्नुभयो । अनि “केटीहरूका लागि स्कुल चाहियो, कहिलेसम्म हुन्छ ?” भनेर सहानाले ठाडै सोधेपछि पद्मशमशेरले “विचार गरिनेछ, पन्ध्र दिनपछि हुनेछ” भनेर जवाफ दिए । यस सन्दर्भमा पद्मशमशेर बोलीका पक्का ठहरिए । नभन्दै पन्ध्र दिनपछि नेपालमा सरकारीस्तरमा पहिलोपटक छात्राहरूका लागि कन्या विद्यालय खोलियो । उक्त विद्यालयले पद्मकन्या विद्यालयका नाममा काठमाडौं डिल्लीबजारमा अहिले पनि हजारौं छोरीलाई शिक्षाको ज्योति प्रदान गरिरहेको छ ।

त्यसो त त्यसको एक वर्ष अगाडि अर्थात् २००३ सालमा सहाना, केही साथीहरू र गुरुहरूको समेत सक्रियतामा काठमाडौं क्षेत्रपाटीमा अर्को एउटा कन्या स्कुल खोलेर सञ्चालन गरिएको थियो । त्यतिबेला उहाँहरूले घरघरमा गएर अभिभावकलाई भेटेर साना छोरीहरूलाई पढ्न पठाउन अनुरोध गर्नुहुन्थ्यो तर अभिभावकहरू हत्तपत्त मान्न तयार हुँदैनथे । पढ्यो भने छोरी बिग्रन्छन् भन्ने मान्यताले ग्रसित त्यस समाजमा विद्यालय खोलेर विद्यार्थी भेटाउन उहाँहरूलाई मुश्किल थियो तर बिस्तारै केही अभिभावकले आप्mना छोरीहरू पढ्न पठाउन थालेपछि अरू पनि थपिँदै गए र स्कुल सञ्चालन हुन सक्यो । अहिले पनि त्यस स्कुलमा सयौं छात्राले पढिरहेका छन् । महिलाहरूले शिक्षा पाउनुपर्छ र यो नै उनीहरूको जीवनलाई उजिल्याउने ज्योति हो भन्नेमा उहाँको ठूलो विश्वास थियो । उहाँले कन्या स्कुल खोल्न खोलाउन पहल गरेर होस् वा आफै अध्यापन पेसामा संलग्न हुँदा छात्राहरूलाई विशेष ध्यान र प्रेरणा दिएर होस्, महिला शिक्षालाई सधंै जोड दिइरहनुभयो ।

शिक्षासँगै महिलाका लागि राजनीतिक सहभागिता अर्को महत्वपूर्ण पक्ष हो भन्ने उहाँको सोच थियो । २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा नेपालको पहिलो राजनीतिक महिला सगठन “नेपाल महिला संघ” गठन भयो । पच्चीसजना रहेको त्यस संघमा सहाना पनि एक संस्थापक सदस्य हुनुहुन्थ्यो । राणाशासन फालिएको लगत्तै २००८ सालमा नगरपालिकाको निर्वाचन गर्ने तर त्यसमा महिलाहरूलाई मतदानको अधिकार नदिने कुरा गरियो । यसको विरोधमा र महिलाको चुन्ने चुनिने अधिकारको पक्षमा सहाना लगायतका महिला तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको दरबारमा जुलुस लिएर गए । । धेरै छलफल र बहसपछि महिलाहरूले मताधिकार पाउन सम्भव भयो । त्यति मात्र हैन, नेपालको इतिहासमा पहिलोपटक उहाँकै दिदी साधना प्रधान २००८ सालमा काठमाडौंमा सम्पन्न नगरपालिकाको निर्वाचनमा सदस्य निर्वाचित हुनुभयो । दिदीको विजयमा सहानाको ठूलो योगदान थियो ।

