यमपञ्चकको चौथो दिन आज गोरु तिहार, म्हः पूजा पनि

संवाददाता । काठमाडौं, ३ कात्तिक ।

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

गोरु तिहारको महत्व

gorupuja
आज यमपञ्चको चौँथो दिन गोरु को पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ । आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । अहिलेको युगमा खेती पाती गर्नको लागि विभिन्न प्रविधिहरु आए । यी सामग्रीहरु आउनु भन्दा सदियौँ वर्ष अघि देखि गोरुले खाध्यन्न उव्जनी गर्न सहयोग गर्दथे । कुनै पनि विउ विजन रोप्नु भन्दा पहिले गोरुलाई जोतेर मात्र लगाउने गरिन्थ्यो । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गर्ने गरिन्छ ।

प्राचिन समयमा आफ्नो विशेष धन नै गाइवस्तुलाई मानिन्थ्यो । त्यसबेला सबैले धेरै धेरै बस्तुभाउ पाल्ने गर्दथे । ती सबै वस्तुभाउको रक्षा गर्ने गोरु वा साँढे नै हुने गर्दथ्यो । त्यसकारण पनि गोरुलाई अरु जनावर भन्दा विशेष हेरचाह गरिन्थ्यो । र वर्र्षको एक दिन गोरुलाई पनि मिठो मिठो घाँसहरु खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने मान्यता रहेको छ । किनकी हिन्दुधर्म शासत्रहरुका अनुसार गोरु अर्थात् साँढेलाई धर्मको प्रतिक मान्ने गरिन्छ । आजको दिन गाइ र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ ।

त्यसैगरि आज द्वापर युगमा अवतरित हुनुभएका भगवान् श्रीकृष्णको संझना मा गोवद्र्धन पुजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहंकारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवद्र्धन पुजाको थालनी गर्नुभएको थियो । त्यसबेला देखि हरेक वर्ष कार्तिक शुक्ल पक्षको पहिलो दिन अर्थात् प्रतिपदामा गोवद्र्धन भगवान्को पूजा गर्ने गरिन्छ ।

गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवद्र्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरु चढाएर गर्नु पर्दछ भन्ने शास्त्रिय मान्यताहरु रहेका छन् । गोवद्र्धन पुजा गर्दा दही, नौनी, आदि अनिवार्य रुपमा हुनुपर्दछ । श्रीमद् भागवत महापुराण, देवी भागवत, विष्णुपुराण लगायतका ग्रन्थहरुमा यस विषयको ठूलो चर्चा भएको पाइन्छ ।

आजको दिन नेवारी संप्रदायहरुमा म्ह पूजा गर्ने गरिन्छ । आफुमा रहेको इश्वरलाई चिन भनेर , आत्ममा रहेको भगवान् को पुजा गरिने कुरा नेवारी संप्रदायका वृद्ध व्यक्तिहरु बताउँछन् । आज देखि नै नेपालको मौलिक संवत् परिवर्तन हुने गर्दछ । आजबाट नेपाल संवत् १९३८ प्रारम्भ भएको छ । नेपालको मौलिक संवत मानिने यस संवत्को आज पहिलो दिन हुने भएकाले हरेक वर्ष कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि देखि नेपाल संवत् शुरु हुने गर्दछ र यस दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।

कार्तिक माहात्म्य आदि ग्रन्थहरुका अनुसार आजको दिन नै भगवान् शंकरले जुवा को सृष्टी गरेको भन्ने प्रमाण पाइन्छ । जुवाको सृष्टि गरेर पार्वती सँग जुवा खेल्दा सर्ब पावतीले जित्नुभयो र भगवान शिवले जुवा हार्नुभयो । जुवामा हारेको हुनाले विरक्तिएका शिव कैलाश छोडेर गंगाको किनारतिर लाग्नुभयो । कार्तिकेयसँग जब भेट भयो तव भगवान् शंकरले जुवमा हारेको सबै वृत्तान्त बताइ कर्तिकेयलाई जुवा खेल्दा पालन गर्नुपर्ने जुवाको नियमहरुलाई बताइदिइ पठाउनु भयो । यसकारण जुवाको सुरवाती भगवान शंकरबाट नै शुरुवाती भएको मानिन्छ । र साथै साथै जुवा खेलेको अवस्थामा यसरी रित्तिनु पनि पर्छ है भन्ने सन्देश दिएर जानुभएको मानिन्छ ।

आज पनि दिपावली गरेर साँझको समयमा पुरुषहरुले देउसी खेल्ने चलन रहेको छ । साथी भाई जम्मा भइ खेल्ने देउसीको प्रसंग राजा बली र भगवान् विष्णुको अवतार वामनसँग संबन्धित मानिन्छ । वामन भगवानले बलीलाई वाचा बन्धन गराई ३ पाउ जमिन माग्नुभएको थियो । वामन भगवानले २ पाउ मा नै सारा संसारलाई नापिदिनुभयो ।

राजा बलीले तेश्रो पाउ दिन नसकेको अवस्थामा के गरौँ भनि सल्लाह माग्दा सबैले ‘शिर देउ’ अथात् टाउको देउ भनेका थिए । ‘शिर देउ’ भनेको यही शब्दलाई नै आधार बनाएर ‘देउशी रे’ खेल्ने प्रचलन आएको हो भन्ने कुरा हिन्दुधर्मका ग्रन्थहरुमा पाइन्छ । यस दिन देउसी रे खेल्न आएका लाई सकेको दान गर्नाले नरायणलाई नै प्राप्त हुने कुरा धर्मशास्त्रहरुमा पाइन्छ ।

शुक्रबार, कात्तिक ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*