३९औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : तामाङ दिदीभाइलाई उपाधि

खेल संवाददाता । भीमदत्तनगर, ६ माघ ।

त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई रत्नजीत तामाङ र नङ्शलदेवी तामाङले राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत ३९औँ ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आज भएको फाइनल खेलमा रत्नजितले एपिएफका दिपेश धामीलाई तथा नङ्शलदेवीले एपिएफकी शिक्षा श्रेष्ठलाई पराजित गर्दै उपाधी हात पारेका हुन् ।

पुरुष एकलमा पहिलो सेटमा एफिएफका धामीले रत्नलाई २१–१९ अंकले पछि पारे भने दोस्रो र तेस्रो सेटमा रत्नले क्रमशः २१–६ र २१–१२ अंकले पछि पार्दै उपाधि जितेका हुन् । योसँगै रत्नले चौथो पटक उपाधि हात पारेका छन् ।

त्यसैगरी, महिला एकलतर्फ एपिएफकी श्रेष्ठलाई २१–१३ र २१–१४ को सोझो सेटमा हराउँदै आर्मीकी नङ्शलदेवीले उपाधि जितीन । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । दुबैजना सहोदर दिदी–भाइ हुन् ।

त्यसैगरी, पुरुष डबल्सतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठले एपिएफका दिपेश धामी र विजित थापामगरलाई पराजित गरे । तामाङ र श्रेष्ठको जोडीले धामी र थापामगरको जोडीलाई २१–१९ र २१–१४ अंकको सोझो सेटमा पराजित गरे । महिला डबल्सतर्फ पनि त्रिभुवन आर्मी क्लबकै नङ्शलदेवी तामाङ र अनुमाया राईको जोडीले एपिएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९ र २१–१५ अंकको सोझो सेटले पराजित गरे ।

त्यसैगरी, मिक्स डबल्सतर्फको पनि उपाधि त्रिभुवन आर्मी क्लबले नै जितेको छ । रत्नजित तामाङ र नङ्शलदेवी तामाङको जोडीले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई हराए । पुरुष टिम ईभेन्ट्सतर्फ एपिएफ तथा महिला टिम इभेन्ट्सतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो ।

प्रतियोगितामा पुरुषरमहिला एकल तथा डबल्स, मिक्स डबल्स र पुरुषरमहिला टिम इभेन्टस् गरी सातवटा स्वर्ण पदकका लागि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका ५६ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको आयोजक कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले जानकारी गराए । चार दिनसम्म सञ्चालन भएको सो प्रतियोगिताको सातमध्ये ६ वटा स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार, माघ ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*