रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

लण्डन, ९ भदौ ।

वर्तमान समयमा इङल्याण्डका सर्वाधिक चर्चित फुटबल खेलाडी वेयन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् ।

१४ वर्ष अन्तर्राष्ट्रिय फुटबल खेलेर बिताए ३१ वर्षीय रुनीले इङल्याण्डका निम्ति जम्मा ११९ म्याच खेल्दै कुल ५३ गोल गरेका थिए । यससँगै रुनी इङल्याण्डबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीका रूपमा कीर्तिमान बनाउन पनि सफल भएका हुन् ।

अझ उनले थप सातवटा मात्र अन्तर्राष्ट्रिय म्याचहरू खेलेको भए महान गोलकिपर पिटर शिल्टनले खेलेको सर्वाधिक १२५ म्याचको बेलायती कीर्तिमान पनि रुनीकै नाममा हुने थियो ।

तर रुनी स्वार्थी खेलाडी होइनन् ।

रुनीले आफूलाई इङल्याण्डका फुटबल प्रशिक्षक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि आफूले सन्यासको निर्णय लिइसकेको बताए । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थिति अपेक्षा गरेका थिएनन् ।

“प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो । तर मलाई लाग्छ अब मैले टोली छाड्ने बेला भयो,“ उनले भने ।

रुनी म्यानचेस्टर युनाइटेड क्लबका पूर्व कप्तान हुन् भने हालैमात्र उनले आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा भित्रिएका थिए ।

इङ्ल्याण्डका निम्ति उनले पहिलोपटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेलेका थिए । सन् २००४ को यूरो फुटबल उनले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो ।

इङल्याण्डका निम्ति उनको अन्तिम खेल भने कप्तानका रूपमा गत नोभेम्बरमा वेम्बली रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो । उक्त खेलमा इङल्याण्डले तीन गोलले स्कटल्याण्डलाई जितेको थियो ।

रुनीको रिटायरमेन्टबारे अर्का खेलाडी नेभिलको प्रतिक्रिया यस्तो थियो, ‘रुनी हाम्रो समयका सबैभन्दा उम्दा गोलस्कोरर हुन् । उनले बेलायतको महानतम गोलस्कोररका रूपमा खेलजीवनबाट अवकाश लिएका छन् । उनीसँगै खेल्न पाउनु हाम्रो सौभाग्य हो ।’ (एजेन्सी)

           शुक्रबार, भदौ ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*