वर्षाको प्रकोप : ५० भन्दा बढी पुल अवरुद्ध, ६ सय जोखिममा

बाढीका कारण भासिँएको महोत्तरी र धनुषाको सीमामा पर्ने रातु पुल । तस्बिर : अन्नपूर्ण पोस्ट (राजकरण महतो)

काठमाडौं, ३० साउन ।

नियमित मर्मत नहुँदा रणनीतिक महत्वका ५० भन्दा बढी पुल अवरुद्ध छन् । लगातार परिरहेको वर्षाले गर्दा ६ सयभन्दा बढी पुल बाढी तथा डुबानका कारण जोखिममा छन् ।

महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केबरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् ।

सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार, पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल(नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा(नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् ।

रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा पनि बाढीले ल्याएको रूख तथा अन्य अवरोध देखापरेको छ । पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध आएको छ । पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध छ ।

विभागका अनुसार झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध छ । दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ ।

दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति पुगेको छ । पूर्व(पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध छ । यही सडक ढाबर खोलाले क्षति पुगेको छ ।

रौतहटमा पनि एक कल्भर्ट बाढीले बगाएको छ । मोरङमा सडक अवरुद्ध छ । महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक नै काटेका कारण पनि यातायात अवरुद्ध छ ।

महेन्द्र राजमार्गमा मात्र ३४ वटा पुल नयाँ बनाउन विश्व बैंकमार्फत आवश्यक रकमको जोहो गर्न लागिएको छ । उक्त सडकमा १५ अर्ब खर्च गरेर भएका पुल विस्थापन गरी नयाँ बनाउनुपर्ने भएको छ ।

सडकको चौडाइ नौ मिटर रहेको तर पुल भने जम्मा पाँच मिटरको मात्र भएको, जोखिममा परेका र यसअघि विस्थापन गर्ने भनेर तयारी भएका पुल नयाँ बनाउनुपर्नेछन् ।

मुग्लिन–नारायगढ खण्डमा डेढ दर्जन पहिरो

सडक विभागका सूचना अधिकारी रमेशकुमार सिंहका अनुसार मुलिग्न–नारायणगढ सडकखण्डमा मात्र डेढ दर्जन पहिरो गएको छ । उक्त सडकमा साना–ठूला गरी आइतबार बेलुकासम्म १६ स्थानमा पहिरो गएको सिंहले बताए । पहिरो आइरहेकाले तीन दिनदेखि सडक अवरुद्ध छ ।
मुग्लिन–नारायगढ सडकका संयोजक तथा सडक विभागका इन्जिनियर सञ्जयकुमार श्रेष्ठले सडक विस्तारको काम भइरहेकाले जनशक्ति र इक्विपमेन्ट तयारी अवस्थामा रहेको बताए ।

६ सय पुल जोखिममा

सरकारले निर्माण गरेका २२ सय पुलमध्ये ६ सयवटा पुल जोखिममा परेका छन् । हालसम्म निर्माण भएका पुलको सरदर आयु ५० वर्ष भएको र देशभर ६ सयभन्दा बढी पुल ४० वर्ष पुगिसकेकाले जोखिममा रहेको सडक विभागको मर्मत महाशाखा प्रमुख सरोज प्रधानले बताए । जोखिम बढ्दै गएका यस्ता पुल पूर्व–पश्चिम राजमार्ग, अरनिको, सिद्धार्थसहित देशभरका सडकमा छन् ।

विभागले पुल मर्मतका लागि गत वर्ष २ अर्ब ३५ करोड बजेट पाएको थियो भने यो वर्ष ३ अर्ब ५० करोड विनियोजन भएको छ । यो रकमबाट नयाँ पुल निर्माण र पुरानाको मर्मत गर्नुपर्नेछ ।

विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् । ठूलो मात्रामा सडक नबिग्रिएको भए पनि लगातारको वर्षाले अवरुद्ध भएको उनले बताए ।

कहाँ कहाँ छ अवरोध ?

– रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा बाढीले ल्याएको रूख तथा अन्य अवरोध
– पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध
– पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध
– झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध
– दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ
– दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति
– पूर्व९पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध
– रौतहटमा पनि एक कल्भर्ट बाढीले बगायो
– महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक काटेका कारण यातायात अवरुद्ध
(अन्नपूर्ण पोस्टबाट)

सोमबार, साउन ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*