मोबाइल आइफोन एक्स, जसमा यति धेरै विशेषता छन्

क्यालिफोर्निया, २९ भदौ ।

सधैं प्रतिक्षा गर्नै पर्ने उपकरणको रुपमा रहने आइफोनका मोबाइल फोनले यो वर्ष पनि धेरैलाई प्रतीक्षा गराउन सफल भयो । प्रतीक्षाको फल मिठो हुन्छ भनेझैं एप्पलले यसपटक तीन मोडलमा मोबाइल फोनलाई सार्वजनिक गरेर मोबाइलको अन्तराष्ट्रिय बजारमै नयाँ तरङ पैदा गर्न सफल समेत भयो ।

एप्पलले यो वर्ष आइफोनको एट् सिरिजलाई बजारमा ल्याउने अनुमान धेरैले गरे पनि यसपटक आइफोनको एट्, आइफोन एट् प्लस र आइफोन एक्सलाई लन्च गरेर तहल्कै मच्चाइदियो । आफ्नो फ्ल्यागसिप मोडलका रूपमा रहेको आइफोन एक्सलाई सर्वाधिक अनौठो फिचर भएको मोबाइल फोन समेत मानिएको छ ।

आइफोन एक्सको मुख्य विशेषता भनेकै फेस रिकगनिसन अर्थात् प्रयोगकर्ताको अनुहार चिनेर मात्र संचालन गर्न दिनु नै हो । यो किसिमको विशेषता भएको यो पहिलो मोबाइल भएको एप्पलका सिइओ टिक कुकले लन्चिङ समारोहमा बताए । यो बाहेक यो सेट पासवर्डबाट पनि खुल्छ भने अँध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्न सजिलो होस् भनेर इन्फ्रारेड क्यामेरा राखिएकै कारण सजिलै वास्तविक प्रयोगकर्ताहरू चिन्न सक्छ । मोबाइल सेक्युरिटीको क्षेत्रमा टच आइडिको तुलनामा फेस आइडीलाई बढी सुरक्षित समेत मानिन्छ ।

यो सेट ६४ जिबी र २ सय ५६ जिबी इन्टरनल स्टोरेज क्षमताको छ । ५ दशमलव ८ इन्चको स्क्रिन रहेको यो सेटको रिजोलुसन ११२५ X २४३६ पिक्सेलको छ । यो सेटको डिस्प्ले अहिले बजारमा रहेका मोबाइलहरूमध्ये सर्वाधिक स्पष्ट भएकै कारण यसको नाम सुपर रेटिना डिस्प्ले राखिएको छ ।

स्टेनलेस स्टिलको बडी रहेको यो सेटमा १२ मेगा पिक्सेलको डुअल रिअर क्यामेरा रहेको छ । यो क्यामेरामार्फत् कम प्रकाशमा पनि खिच्न मिलोस् भनेर एउटा क्यामेराको एपार्चर १।८ र अर्कोको २।४ राखिएको छ । फ्रन्ट क्यामेरा भने ७ मेगापिक्सेलको छ ।

यो सेटको अर्को विशेषता भनेको होम बटन नहुनु पनि हो । स्क्रिनलाई स्वाइप गरेको आधारमा विभिन्न बटनहरू खुल्ने गर्छन् ।

यो सेटको ब्याट्रीलाई वायरलेस चार्जरमार्फत् चार्जिङ गर्न मिल्छ भने यसको ब्याट्री क्षमता पछिल्लो मोबाइलभन्दा दुई घन्टा बढी रहेको एप्पलले जनाएको छ ।

दुई कलरमा उपलब्ध रहेको यो सेट ६४ जिबी क्षमताको करिब १ हजार अमेरिकी डलर तोकिएको छ भने २ सय ५६ जिबी क्षमताको १ हजार १ सय ५० डलर तोकिएको छ । आगामी अक्टुबर महिनादेखि बुकिङ खुला रहने यो सेट सम्भवतः नोभेम्बर ३ तारिखदेखि प्रयोगकर्ताको हातमा आउने एप्पले जनाएको छ । (एजेन्सी)

   बिहीबार, भदौ २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*