सुरुमा मंगलादेवी, सहानाहरू मिलेर एउटै महिला संगठन खोलेका भए तापनि पछि उहाँहरूको पार्टीगत संलग्नता फरकफरक पार्टीसँग हुन पुग्यो । यसको तात्पर्य उहाँहरू फरकफरक राजनीतिक सिद्धान्तका अनुयायी हुनुभएकोले हरेक घटनालाई हेर्ने दृष्टिकोण पनि फरक पर्न थाल्यो । अनि तत्कालीन नेपाली कांग्रेस सम्बद्ध महिलाहरू मंगलादेवीको नेतृत्वमा नेपाल महिला संघमार्फत नै क्रियाशील रहनुभयो भने २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने महिलाहरूले २००८ सालमा नेपाल महिला संगठन स्थापना गरे । त्यस संगठनको संस्थापक अध्यक्ष कामाक्षादेवी हुनुभयो भने सहाना संस्थापक महासचिव । त्यतिबेला अन्य महिला संघ संगठनले जस्तै उहाँहरूको संगठनले पनि मूलतः बालविवाह र अनमेल विवाह रोक्ने तथा महिलाले शिक्षा पाउनुपर्ने जस्ता विषय उठाएर महिलालाई संगठित गर्ने काम ग¥यो ।

दुई हजार सत्र सालमा बहुदलीय व्यवस्थाको विघटनपछि विभिन्न पार्टीनिकट महिला संघहरू पनि भूमिगत हुनुपर्ने अवस्था आयो । त्यतिखेरसम्म सहाना आफै पनि राजनीतिबाट टाढिइसकेको अवस्था थियो । पञ्चायतकालभरि उहाँ सक्रिय भूमिगत राजनीतिमा नरहेको हुनाले प्रत्यक्ष रूपमा महिला अधिकारका लागि पनि काम गर्ने वातावरण रहेन । २०४६ पछि नेकपा माक्र्सवादी र तत्कालीन नेकपा मालेको एकीकरण भई नेकपा एमाले बनेपछि उहाँलाई महिला क्षेत्रको जिम्मेवारी दिने पार्टीले निर्णय ग¥यो । उहाँ २०४८ सालमा सम्पन्न अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित हुनुभयो । दुई फरक पार्टी र स्कुलिङ्बाट आएका तथा पुस्तान्तर भएका महिलाहरूलाई समेटेर काम गर्दा उहाँलाई त्यहाँभित्र धेरै असहजता भए पनि पार्टीले दिएको जिम्मेवारी निभाउन आफू प्रतिबद्ध रहेको उहाँले बेलाबेलामा बताउनुहुन्थ्यो । उहाँ सोही संघमार्फत महिलाहरूलाई संगठित तथा प्रशिक्षित गर्ने अभियानमा लाग्नुभयो । यो उहाँको पार्टीभित्रको भूमिका थियो भने अन्य महिला संस्थाहरूलाई समेटेर साझा महिला आन्दोलनलाई अघि बढाउने मामिलामा पनि उहाँ उदार र गम्भीर बन्नुभयो । भर्खर खुला वातावरणमा आएका वा पुनर्गठन भएका राजनीतिक महिला संघसंस्थाको नेतृत्व अरू राजनीतिक विचार राख्ने वा सामाजिक क्षेत्रमा पनि लाग्ने महिलाहरूलाई समेटेर अघि जाने कुरामा हम्मेसी त्यति उदार मन हुँदैनथ्यो तर यस मामिलामा सहाना वास्तवमै खुला धारणा राख्नुहुन्थ्यो । प्राध्यापन क्षेत्रमा लामो समय बिताएको, देश–दुनियाका सम्बन्धमा जानकारी भएको र विश्व महिला आन्दोलनलाई पनि बुझेको आधारमा नै उहाँमा यस्तो समझको विकास भएको थियो तर अन्य धेरै नेता महिलाहरू आप्mनै पार्टीको सीमित दायराभित्र मात्र काम गरेर खुला राजनीतिमा आएको हुनाले उनीहरूमा अरूलाई पत्याइहाल्ने वा स्विकार्ने राजनीतिक संस्कारको कमी थियो ।

