विश्व फुटबलका पाँच महँगा ट्रान्सफर

आलेख/दीपेन्द्र लामा

हालै मात्र युवा ब्राजिलियन स्ट्राइकर नेयमार स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मैन (पिएसजी) सँग अनुबन्धित भएका छन् । नेयमारलाई पेरिस ल्याउन पिएसजीले बार्सिलोनालाई १९ करोड ८० लाख पाउन्ड (नेरु. २६ अर्ब २९ करोडभन्दा बढी) तिरेको छ ।

त्यसबाहेक नेयमारले प्रतिसाता पाउने पाँच लाख ९६ हजार पाउन्ड र अन्य भत्ता थप्दा पिएसजीले नेयमारमाथि खर्च गर्ने रकम अझै करोडौं नाघ्नेछ । त्यसअघि नै २५ वर्षीय यी ब्राजिलियन युवा विश्वकै सर्वाधिक महँगा फुटबलर बनिसकेका छन् । नेयमारको पिएसजी अनुबन्ध गत वर्ष विश्व कीर्तिमान बनाएको फ्रान्सेली पल पोग्बाको युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडको अनुबन्धभन्दा एक सय १७ मिलियन युरोले बढी महँगो बन्यो ।

paul pogba
                        पल पोग्बा

के मात्रै सम्भव छैन ?
पिएसजीले एकजना नेयमारमाथि खर्च गरेको यो रकमबाट विश्वमा के मात्रै सम्भव छैन ? यत्ति पैसाले हार्वर्ड विश्वविद्यालयका चार हजार एक सय ५७ विद्यार्थीलाई आवास, खाना, ट्युसन फीलगायत सम्पूर्ण खर्च बेहोरेर एक वर्षसम्म पढ्न पुग्छ । नामिबियाका प्रत्येक जनतालाई एक-एक थान कफी टेबल किनिदिन पुग्छ । अमेरिकाको ओहायो राज्यका प्रत्येक नागरिकलाई एक-एक पप्पी किनिदिन पुग्छ । नेपालीका लागि त यो रकमले अझ धेरै कुरा किन्न सम्भव छ ।

नेयमारको स्पष्टोक्ति
नेयमारले आफूले पैसाका लागि पिएसजी नरोजेको स्पष्टोक्ति दिइसकेका छन् । यद्यपि, उनका आलोचकहरूको चित्त अझै बुझेको छैन । नेयमार पक्षका आलोचकहरू भने अझै पनि उनले फुटबलकै लागि क्लब रोजेका तर्क पेस गर्छन् ।

आलोचकहरूको तर्क
नेयमार पक्षधर आलोचकहरूको तर्क बार्सिलोनामा नेयमार लियोनल मेसीको छायामा परे । चार वर्षअघि क्रिस्टियानो रोनाल्डोको छायामा पर्ने डरले रियल म्याड्रिड नजान सुझाव दिनेहरू बार्सिलोनामा पनि नेयमार मेसीको छायामा परेको तर्क गर्छन् । त्यसैले उनीहरू भन्ने गर्छन्- रियलमा क्रिस्टियानो रोनाल्डो र बार्सिलोनामा मेसीको जस्तो छवि पिएसजीमा नेयमारको हुनेछ र नेयमारको नेतृत्वमा पिएसजी चाँडै नै युरोपकै शक्तिशाली क्लब बन्नेछ ।

नेयमारको गोल
ब्राजिलका लागि : ७७ खेल ५२ गोल
२००९ देखि २०१३, (सान्तोस) : २२५ खेल, १३६ गोल
२०१३ देखि २०१७, (बार्सिलोना) : १८६ खेल, १०५ गोल

फुटबलका पाँच महँगा स्थान्तरण
१ नेयमार– बार्सिलोनाबाट पिएसजी २०१७, २२२ मिलियन युरो
२ पल पोग्बा– युभेन्टसबाट म्यान युनाइटेड २०१६, १०५ मिलियन युरो
३ गारेथ बेल– टोट्टानहामबाट रियल म्याड्रिड २०१३, १००.८ मिलियन युरो
४ क्रिस्टियानो रोनाल्डो– म्यान युनाइटेडबाट रियल म्याड्रिड २००९, ९४ मिलियन युरो
५ गोन्जालो हिग्विन– नेपोलीबाट युभेन्टस २०१६, ९० मिलियन युरो

gareth bale

              गारेथ बेल

      शनिबार, साउन २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*