हजुरआमाको रैथाने औषधि ज्ञान

–डा.अरुणा उप्रेती

म्याग्दीका चन्द्रबहादुर कार्की अति नै धार्मिक छन् । उनी धार्मिकपना देवतालाई पूजा गरेर, व्रत बसेर, घण्टी बजाएर, वागमतीमा नुहाएर देखाउँदैनन् । उनको धार्मिकपन उनले गरेका अति राम्रा कामबाट देखिन्छ । उनले वातावरण जोगाउन, जङ्गलको विनाश रोक्न, पानीका मूलहरूको संरक्षण गर्न विभिन्न ठाउँमा १०० वटा चौतारोमा वरपीपल रोपी भगवानलाई, समाजलाई र व्यक्तिलाई खुसी पार्नुका साथै प्रशस्त धार्मिक काम गरेका छन् । यसका साथै अहिले उनले तुलसीका १०८ बिरुवा मठ बनाई बिरुवा रोप्न सुरु गरिसकेका छन् । तुलसीलाई नैवैद्य चढाएर, तुलसीको विवाह विष्णुसँग गराएर र तुलसी एकादशीको व्रत लिएर धर्म हुने होइन कि तुलसीको बिरुवा जताततै लगाएर स्वास्थ्य राम्रो पार्न सहयोग गरेपछि पो धर्म हुन्छ भन्ने भावना भएका चन्द्रबहादुरले साँच्ची नै धर्मलाई बोलीमा होइन, जीवनमै धारण गरेका छन् । उनले सायद आफू मरेपछि दानपुण्य गर्ने भन्ने सपना राखेका छैनन् तर उनकै वातावरण संरक्षण गर्ने विचार र कामले समाजमा धेरै दान दिएका छन् । यदि भगवानको मन्दिर जाने प्रत्येक भक्तले, प्रत्येक महिना व्रत बस्ने महिलाले, भगवानलाई अबिर, पूmल, पेडा चढाउने पुरुष र महिलाले चन्द्रबहादुरले गरेको कामको दश प्रतिशत मात्रै गर्ने हो भने सायद वातावरण सन्तुलनमा राख्न, समाजलाई स्वस्थ्य रहन धेरै मद्दत पुग्थ्यो होला ।

Aruna Upreti

चन्द्रबहादुरले गरेका राम्रा धार्मिक कामका बारेमा पढ्दा मलाई मेरी बज्यैको याद आयो । मेरी बज्यै प्रत्येक दिन बिहान तुलसीको मठलाई ढोगेर पानी हाल्नुहुन्थ्यो । प्रत्येक बेलुका तुलसीको मठमा दियो बाल्नुहुन्थ्यो । तुलसीलाई दियो बालेपछि मात्र उहाँको बेलुकाको भान्छाको काम सुरु हुन्थ्यो । म १०–११ वर्षको भएपछि मेरी आमाले तुलसीको मठमा छ बजे दियो बाल्ने जिम्मेवारी मलाई दिनुभएको थियो । कहिले–कहिले त दियो बाल्न झ्याउ लाग्थ्यो, ‘अरूलाई दिए पनि हुन्थ्यो नि यो काम’भनेजस्तो लाग्थ्यो तर अहिले बोध भएको छ– मेरी आमा र बज्यैले कति राम्रो संस्कार मलाई दिनुभएछ । थाहा नै नपाइकन तुलसीलाई आदर गर्ने मेरो बानी बसेछ ।

मेरी हजुरआमाले त्यही तुलसीको पत्ता टिपेर रुघाखोकी  लाग्दा बेसार पानीमा उमालेर ख्वाउनुहुन्थ्यो । रुघा लाग्दा सन्चो हुन्थ्यो । अहिले लाग्छ, मेरी हजुरआमा त वातावरणविद् पो हुनुहुँदोरहेछ । हजुरआमाबाट पाएको यो बानी रुघा लाग्दा (तुलसी र बेसार खाने बेलामा पानी पिउने)  अहिलेसम्म छुटेको छैन । पहिले–पहिले त मलाई अरूलाई ‘यस्तो खाउभन्दा लाज हुन्छ कि’जस्तो लाग्थ्यो र प्रायः वनस्पति र औषधिको विषयमा बोल्दैन थिएँ । तर अहिले जब विश्व स्वास्थ्य संगठनले पनि वनस्पतिका औषधि मूल्य र रैथाने ज्ञान आदिका बारेमा जानकारी दिन थालेको छ, अनि पो मैले कसरी वरिपरिका वनस्पतिबाट सूक्ष्म पोषण तत्व पाइन्छ र कसरी कतिपय समस्यामा  यस्ता साधारण औषधिहरू प्रयोग गरेर स्वस्थ रहन सकिन्छ भनेर बढी जानकारी लिन पनि र आफूसँग भएको जानकारी अरूलाई दिन पनि थालेकी छु ।