सोही क्रममा २०४६ सालको जनआन्दोलन सफल भइसकेपछि बिस्तारै फेरि महिला अधिकारका मुद्दाहरू उठाइन थाले । २०४८–४९ सालतिर राजधानी काठमाडौं र अन्य भागमा बालिका तथा महिलामाथि बलात्कारका लगातार घटनाहरू भए । यसबाट आक्रोशित र सम्वेदनशील भई महिलाको सुरक्षा सबैको साझा सवाल हो भन्दै राजनीतिक महिला संघ–संगठन र सामाजिक क्षेत्रमा कार्यरत महिला संस्थाका प्रतिनिधिहरू भेला भै ‘महिला सुरक्षा दबाब समूह’ गठन गरे । सहाना प्रधान यसको संयोजक चुनिनुभयो । त्यतिबेला उहाँको नेतृत्वको महिला सुरक्षा दबाब समूहले महिलाको सुरक्षा लगायत अधिकारका अन्य सवालहरूमा राज्य र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन ठूलो भूमिका निर्वाह गरेको थियो । साथै, पछि विभिन्न राजनीतिक दलसम्बद्ध महिलाहरूको साझा मञ्चका रूपमा खोलिएको अन्तरपार्टी महिला सञ्जालमा पनि पहिलो अध्यक्षका रूपमा सहानालाई नै चुनियो । विभिन्न राजनीतिक विचारधारा राख्ने र सामाजिक क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीहरूले उहाँको नेतृत्वलाई सहर्ष स्विकार्नुका पछाडि पक्कै पनि उहाँको व्यक्तित्व, निष्ठा र राजनीतिक खुलापन मुख्य कारण थिए । यी विभिन्न प्रयासहरूले विभिन्न धारमा अगाडि बढिरहेको महिला आन्दोलनलाई महिलाका खास खास सवालमा साझा रूपमा अगाडि बढ्न पनि प्रेरित गरिरहेको थियो । यसरी विभिन्न पदीय दायित्व र भूमिका मार्फत महिला अधिकारका आवाजहरूलाई बुलन्द बनाउनमा उहाँको योगदान छ ।

पार्टी नेतृत्व र राज्य–सत्तामा योगदान

सहाना जतिबेला जानीनजानी राणाशासनका विरुद्ध र नागरिक अधिकारको पक्षमा लाग्न सुरु गर्नुभएको थियो, छोरीले पढ्ने र नागरिकले आप्mनो अधिकार उपभोग गर्ने वातावरण हुनुपर्दछ भन्ने मात्र उहाँको एउटै ध्येय थियो । त्यसबेला नजानीनजानी सुरु भएको राजनीतिक सक्रियताले समयक्रममा उहाँलाई विभिन्न कम्युनिस्ट पार्टीको नेतृत्व र राज्यसत्तामा रहेर योगदान गर्ने अवसरहरू प्राप्त हुन थाले ।

२००७ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेकी उहाँले विभिन्न समयावधिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पलाल समूहको पोलिटब्युरो सदस्य, नेकपा माक्र्सवादीको केन्द्रीय सचिव, नेकपा एमालेको केन्द्रीय सदस्य तथा स्थायी समिति सदस्य, नेकपा मालेको केन्द्रीय अध्यक्ष आदि पदमा रहेर काम गर्नुभयो । आप्mनो पार्टीले दिएका हरेक जिम्मेवारी र मोर्चाहरूमा शालीनतापूर्वक क्रियाशील रहनु उहाँको विशेषता थियो । लामो समय उहाँको संगतमा रहेर काम गर्नेहरू उहाँमा वास्तवमा एउटा कम्युनिस्टमा हुनुपर्ने समान भाव, उदारता र खुलापन थियो भन्दछन् ।

