सञ्चारकर्मी सल्मा खातुन अब प्रदेश २ की पहिलो मुस्लिम उपप्रमुख

वीरगन्ज, ९ असोज ।

पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनेर चिनिने पोखरीया नगरपालिकाको उप–प्रमुखमा सञ्चारकर्मी सल्मा खातुन निर्वाचित भएकी छिन्। उनी प्रदेश नम्बर २ मा उपप्रमुख निर्वाचित हुने मुस्लिम समुदायकी पहिलो महिला हुन्।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट उपप्रमुखमा निर्वाचित भएपछि उनलाई कार्यकर्ताहरुले अबिर लगाएर रंगाइदिएका थिए। खातुनले आफु मुस्लिम समुदायको भए पनि सबै धर्मप्रति बराबर सद्‍भाव राख्ने गरेको बताइन्।

‘जनप्रतिनिधि भइसकेपछि मैले जात र धर्मभन्दा माथि उठेर काम गर्नुपर्छ। हाम्रो मिश्रित समाज छ। यस धार्मिक सद्‍‍भाव छ। त्यसैले मेरो धर्म भनेकै जनताको सेवा हो,’ उनले भनिन्, ‘मलाई जनताहरुले जिताउनुभएको छ। उहाँहरुप्रति ऋणी छु। काम गरेर ऋणको भार चुक्ता गर्नेछु।’

विगत १० वर्षदेखि पत्रकारिता पेशा अंगालेकी सल्मा भर्खरै पत्रकारिता छाडेर राजनीतिमा लागेकी हुन्। उनी संघीय सामाजवादी फोरम नेपालको तर्फबाट पोखरिया नगरपालिकाको उप–प्रमुखकी उम्मेदवार थिइन्।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत रहेकी २९ वर्षीय खातुन मनोनयन दर्ताको एकसाता पहिले मात्रै पत्रकारीता छाडेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी थिइन्।

२०६२्०६३ को मधेस आन्दोलनको बेलादेखि मधेस मिडिया मिसनमा आबद्ध खातुनले छात्रवृतिमा बंगलादेशबाट पत्रकारितामा मास्टर्स गरेकी छिन्। उनी नेपाल १ टेलिभिजन,वीरगंजको ईन्द्रेणी एफ।एम र नारायणी एफ।एम।मा सामाचारवाचिका पनि थिइन्।

खातुनल २७०४ मतका साथ पोखरीया नगरपालिकाको उप–प्रमुखमा विजयी भएकी हुन्। उनकी निटकतम प्रतिद्वन्द्वी नेपाल संघीय समाजवादी पार्टीकी उम्मेदवार वीणा देवीले भने २४९५ मत प्राप्त गरेकी थिइन् ।   (थाहा खबरको सहयोगमा)

  सोमबार, असोज ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*