यी दम्पती जसले श्रीमान्-श्रीमती नै उम्मेदवार बन्ने मौका पाए

काठमाडौं, २१ कात्तिक

दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् । तर केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न दलले श्रीमान्–श्रीमतीलाई नै उम्मेदवार बनाएका छन् । तर अन्य भन्दा नेकपा (माओवादी केन्द्र) मा दम्पती उम्मेदवारको संख्या बढी छ ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट र देउवा पत्नी आरजु राणा देउवाले कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ भने मञ्जु खस आर्य महिलातर्फको पाँचौ नम्बरमा छिन् ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ ‘क’ बाट प्रदेश सभाको उम्मेदवारी दिएका छन् । एमाले केन्द्रिय सदस्य तथा पोखरेल पत्नी सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन् ।

एमाले केन्द्रिय सदस्य रघुवीर महासेठ धनुषा–४ मा प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् भने उनकी श्रीमती जुलीकुमारी महतो प्रतिनिधि सभामै समानुपातिक उम्मेदवार छिन् ।

पूर्व सभामुख ओनसरी घर्ती मगर समानुपातिकबाट सांसद बन्ने तयारीमा छन् भने उनका श्रीमान माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । पूर्व सभामुख घर्तीको नाम आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छ ।

प्रतिनिधि सभामा जाजरकोटबाट उम्मेदवारी दिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभाकै समानुपातिक तर्फका उम्मेदवार सत्या पहाडी पनि श्रीमान श्रीमती हुन् । दुवै पूर्वमन्त्री समेत हुन् ।

रोल्पा ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

माओवादी नेता देवप्रसाद गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट र पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिक तर्फबाट उम्मेदवार छन् ।

काठमाडौं–१० का माओवादी उम्मेदवार हितमान शाक्य र समानुपातिकतर्फका उम्मेदवार अमृता थापा मगर पनि श्रीमान्–श्रीमती हुन । – हिमाल खबरपत्रिकाबाट

मंगलबार, कात्तिक २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*