छयालीस सालको जनआन्दोलन पश्चात् २०४७ सालमा बनेको अन्तरिम मन्त्रिमण्डलमा उहाँ एकजना मात्र महिला मन्त्री हुनुहुन्थ्यो । उहाँलाई वरीयताक्रममा दोस्रो स्थानमा रहने गरी उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी दिइएको थियो । त्यसैगरी २०५३ सालमा गठित सरकारमा उहाँलाई महिला तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइयो । महिला मन्त्रीको हैसियतमा उहाँले सन् १९९५ मा भएको चौंथो विश्व महिला सम्मेलनमा सरकारी टोलीको नेतृत्व गर्दै सहभागी हुनुभयो तर नयाँ मन्त्रालय, यथेष्ट संरचनाको अभाव र थोरै बजेटका कारण आफूले चाहेजस्तो काम गर्न नसकेको अनुभव उहाँले पछिसम्म पनि सुनाइ रहनुहुन्थ्यो । त्यसैगरी ०६२–०६३ सालको दोस्रो जनआन्दोलनको बलमा गिरीजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको मन्त्रिमण्डलमा उहाँले दोस्रो वरीयतामा उपप्रधान तथा परराष्ट्र मन्त्रीको भूमिका पाउनुभयो । झण्डै असी वर्षको उमेरमा दिइएको यस जिम्मेवारीलाई पनि उहाँले अत्यन्त कुशलतापूर्वक निर्वाह गर्नुभयो । उहाँकै कार्यकालमा विदेशी कूटनीतिक नियोगका अधिकारीहरूलाई देशका नेता तथा उच्च ओहोदाका अधिकारीहरूले सोझै भेट्न नपाउने र परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने आचारसंहिता बनाइयो । आप्mनो विवेकले सही देखेको काम मात्र गर्ने सहानाको स्वभाव राजनीतिमा पनि जीवनपर्यन्त रहिरह्यो । नेपालका राजनीतिक पार्टीहरूले धेरै महिलालाई आन्दोलन, लडाईंका मोर्चा र चुनावमा मात्र प्रयोग गर्छन् भन्ने आम गुनासोकै बीचमा सहानाले पटकपटक राज्यसत्तामा सामेल भएर आप्mनो शासकीय क्षमताको प्रयोग गर्ने अवसर पनि पाउनुभयो ।

जीवनको उत्तरार्ध

बाल्यकालदेखि जीवनका आठ दशक भोगिसक्दासम्म सहानाले निकै धेरै कठिनाइ, संघर्ष, चुनौती, उपलब्धि र सफलता सबैको अनुभव गर्नुभयो तर जब दोस्रो जनआन्दोलनपछि उहाँ क्रमशः अशक्त र  अस्वस्थ हुन थाल्नुभयो, उहाँको सक्रिय राजनीतिका दिनहरू पनि मुर्झाउँदै गए । पछिल्लो समयमा उहाँ बोल्न सक्नुहुन्नथ्यो, हात चल्दैनथ्यो, खुट्टाले टेकिदैँनथ्यो र ओछ्यानमा सुतिरहनुपथ्र्यो । सुताउने, उठाउने, खुवाउने सबै क्रियाकलापका लागि अरूको सहारा चाहिन्थ्यो । तैपनि उहाँलाई भेट्दा लाग्थ्यो, उहाँको हृदयभित्र कतै कुनामा रहेको जोशका झिल्काहरूले भेट्न जानेलाई उत्प्रेरित गरिरहेका छन् ।

मैले चिनेसम्म उहाँ आफ्नो स्वास्थ्यप्रति अत्यन्त सजग र सचेत हुनुहुन्थ्यो । जेलमा बस्दा पनि नियमित व्यायाम गर्नुहुन्थ्यो र हामीलाई पनि व्यायाम गनुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । जहिल्यै सफा र चिटिक्क भएर हिँड्नुहुने उहाँ खानपान र सरसफाईमा पनि चनाखो हुनुहुन्थ्यो । उहाँ हेर्दा पनि आकर्षक एवं शालीन व्यक्तित्वकी धनी हुनुहुन्थ्यो तर यति सचेत हुँदाहँुदै पनि जीवनको उत्तरार्धमा उहाँलाई बुढ्यौलीजन्य विभिन्न रोगहरूले आक्रमण गरे र दुःख दिए ।