प्राचीनकालमा एकजना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भने, ‘तिमीहरू सबै जङ्गलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ जसको कुनै औषधीय महत्व छैन ।’सबै विद्यार्थी जङ्गलमा गएर खोज्न थाले । एक महिनापछि प्रायः विद्यार्थीहरू हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्के र गुरुजीलाई भने, ‘यी वनस्पतिको कुनै औषधीय महत्व छैन ।’एकजना विद्यार्थी चाहिँ झण्डै पाँच दिन ढिला फक्र्यो र भन्यो, ‘गुरुजी ! म त वनस्पति खोज्दा–खोज्दा हैरान भएँ तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।’गुरुजीले प्रसन्न भएर भने, ‘तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।’

यो  कथा बाट मैले सिकेको पाठ हो– संसारमा कुनै पनि वनस्पति कुनै न कुनै औषधीय गुण नभएको हुँदैन । हामीले हेर्न मात्र जान्नुपर्छ ।

यो कथा नै भए पनि यसमा धेरै सत्यता छ । हाम्रा वरिपरि यति धेरै औषधि छन्, तर हामी तिनको महत्व नै जान्दैनौँ र बेवास्ता गर्छौं । उदाहरणका लागि, सिस्नोमा पनि पोषण तत्वहरू पाइन्छन् । तितेपाती कान्ला–कान्लामा फल्छ र यसमा कीटाणु मार्ने शक्ति हुन्छ । जापानमा तितेपातीको प्रयोग अत्यधिक हुने भएकाले नेपालबाट त्यहाँ निर्यात गरिन्छ । अकुप्रेसर र चाइनिज परम्परागत औषधिमा पनि यसको प्रयोग पर्याप्त हुन्छ । सुकेको तितेपाती पोल्दा निस्कने धुवाँले लामखुट्टे नआउने भएकाले कतिपय ठाउँमा यसको प्रयोग गरिन्छ तर खोइ त सिस्नो र तितेपाती हामीहरूले प्रयोग गर्न सकेको ?

केहि अघि चीनको एउटा औषधि कम्पनीले पुदिनामा रहेको विशेष तत्वबाट भाइरल इनफ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्न भनेर पेटेन्ट गर्न खोजेको थियो तर भारतीय आयुर्वेद वैज्ञानिकहरूले हजारौं वर्षदेखि आफ्नो उपचार पद्धतिमा पुदिना उपयोग भइरहेकाले यसलाई ‘पेटेन्ट’गर्न दिएनन् । पुदिना हामीकहाँ जताततै भए पनि यसको यति विशाल औषधीय महत्व छ भनेर हामीलाई प्रायः थाहा नै हुँदैन । विदेशीहरूले औषधि भएको वनस्पतिबाट कति फाइदा लिन सकिन्छ भनेर भन्छन् तर हामी त्यसको वास्ता गर्दैनौँ ।

सुत्केरी हुनुभन्दा केही दिन पहिले केही माहिलाहरूलाई खुट्टा वा हात चिलाउने हुन्छ । बच्चा पाएपछि यो आफैँ निको हुन्छ । यो चिलाउने कम होस् भन्नाका लागि कपूरलाई नरिवल वा तोरीको तातो तेलमा मिसाएर छालामा मालिस गर्नाले चिलाउने धेरै कम हुन्छ । यति सानो तर महत्वपूर्ण उपचारको बारेमा हजुरआमाको ज्ञान यसै हराएर जान थालेको छ । मलाई यो ज्ञान म गर्भवती हुँदा मेरी ठूलीआमाले दिनुभएको थियो ।

हाम्रो घरको भान्छामा सानातिना रोगहरूलाई निको पार्ने प्रसस्त औषधिहरू छन् । परापूर्वकालदेखि हाम्रा बाजेबज्यैहरूले घरमा पाइने विभिन्न मरमसला, तरकारी, फलफूल आदिबाट विभिन्न रोगलाई निको पार्दै आइरहेका हुन् ।

