विद्यालय चलाउन एक दिनको तलब र छ दिन श्रमदान

फलेवास (पर्वत), ३० कात्तिक ।

दुर्गम गाउँमा विद्यार्थी नभएर सामुदायिक विद्यालय धमाधम बन्द भइरहेका बेला पर्वतको सबैभन्दा दुर्गम मानिने महाशिला गाउँपालिका वडा नं १ होस्राङ्दीका बासिन्दा भने वर्षमा छ दिन श्रमदान र एक दिनको तलब विद्यालयलाई सहयोग स्वरुप प्रदान गर्दै आएका छन् ।

साविकको होस्राङ्दी गाविस वडा नं ५ को जम्पुरस्थित गोर्लाङधाम निम्न माध्यमिक विद्यालय सञ्चालनका लागि अभिभावकले वर्षमा एक दिनको तलब र प्रत्येक वर्ष छ दिन श्रमदान गर्दै आएका हुन् ।

नजिकैको विद्यालय बन्द भए डेढ घण्टा विद्यार्थी हिँडाउनुपर्ने समस्या नआओस् भनेर विद्यालयका लागि नियमित चन्दा र श्रमदानबाट सहयोग गर्दै आएको अभिभावक बताउँछन् । विद्यालयका लागि दिएको चन्दा र श्रमदानबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा विद्यालयको भवन बनाउने गरिएको छ । विद्यालयको क्षेत्रमा पर्ने होस्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दिने गरेका छन् । यसबाट वर्षमा रु ५० हजारभन्दा बढी नगद संकलन हुने गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । “शिक्षकलाई तलब खुवाउन भनेर आफैँ महिना दिनको तलब बोकेर अभिभावक विद्यालय आउनुहुन्छ,” उनले भने, “अभिभावकको निरन्तरको मायाले नै विद्यालय चलेको छ ।”

निम्न माध्यमिक तहमा सरकारी शिक्षक संख्या कम भएका कारण निजीस्रोतमा शिक्षक राख्नुपरेको विद्यालयको भनाइ छ । निजी स्रोतमा सञ्चालन गरिएका कारण सर्वसाधारणबाट उठेको चन्दा र नगद सहयोगले चारजना प्राथमिक तहका शिक्षकलाई मासिक तलब दिने गरिएको छ । पन्ध्रजना शिक्षक कार्यरत रहेको यो विद्यालयमा सरकारले नौजना शिक्षक मात्रै दिएको छ ।

शिक्षकलाई तलब खुवाउन देउसी भैलो खेल्नेदेखि खेतमा धान लगाउने र आलुसमेत लगाउने गरिएको छ । चन्दा संकलन गरेर जम्मा भएको रु चार लाखभन्दा बढी नगद गाउँलेलाई सहुलियतमा दिइएको छ । यसबाट पनि विद्यालय सञ्चालनका लागि थप खर्च आउने गरेको प्रअ राना बताउँछन् ।

गाउँदेखि नजिकको माध्यमिक विद्यालय सूर्य मावि जानका लागि डेढ घण्टा लाग्छ । यसैले पनि निम्न माध्यमिक तहको पढाइका लागि गाउँबाट टाढा जान नपरोस् भनेर गाउँलेले अथक मेहनत गरेका छन् । सबै अभिभावक जम्मा भएर वर्षमा छ दिनका दरमा श्रमदान गर्दा विद्यालयमा धेरै भौतिक पूर्वाधारको विकास पनि भएको छ । “विद्यालयका लागि आवश्यक पर्ने भवन, फर्निचर निर्माण गर्दा अभिभावकले श्रमदान गर्दै आउनुभएको छ,” पूर्व प्रअ एकनारायण पौडेलले भने, “छोराछोरी पढ्न टाढा जान नपरोस् भनेर गाउँलेले अथक मेहनत गरेका छन् ।” रासस

बिहीबार, कात्तिक ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*