त्यसो त, जीवनको उत्तरार्धमा उहाँले आफू सम्बद्ध पार्टी तथा राज्यबाट यथोचित् रेखदेख र सम्मान पाउनुभएन भन्ने गुनासाहरू पनि सार्वजनिक भए । अहिले शक्तिको भक्ति भन्ने सिद्धान्त हरेकजसो राजनीतिक दलभित्र व्याप्त छ । सक्रिय हुन र जिम्मेवारी लिन सकुञ्जेल अन्य सहकर्मी नेता तथा कार्यकर्ताको पनि हाइहाइ भइने तर अशक्त भएको बेलामा कसैले फर्केर नहेर्ने प्रवृत्तिले राजनीतिलाई कमजोर वा दूषित बनाउन भूमिका खेल्छ । यस्तो प्रवृत्तिले इमान्दार मानिसहरू राजनीतिमा आउन निरुत्साहित हुन्छन् । आएकाहरू पनि राजनीतिक पद वा सत्तामा पुगेको बेला पदको अनुचित लाभ लिएर भविष्य सुरक्षित गर्न चाहन्छन् । ‘मैले सकुञ्जेल म देश र जनताको सेवा गर्छु, मैले नसक्दा मेरो दल, मेरा सहकर्मी र राज्यले मलाई हेर्छ’ भन्ने विश्वास इमान्दार नेता कार्यकर्तामा हराउँदै जान थालेको छ । आज राजनीतिको प्रकृति सेवाबाट बदलिएर विशुद्ध पेसा हुन थालेको छ जुन पेसामा सफल हुन साम, दाम, दण्ड, भेदका क्षमताहरू आफूसँग हुनुपर्छ । दुर्भाग्य, धेरै महिलासँग यस्तो क्षमता हुँदैन जसले गर्दा उनीहरूलाई राजनीतिमा टिकिरहन गाह्रो छ ।

सहाना प्रधान राजनीतिमा लाग्न चाहने र लागिरहेका महिलाका लागि प्रेरणास्रोत पनि हुनुहुन्छ । उहाँको जीवनको पूर्वार्धसहितको लामो समय प्रेरणा हो भने उत्तरार्ध चुनौतीको संकेत । समग्रमा, सहाना प्रधान नेपाली राजनीति र महिला आन्दोलनको एउटा मानक व्यक्तित्व हुनुहुन्छ । आज नेपाली महिलाले पाएका अधिकार र उपलब्धिको जग खन्ने काम सहाना र उहाँका समकालीनहरूबाटै भएको थियो भन्ने तथ्यलाई सधै स्मरण गर्नु र कृतज्ञ हुनु इतिहासको सही सम्मान हुनेछ । सहाना जत्तिकै सर्वसम्मत र उँचाइको अर्को महिला नेता नेपाली राजनीति र महिला आन्दोलनले निकट भविष्यमा पाउने सम्भावना देखिँदैन, यद्यपि अहिले धेरै महिलाले आफूलाई राष्ट्रिय नेताका रूपमा स्थापित गर्दै लगिरहेका छन् । नेपाली महिला आन्दोलनका अग्रणी योद्धा सहाना प्रधानप्रति यति नै शब्द श्रद्धाञ्जली ।

संक्षिप्त जीवन–यात्रा
आमाबुबा :                         रम्भादेवी र शंकरलाल प्रधान
विसं १९८४  असार २७ :    सहाना प्रधानको जन्म
१९८८ :                             आमाको देहान्त
१९८९ :                             बाबु र हजुरआमासँग बर्मा प्रस्थान
२००१ साल :                     बर्माबाट नेपाल आगमन
२००३ साल :                     राणाविरोधी आन्दोलनका लागि पर्चा लेखन सुरु
२००४ वैशाख १७ :       राणाशासन विरुद्ध त्रिचन्द्र क्याम्पसको जुलुसमा सहभागी भई पहिलोपटक भाषण गरेको । पहिलोपटक पक्राउ ।
२००७ साल :                    नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएको      
२०१० माघ २ :                  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग विवाह
सन्तानः                            छोरी उषा र छोरा उमेशलाल
२०३५ असार ७ :              पुष्पलालको निधन
२०४६ साल :                    प्रजातान्त्रिक आन्दोलनको सह–कमान्डर तथा वाममोर्चाको अध्यक्ष
२०४७ साल :                   उद्योग तथा वाणिज्य मन्त्री
२०४८–२०५१ साल :      प्रतिनिधिसभा सदस्य
२०५३ साल :                  समाज कल्याण तथा महिला मन्त्री
२०६४ साल :                 परराष्ट्र मन्त्री
२०७१ असोज ६ :          निधन
२०७१ असोज ७ :          राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा दाहसंस्कार

