विद्युत् उत्पादन धेरै हुँदा लोडसेडिङ !

बेंसीसहर । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ। वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको  माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ।

उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो। वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ।

‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भने।

विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन्। कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ। जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ।

यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ।

असार १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*