सुरु हुँदैछ नेपाली सिनेक्षेत्रमा अब दीपिकाको जादु (गीत भिडियो पनि)

मिलेको, सर्लक्क अग्लो ज्यान । बोल्ने आँखा । आकर्षक व्यक्तित्व । मानौं यिनी एकादेशकी राजकुमारी हुन् !

यी नवयुवतीलाई आजका मितिसम्म नेपाली फिल्म क्षेत्रले चिन्दैन । त्यसो त उनले पनि जानिसकेकी छैनन् यस क्षेत्रलाई । किनभने, भर्खरै नेपाली फिल्मसँग उनको जम्काभेट भएको छ ।

नेपाली फिल्म आकासमा आउँदो कार्तिक २ बाट फिल्म ‘ऐश्वर्य’ मार्फत यिनै सुन्दरी अभिनेत्री विधिवत् रूपमा उदाउने छिन् । उनी ऐश्वर्य बनेर दर्शकबीच रिलिज हुँदैछिन् । उनी अर्थात् फिल्म ऐश्वर्यकी नायिका दीपिका प्रसाईं ।

केही वर्ष बिदेसिएर घर फर्केका ह्याण्डसम अभिनेता रमेश उप्रेतीसँगको अनस्क्रिन रोमांसले भरिएको फिल्म ऐश्वर्य नेपाली फिल्मका दर्शकका लागि प्रतीक्षित फिल्म बन्ने निश्चित छ । रमेश र दीपिकाको जीवन्त अभिनयले भरिएको यही फिल्म ऐश्वर्यको एउटा गीत आज दर्शक माझ आएको छ । दीपिकाको सुन्दरता र फिल्मको रोमांचकता बुझ्न यही एउटा गीत पर्याप्त छ ।

रमेश र दीपिकाको जोडीले दर्शक रिझाउनका लागि नै हो, मुस्ताङको चिसोमा ग्ल्यामर पस्केको । कुनै नेपाली फिल्मले कैद गर्न नसकेका दृश्यहरू खिँचेर छायाँकार सुदीप बरालले ऐश्वर्यमा रोमांचकता थपेका छन् ।

अर्जुन पोखरेलको संगीत अनि सुगम पोखरेल र अञ्जु पन्तको स्वरको जादुले गीतलाई उचाइ दिएको छ । निर्देशक दिवाकर भट्टराईको कमाण्डमा तयार भएको ऐश्वर्यले दर्शकलाई कसरी बाँध्ने हो, त्यसका लागि आउँदो दीपावली पर्खिनु पर्ला । तर, के कुरामा ढुक्क हुन सकिन्छ भने सुन्दरी अभिनेत्री दीपिकाको जादु सुरु हुन भने ऐश्वर्यको यही एउटा गीत काफी छ । (सौजन्य–केन्द्रबिन्दु)

 शनिबार, साउन २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*