श्रद्धाका फूलहरू: अमृता लम्साल, पत्रकार

सहाना दिदी मेरा लागि श्रद्धेय र प्रेरक व्यक्तित्व हुनुहुन्थयो । मेरो नजरमा तपाईं कुनै राजनीतिक दलको मात्रै सम्पत्ति नभई हामी सबैको हकहितका लागि लड्ने योद्धा हुनुहुन्थ्यो जबकि राजनीतिक हिसाबले तपाईं कम्युनिस्ट हुनुहुुन्थ्यो तर पनि महिला हक र अधिकारका कुराहरू हुँदा धेरै पटक पार्टीको धारबाट माथि उठेर काम गर्ने कोसिस गर्नुहुन्थ्यो । दिदीसँग बसेर हामी सूती धोतीमा माड कसरी हाल्नेदेखि लिएर बर्माबाट दिदी काठमाडौं आउनु हुँदाको अवस्थासम्म कुरा गर्न सक्थ्यौं । त्यो मात्र होइन, दिदी आफै इतिहासको पुलिन्दा हुनुहुन्थ्यो । महिला सुरक्षा दबाब समूहको सुरुका दिनहरूमा तपाईंको जस्तो लचिलो नेतृत्व र दुर्गा घिमिरे तथा शान्ता थपलियाजस्ता हस्तीहरू नभएको भए आज कहाँ पुग्थयो होला, यो त्यहीँभित्र बसेर काम गर्नेहरूलाई मात्र थाहा हुन सक्छ । मेरा लागि तपाईंको सामिप्यमा बिताएका हरेक दिन महत्वपूर्ण छन् । हुन त म कुनै कम्युनिस्ट पार्टीसँग रौं बराबर पनि सम्बन्ध राख्ने व्यक्ति थिइन तर पनि तपाईंले मलाई पार्टीभन्दा माथि उठेर मौका दिने कोसिस गर्नुभएको थियो । यो केवल देखाउनका लागि लेखिएको शब्द होइन, मेरो भित्री मनदेखि व्यक्त गरिएका श्रद्धाका फूलहरू हुन् ।

सम्झनामा कमरेड सहाना प्रधान: बिन्दा पाण्डे, नेकपा एमाले नेता तथा महिला अधिकारकर्मी

कमरेड सहाना प्रधान अब हामीसँग रहनुभएन । सात दशकभन्दा लामो समय अथक रूपमा नेपाली जनताको प्रजातान्त्रिक अधिकार, महिला समानता, राष्ट्रियता र कम्युनिस्ट पार्टीको झण्डा उठाउने ती दृढ, अविचलित र दरिला हातहरू अब हामीबीच रहेनन् । आन्दोलनको अग्रपंक्तिमा लम्कने ती पाइलाहरू अब हाम्रो साथमा छैनन् ।

कमरेड सहानाको प्रत्यक्ष नेतृत्वमा रहेर मैले दुईपटक काम गर्ने अवसर पाएँ । पहिलोपटक २०४८ सालमा उहाँ अनेमसंघको अध्यक्ष हुँदा म कोषाध्यक्ष थिएँ र दोस्रोपटक २०६१ मा उहाँ पार्टीको महिला विभागको प्रमुख हुँदा म सचिवको रूपमा कार्यरत थिएँ । २०४८ मा उमेरमा पनि युवा, विचारले पनि माले पृष्ठभूमिबाट आएको, कार्यशैलीको रूपमा पनि भर्खर विद्यार्थी आन्दोलन छाडेर आएको हाम्रो क्रान्तिकारीपन अलि बढी नै थियो । उहाँ उमेरले पनि पाको, अनुभवले पनि खारिएको नेता हुनुहुन्थ्यो । पुल्चोकस्थिति भूतपूर्व सैनिक संघको हलमा अनेमसंघको दोस्रो राष्ट्रिय सम्मलेनको बन्द सत्र हुँदै थियो । म लगायतका टिम अध्यक्ष मण्डलमा थियौं । हल व्यवस्थापनमा स्वयंसेवकको काम गर्ने बीना, विद्या, पेम्बा, उषा र रेनुको टिम थियो । कार्यक्रम चल्दै थियो । प्रतिनिधिका लागि भुइँमा कार्पेटमाथि पलेटी कसेर बस्ने व्यवस्था थियो । छ दशक पार गरिसक्नुभएकी उहाँलाई अलिअलि बाथ सुरु भइसकेकोले लामो समय पलेटी कसेर बस्न सक्ने अवस्थामा हुनुहुँुदो रहेनछ र खुट्टा पसारेर बस्नुभएको रहेछ । स्वयंसेवक आएर त्यसो नगर्न अनुरोध हैन, आदेशै दिएछन् । अनि उहाँले खुट्टा तानेर कष्टपूवर्क भए पनि बस्नुभएछ । पछि उहाँले भन्नुहुन्थ्यो, ‘तिमी मालेका केटीहरू उमेर अनुसारको मानिसको समस्या हुन्छ भन्ने पनि बुझ्दैनौ । समयले तिमीहरूलाई यी सबै कुरा बुझाउनेछ ।’ हामीमा भएको क्रान्तिकारितामा रहेको कमजोर व्यवहारिकता झल्काउने उहाँको त्यो भनाइ आज पनि झल्झल्ती याद आउँछ ।

