सिर्जना बनिन् कम उमेरकी गाउँपालिका उपाध्यक्ष

‘महिला उत्थानका लागि संस्कार परिवर्तन आवश्यक’

काठमाडौं, ११ जेठ । स्थानीय तहको निर्वाचनमा सम्भवतः सबैभन्दा कम उमेरमा गाउँपालिका विकासको सह–जिम्मेवारी (उपाध्यक्ष) को पदमा निर्वाचन जित्ने व्यक्तित्व बन्न पुगेकी छन्, २४ वर्षीय सिर्जना तामाङ । उनले सिन्धुपाल्चोक जिल्लाकोे जुगल गाउँपालिकाको उपाध्यक्ष पदमा जितेकी हुन् । उनले गत सोमबार (जेठ ८ गते) सपथ लिँदै पदभार ग्रहण गरेकी हुन् ।

‘विकास र समृद्धि एउटा पाटो हो, खासगरी म यहाँको संस्कार बदल्न लागिपर्ने छु’, पदभार ग्रहणपछि उनले भनेकी थिइन् । आउँदा पाँच वर्षका लागि एक कार्यकाल निर्वाचन जितेकी सिर्जनाले आफ्नो कार्यावधिमा जुगल गाउँपालिकाको चेतनास्तर उठाउने अठोट व्यक्त गरेकी छन् ।

‘यस भेगका जनताको चेतनास्तर उकास्दै बालविवाह र बहुविवाहलाई निर्मूल पार्न लागिपर्ने छु । जारी प्रथाको अन्त्य गर्नु यस ठाउँको अर्को चुनौती हो’, सोही अवसरमा उनले भनेकी थिइन्, ‘संस्कार परिर्वतन नगरी महिलाको उत्थान हुँदैन र उनीहरूले न्याय पनि पाउने छैनन् ।’

तत्कालीन गुम्बा गाउँ विकास समितिको विकट गुम्बा गाउँको पाङगार्पुमा जन्मिएकी सिर्जना स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जुगल गाउँपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी थिइन् ।

तामाङ समुदायको बाक्लो बस्ती रहेको गुम्बाबाट एसएलसी उत्तीर्ण गर्नेमा उनी पहिलो किशोरी हुन् । पहिलेको जलवीरेदेखि उपल्लो भेगमा पर्ने पाँच गाविसहरू जिल्लामा दुर्गम मानिन्छन् । ती गाविसमा अहिले पनि एसएलसी उत्तीर्ण गरेकाहरू औंलामा गन्न सकिने संख्यामा छन् । अझ, त्यसमा पनि छोरीहरूको संख्या त झनै कम छ ।

मुलुकमा अन्यत्त धेरै ठाउँमा जस्तै, विकट र चेतनास्तरमा पछि परेको गुम्बा गाउँको समाज पनि ‘छोरीलाई पढाउन हुँदैन’ भन्ने मानसिकताले गाँजेको समाज हो । यस्तोमा सिर्जनाको घरको आर्थिक अवस्था पनि वर्षभरि खान नपुग्ने किसिमको थियो । नियमित आम्दानीको कुनै स्थायी स्रोत थिएन ।

तर सिर्जनालाई पढ्ने रहर थियो । ईश्वरले पनि साहसी र आँटिलाहरूलाई नै साथ दिन्छन् भने जस्तै हुन गयो । जहाँ चाह, त्यहाँ राह भने जस्तै उनलाई पनि आर्थिक अभाव र अन्य अप्ठ्याराहरूले छेक्न सकेनन् ।

परिवारको मात्र भर नपरी उनले आफैँ अध्ययन खर्च जुटाउने मेलो गरिन् । गुम्बामै रहेको प्रारम्भिक शिक्षालय ‘सेतीदेवी प्राथमिक विद्यालय’ बाट अक्षर सिक्न सुरु गरेकी उनले पछि गएर छिमेकी गाउँ पाङताङमा सन्चालित कालीदेवी माविबाट २०६८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरिन्, त्यो पनि प्रथम श्रेणीमा ।

एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गरेकी र त्यसमा पनि आफ्नो गाउँ गुम्बाबाट एसएलसी पास गर्ने पहिलो छोरीमान्छे भएकीले गाविसले हर्षोल्लाससाथ उनलाई सम्मान गर्यो । उनको सफलता र प्राप्त सम्मानले गाउँ र वरपरका क्षेत्रहरू समेतमा छोरीलाई पढाउनु पर्छ, छोरीले पनि पढ्न सक्छन् भन्ने भावना फैलिन धेरै सहयोग पुगेको मान्नु पर्दछ ।

सिर्जना त्यत्तिमै सन्तुष्ट भएर थामिइनन् । उच्च शिक्षा हासिल गर्न उनी जिल्लाको सदरमुकाम चौतारा आइपुगिन् । चौतारा उनको गाउँ गुम्बाभन्दा धेरै ठुलो र अवसर एवम् सम्भावनाहरूले भरिएको ठाउँ थियो । अन्ततः यही चौताराले उनलाई मान्छे चिन्न सिकायो, मानिसहरूसित घुलमिल हुन सिकायो र देश–जनता–समाजप्रति चासो पनि बढाइदियोे ।

सिर्जनालाई नजिकबाट चिन्नेहरूका अनुसार, ‘उनलाई उच्च शिक्षाको अवसर दिलाउने मूल श्रेय तत्कालीन गुम्बा गाविसका सचिव धु्रव थापालाई छ ।’ थापाले नै उनलाई समाज र राजनीति बुझ्न पनि उत्तिकै हौसला र अवसर उपलब्ध गराए ।

सिर्जनाका शब्दमा, ‘ध्रुव थापा त्यतिबेला हाम्रो गाविसको सचिव हुनुहुन्थ्यो । मैले उहाँबाट पाँच हजार रुपियाँ ऋण सहयोग लिएकी थिएँ । त्यो रकम लिएर म क्याम्पस भर्ना भएकी थिएँ । लगत्तै पछि, मैले चौताराकै गोल्डेन फ्युचर बोर्डिङ स्कुलमा मासिक रु.पच्चीस सय तलबमा पढाउने काम पाएँ । यसरी आफ्नो समय मिलाएर शिक्षिका पनि बन्दै मेरो क्याम्पसे विद्यार्थी जीवन अगाडि बढेको हो ।’

समयले कोल्टे फेर्दै रह्यो । केही याम बितेपछि सिर्जनाले एउटा गैसस ‘सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च’मा कम्प्युटर अपरेटरको काम पाइन् । चाँडै नै आफ्नो क्षमताले गर्दा उनी सहजकर्ताको रूपमा स्तरोन्नति भइन् । अनि उनको नयाँ जागिर सुरु भयो ।
यही बीचमा सिर्जनालाई राजनीतिप्रति पनि चासो बढ्दै गयो । उनी पहिले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमा संगठित भइन् । पनि उनी एमालेको युवक संगठन युवा संघको जिल्ला समिति सदस्यमा समेत चुनिएकी थिइन् ।

राजनीतिक कार्यकर्ता रहेकी र समाज विकासमा चासो भएकाले गर्दा सिर्जनालाई स्थानीय तहको निर्वाचन हुने प्रसङ्गले राम्ररी नै छोयो । साथीहरूसँग सल्लाह गर्दा उनलाई आफू पनि यो निर्वाचनमा उम्मेदवार हुनुपर्ने विचार प्रबलजस्तो लाग्यो ।

दुई चरणमा हुने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा भयो । स्थानीय पार्टी तहबाट सिर्जनासहित तीनजनाको नाम सिफारिस भयो । अन्ततः पार्टीको माथिल्लो निकायबाट उनकै नामको सिफारिस अनुमोदन भयो र उनले उपाध्यक्ष पदमा निर्वाचन लड्ने पार्टी टिकट पाइन् । टिकट पाएसँगै उनले गैससको सहजकर्ता पदबाट राजीनामा दिइन् र अन्य साथी एवम् शुभचिन्तकहरूसँगै चुनावी माहोलमा हाम फालिन् ।

अब उनीसित आफ्ना सपनाहरू छन् र छ पार्टीको दिशा–निर्देश ।

यसपछिका कुरा इतिहास हुन् ।

(सिर्जना तामाङको तस्बिर स्रोत– अनलाइनखबर)

            जेठ ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*