राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

राजविराज, २६ असोज ।

सप्तरीको सदरमुकाम राजविराजमा पुनः अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समितिको आह्वान तथा राजविराजको मैथिली साहित्य परिषद्को आयोजनामा आगामी पुस ७ र ८ गते मैथिली सम्मेलन हुने निर्णय भएको छ ।

राजविराजस्थित मैथिली परिषद् भवनमा भारतको सम्मेलन समितिका पदाधिकारी र परिषद्का पदाधिकारीसहित पूर्वअध्यक्षबीच सम्पन्न संयुक्त बैठकले सम्मेलनका लागि आवश्यक तयारी अविलम्ब अगाडि बढाउने निर्णयसमेत भएको मैथिली परिषद्ले जनाएको छ ।

बैठकले अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजक मैथिली साहित्य परिषद् भएकाले भारतको समितिसँग समन्वय गरी सम्पूर्ण गतिविधि अगाडि बढाउने निर्णय गरिएको छ । भारत, नेपाललगायत अन्य देशका करिब २०० मैथिली भाषाविद्, साहित्यकार, अभियानी, अन्वेषणकर्ता प्रतिनिधिको सहभागिता रहने मैथिली परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार, सम्मेलनको पहिलो दिन पुस ७ गते मिथिला पहिरनसहित सांस्कृतिक एवं परम्परागत झाँकीका साथ शोभायात्रा निकालिनेछ ।

कार्यक्रममा सम्मेलन स्मारिका, पुस्तक विमोचन, मिथिला र मैथिलीका लागि विशिष्ट योगदान पुरयाउने व्यक्तित्वलाई मिथिलारत्न प्रदान गरिने लगायतका कार्यक्रम गर्ने बताइएको छ । –रासस

  बिहीबार, असोज २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*