अनेमसंघको केन्द्रमा काम गर्दा उहाँ बेलाबेला सामाजिक काममा बढी जोड दिने कुरा गर्नुहुन्थ्यो । हामी राजनीतिक गतिविधि र विषयमा जोड दिन्थ्यौं । कहिलेकाहिँ कुरा मिल्दैन थियो । उहाँ प्रायः नमस्ते गर्ने कुरामा जोड दिनुहुन्थ्यो । हामी माले पृष्ठभूमिकाहरू दरिला हात मिलाउनुपर्छ भन्ने पक्षमा थियौं । यस्ता सानातिना व्यवहारिक कुरामा उहाँको आलोचना हुन्थ्यो । उहाँ चुपचाप तर आप्mनो विचारमा अडिग हुनुहुन्थ्यो । उहाँ अध्यक्षको नाताले सधै व्यवहारिक निर्णय गर्ने कुरामा जोड दिनुहुन्थ्यो । समयक्रमले आज सबैलाई त्यही बाटोमा लैँजादैछ । कामका बारेमा उहाँको गुनासो थिएन तर मेरो बारेमा अरू नेताहरूसँग कुरा गर्दा ‘अलि क्रान्तिकारी हुन खोज्छे’ भन्नुहुन्थ्यो रे ।

पछि म तीन वर्ष हङकङमा काम गरेर फर्किएर आएपछि पुनः भेटघाट र कुराकानी भयो । सँगै काम गर्ने अवसर मिल्यो । उहाँले भन्नुभएछ, ‘बाहिर गएर आएपछि बिन्दा व्यवहारिक भइछ’ । त्यो प्रतिक्रिया सुनेपछि उहाँलाई मैले एकदिन सोधेकी थिएँ, ‘के फरक पाउनुभयो र दिदी त्यसो भन्नुभएको ?’ उहाँले भन्नुभयो, ‘पहिले अनेमसंघमा हुँदा त तातोतातो कुरा गथ्र्यौ । अब त परिवर्तन भएछ । व्यवहारिक कुरा गर्न थालिछौ ।’ मैले हाँस्दै भनेकी थिएँ, ‘उमेर पनि त पाको भयो नि । त्यसैले होला ।’ उहाँले भन्नुभयो, ‘उमेरभन्दा पनि अनुभव खारिएकोले हुन सक्छ ।’ त्यसपछिको चरणमा उहाँसँग जहिले पनि सुमधुर सम्बन्ध नै रह्यो । उहाँ अभिभावक, हामी कार्यकर्ता ।

पार्टीको केन्द्रीय महिला विभागमा मबाहेक सबै केन्द्रीय सदस्य हुनुहुन्थ्यो । म सचिव थिएँ । त्यस समय काममा सहजता थियो । महिलाबीच गरिने गतिविधि र समानताका पक्षमा तयार पारिने प्रस्ताव सहजै पारित हुन्थ्यो । केन्द्रीय कमिटीमा पनि विभागको तर्फबाट प्रस्तावहरू पारित गर्न सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुहुन्थ्यो । उमेरकै हिसाबले पनि पार्टीका अधिकांश पुरुष नेताभन्दा पाको भएकोले उहाँले ठाडै कुरा राख्नुहुन्थ्यो । मानिहाल्ने अवस्था नभए पनि नकार्न सक्दैनथे । र, बिस्तारै ती कुराहरू नीतिगत रूपमा समावेश हुँदै जान्थे । त्यसैको परिणाम थियो– २०६२ मा नेकपा एमालेको आठ बुँदे जेन्डर प्रस्ताव र अन्तरपार्टी महिला सञ्जालको गठन ।

