युवती प्रयोग गरी व्यापारीको अपहरण : तेस्रो दिनमै हत्या, २२ दिनपछि शव फेला

काठमाडौं, १७ असार । दाङबाट अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो ।

हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो ।

प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।

१७ वर्षीया छोरीलाई प्रयोग गरी अपहरण
व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । पूजाले नै श्रेष्ठलाई फोन गरी सल्यानसम्म लगेको खुल्न आएको छ । तुल्सीपुरबाट दुवैजना श्रेष्ठकै बा.११च १०७१ नम्बरको कारमा सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलासम्म पुगेका थिए । त्यसपछि अपहरणमा संलग्न व्यक्तिहरूले कार तोडफोड गरी श्रेष्ठलाई पैदल हिँडाएको प्रहरीले जनाएको छ ।

अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्याइएको थियो । ‘लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका बिरामी श्रेष्ठ ढले, उनलाई खानासमेत दिइएन,’ दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘अपहरणकारीले श्रेष्ठको उपचार गराउन सक्ने अवस्था देखेनन्, बोकेर लैजान पनि नसक्ने र ढिला हुँदा सूचना लिक हुने डरले हत्या गरिएको खुल्न आएको छ ।’ श्रेष्ठको कार पुग्नुअगावै भारतीय नम्बर प्लेटको कारमा रहेका रणबहादुर घर्ती सो स्थानमा पुगेको र अपहरणकारीले भारतीय नागरिकलाई छाडेर घर्तीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घर्ती फरार रहनुले उनीप्रति आशंका गर्न सक्ने ठाउँ रहेको प्रहरीले बताएको छ ।

कसले गर्यो अपहरण ?
अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जंकोट–१ घर भई घोराही–४ बस्ने मनबहादुर पुन, तुल्सीपुर–६ बस्ने रुगत थापामगर, तुल्सीपुर–१२ का अविरल महतरा र घोराही–१४ नयाँ बजारकी जमा पुन छन् । यसैगरी, सल्यान झिम्पे–४ का मानबहादुर भण्डारी, तुल्सीपुर–६ की पूजा घर्तीमगर र उनका बाबु टीकाराम घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरार रहेकामध्ये केही जेल बसेको र आपराधिक पृष्ठभूमि भएको प्रहरी प्रमुख सिंहले बताए ।

पैसाकै लागि हत्या
व्यवसायी श्रेष्ठको हत्या पैसाकै लागि भएको निष्कर्ष प्रहरीले निकालेको छ । तुल्सीपुरका प्रतिष्ठित व्यवसायीका रूपमा परिचित श्रेष्ठबाट मोटो रकम असुल्ने उद्देश्यले अपहरण गरिएको हुन सक्ने प्रहरी प्रमुख सिंहले बताए । हत्या गरिएपछि पनि अपहरणकारीले श्रेष्ठको परिवारसँग फोन गरेर तीन करोड रुपैयाँ फिरौती माग गरेका थिए । गत असोजमा तुल्सीपुर बसपार्कबाट श्रेष्ठको ३० लाख रुपैयाँ भारु लुटिएको थियो । श्रेष्ठले ठूलो आर्थिक कारोबार गर्दै आएकाले पैसाकै लागि उनको अपहरण गरिएको प्रहरीले बताएको छ ।

यसैगरी दैनिक नेपालले पनि यससम्बन्धी लामो समाचार प्रसारित गरेको छ :–

अपहरणपछि हत्या गरिएका ब्यापारी श्रेष्ठलाई श्रद्धाञ्जलि दिन उर्लियो मानव सागर

 

rajkumarr

rajkumarrrr

युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यवसायी राजकुमार श्रेष्ठलाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

तुलसीपुरमा आज आयोजित कार्यक्रममा आफन्त, शुभेच्छुक, विभिन्न दलका नेता, कार्यकता, उच्च अधिकारलगायतले श्रद्धाञ्जलि दिएको रिपोर्टर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष एवम् पत्रकार शरद रेग्मीले जानकारी दिए ।

ब्यापारी श्रेष्ठको आजै शीतलपुरस्थित बबई नदीमा अन्त्येष्टि गरिनेछ ।

ब्यापारी श्रेष्ठलाई युवती प्रयोग गरेर पेशेवर समूहले तीन करोड रुपियाँ फिरौती माग गरेको थियो । तीन दिनसम्म भोकै जंगलमा हिँडाएपछि अपहरणकारी समूहले हत्या गरेर सल्यान जिल्लाको गुफामा फ्याकेको थियो ।

प्रहरीले अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै बयानका आधारमा खोजतलास गर्दा श्रेष्ठको शव शुक्रबार सल्यानको घना जंगलमा फेला पारेको थियो ।

      असार  १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*