रहेनन् नेपालकै होचा कलाकार दिपेन शाह

कला संवाददाता । काठमाडौं, ३० कात्तिक ।

नेपालकै होचा कलाकार भनेर चिनिएका दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । उनले हाँस्य टेलिश्रृङ्खलाहरू ‘छेउ न टुप्पो’ र खासगरी ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चा कमाएका अथिए ।

उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत पनि थिए । उनका दुई दिदी सर्जुना र सुजाता र एक दाजु दिपेश छन् । उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार, उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो । केही दिनअघि ज्वरो आएर उनलाई आस्पताल भर्ना गरिएको थियो । उपचार क्रममै उनको निधन भएको हो ।

स्रोतका अनुसार, २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैबारीमा जन्मिएका दिपेनका दुईवटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएपछि उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।

शारीरिक उचाइमा केवल ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।

केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

बिहीबार, कात्तिक ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*