अब त्यो व्यक्तित्व हाम्रो बीचमा रहेन तर दायित्व हाम्रो बीचमा छ । तोकिएको लक्ष्य चुम्न अझै यात्राको रास्ता लामो छ । खाँचो उहाँले डोब लगाउनुभएका ती समानताका बाटोलाई फराकिलो पार्दै सबैले सहजतापूर्वक यात्रा गर्न सक्ने बनाउन बाँकी नै छ । लोकतन्त्रमा सबै नागरिकको बराबरी हैसियत हुन्छ भन्ने कुरा स्थापित गर्न बाँकी छ । कमरेड सहाना, तपाईंले डोब लगाउनुभएको बाटोलाई पक्की बनाउँदै यात्रामा लाम लाग्नेको संख्या ठूलै छ । तपाईंले कोर्नुभएको लक्ष्य र उठाउनुभएको झण्डा उठाउने लाखौं हात जुर्मुराइसकेका छन् । हामी त्यो दायित्व पूरा नभएसम्म थकाइ मार्ने छैनौं ।

अब सम्झनाको तरेलीमा मात्र : सुजीता शाक्य, एमाले नेता तथा महिला अधिकारकर्मी

हामी सबैकी सहाना दिदी अब हाम्रा माझ रहनुभएन । राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा उहाँको भौतिक देह आज (असोज ७ गते) देखि यो संसारबाट बिलाएको छ, फेरि कहिल्यै नफर्किने गरी तर उहाँ आप्mनो सुकर्मबाट हामी सबैको मनमा सधंै अजर र अमर भएर बाँचिरहनु हुनेछ । छयालीस सालको राजनीतिक परिवर्तनपछि म विद्यार्थी राजनीतिसँगै नेकपा माले पार्टी र अनेमसंघको गतिविधिमा जोडिन पुगेँ । त्यसपछि सहाना कमरेडसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर पनि जु¥यो । एकीकरणपछि उहाँ एकीकृत अनेमसंघको अध्यक्ष समेत हुनुभयो । पछि बियोन्ड बेइजिङ कमिटीको कार्यकारी समितिमा रहेर काम गर्दा र त्यसपछिका अनगिन्ती क्षणमा उहाँको सामिप्यताबाट मैले धेरै कुरा सिक्ने अवसर पाएकी छु । उहाँको साहस, धैयर्ताबाट हामीले हरेक समयमा ऊर्जा प्राप्त गर्ने अवसर पायौं ।

२०५० साल जेठमा अनेमसंघ चितवनको आयोजनामा भएको राष्ट्रिय भेलाको दोस्रो दिन कार्यक्रमका प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिनुभएका जननेता मदन भण्डारीको जीप नारायणी नदीको प्रवाहमा हेलिएको अत्यन्त दुःखद खबर सुन्नुपरेको थियो । त्यस्तो अवस्थामा पनि कमरेड सहाना प्रधानले हामीलाई विचलित हुन दिनुभएन । जस्तोसुकै कठिन परिस्थितिमा महिलाहरूलाई आडभरोसा दिने नेपाली प्रजातान्त्रिक आन्दोलनको धरोहर र नेपाली महिलाहरूको गौरव रत्न कमरेड सहाना प्रधानलाई हामीले गुमाएका छौं । दिदी सहाना प्रधान नेपाली महिला आन्दोलनको जिउँदो इतिहास हुनुहुन्थ्यो । उहाँका अतुलनीय र अनुकरणीय जीवनबाट नयाँ पुस्ताका नेपाली दिदीबहिनीहरूले सिक्नुपर्ने धेरै कुरा छन् । उहाँको अद्वितीय योगदानलाई कहिल्यै नभुल्ने प्रण गर्दै शोकलाई शक्तिमा बदल्ने संकल्प गरौं । उहाँको पदचापलाई पछ्याउँदै समतामूलक र समुन्नत नेपाल निर्माणको दिशामा अघि बढ्ने अठोट गरौं ।

(स्रोत– ‘अस्मिता हाम्रो’ असोज–कार्तिक अंक, २०७१)

  जेठ ३१, २०७४ मा प्रकाशित ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*