विश्व शा.सु. स्पर्धा : ननिता बनिन् अन्तराष्ट्रिय रजत जित्ने पहिलो नेपाली महिला बडी बिल्डर

खेल संवाददाता । काठमाडौं, २३ असोज ।

मंगोलियाको उलानबटोरमा आयोजित नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आइतबार रजत पदक जितेकी छन् ।

ननिताले महिला १ सय ६० सेन्टीमिटर उचाइमा रजत जितेकी हुन् । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा मंगोलियाले स्वर्ण जित्दा इटाली कांस्य पदकमा सीमित भयो ।

खेल्न सुरु गरेको छोटो अवधिमा ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो ।

गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

त्यो कांस्य पदक नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक थियो ।

आठौं विश्व शारीरिक सुगठन प्रतियोगिता ननिताको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो ।

ननिताले २०७३ सालमा काठमाडौंमा भएको प्रथम मिस्टर काठमाडौं तथा महिला फिट्नेस प्रतियोगिताबाट आफ्नो करियर थालेकी थिइन् । त्यस प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।

सोमबार समाप्त हुने प्रतियोगितामा नेपाली खेलाडीको प्रतिस्पर्धा भने सम्पन्न भएको छ । प्रतियोगितामा ननिता र दुई पुरुष गरी तीन खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिएका थिए ।

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले बताएका छन् । ‘नवौं विश्व शारीरिक सुगठन नेपालका लागि ऐतिहासिक क्षण हो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि दुई खेलाडीले पदक जितेका थिएनन्,’ महासचिव श्रेष्ठले भने, ‘यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धि हात पार्दै सारा नेपाली र शारीरिक सुगठनप्रेमीलाई खुसी तुल्याएका छन् ।’

नेपाली टोली सोमबार राती स्वदेश फर्किदैछ । अन्तर्राष्ट्रिय निर्णायक ईश्वरमान श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    सोमबार, असोज २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*