तर यसका बारेमा हामीमध्ये धेरैलाई राम्रो जानकारी छैन । त्यसैले सानातिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर हामी औषधिहरू नै प्रयोग गर्छौं । स्वास्थ्यसम्बन्धी क्षेत्रमा काम गर्ने केही विज्ञहरूले पनि महँगो स्वास्थ्यसेवा र औषधिले जनस्वास्थ्यमा नकारात्मक असर पारेको महसुस गरेर सस्तो र सुलभ रूपमा उपलब्ध हुने औषधिको खोजी गर्न थालेका छन् ।

तुलसीको पत्तालाई कुनै बेलुका टिप्नु हुँदैन भने जन विश्वास छ र हजुरआमाले केही गरी राती  तुलसीको पत्ता टिप्नु प¥योे भने बोटलाई प्रणाम गरेर मात्र टिप्नुहुन्थ्यो । तुलसीको त्यत्रो आदर सायद तुलसीको औषधीय गुणले गर्दा भएको हो । ‘प्रत्येकको घरमा एउटा तुलसीको मठ हुनुपर्छ, त्यसलाई बिहान–बेलुका पूजा गर्नैपर्छ’ भने मान्यता मेरी हजुरआमाको थियो । उनका बुहारी र हामी नातिनातिनाहरूले पनि यो संस्कार राखेका छौँ र त्यसबाट प्रचुर फाइदा पनि लिएका छौँ । म तुलसीको बिहे संस्कार त गर्दिन तर मेरो बिहान तुलसीको दुई पत्ता चपाएर सुरु हुन्छ । म र मेरो परिवारको कसैलाई घाँटी दुख्यो वा रुघा लाग्यो भने तुलसीको पत्ता पहिलो औषधि हुन्छ र प्रायः दुई दिनको प्रयोगले धेरै समाधान पनि हुन्छ  । म बाहिर यात्रामा जाँदा पनि तुलसीको  सुकाएको पत्ता त लिएर नै जान्छु । तुलसीलाई म  एउटा औषधि  र वातावरण संरक्षण गर्ने वनस्पति मान्छु । अहिले त तुलसीको चिया भनेर बजारमा बेचिन पनि थालेको छ । घरमा भएको तुलसीको बोटको वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाँहि किन्छन् । महँगो भएपछि तुलसीको उपादेयता मानिसहरूले बुभ्mन थालेका छन् । व्यापारीकरण भएपछि वनस्पतिको मूल्य बढ्न जान्छ सायद ।

तुलसीलाई विष्णुको अवतार मानिन्छ र धार्मिक ग्रन्थअनुसार विष्णुलाई श्राप परेर उनी तुलसी बन्नुपरेको हो । हिन्दुहरूले धार्मिक कारणले यसलाई पूजा गरे पनि वास्तवमा प्रत्येक देशमा यसको विभिन्न तरिकाले प्रयोग हुन्छ ।  तुलसीको राम्रो गरी प्रयोग गर्नु र संरक्षण गर्नु नै तुलसीको पूजा गरेको होइन र ?

बेसारले हाम्रो भोजनलाई आकर्षक बनाउनुका साथै कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् । म सानी छँदा मेरी हजुरआमा र ठूलीआमा मेरो शरीरमा आउने घाउहरूलाई ठीक पार्न बेसारको लेप लगाइदिने गर्नुहुन्थ्यो । परिवारमा बालबालिकाको नाक–कान छेडेपछि त्यसमा बेसारमा लटपटाएको धागो लगाइदिनुहुन्थ्यो । बेसार चिनियाँ चिकित्सा–पद्धतिमा पनि पर्याप्त मात्रामा प्रयोग गरिन्छ । बेसारमा रहेको सङ्व्रmमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो । बेसारको यसै महत्वलाई बुझेर सौन्दर्य प्रशाधनमा पनि यसको प्रयोग प्रसस्त मात्रामा हुन्छ । अनुहार र शरीरको सौन्दर्यलाई बढाउन गाँउघरतिर बेसार र बेसनमा दही वा दूध मिलाएर सफा गर्ने गरिन्छ ।

घिउकुमारीको औषधीय महत्व छ भन्ने त अहिले धेरैलाई थाहा छ । यसलाई घरेलु रूपमा पनि सहजै प्रयोग गर्न सकिन्छ । अलिअलि पोलेको वा घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ । घिउकुमारीको गुदी सुख्खा छालामा दल्दा छाला नरम हुन्छ । रुघाखोकी लागेर नाक बन्द भई सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै आराम हुन्छ । अहिले घिउकुमारीको क्रिम बनाएर बजारमा बेचिँदा मानिसहरूले किनेर प्रयोग गर्छन् तर घरमा भएको÷उम्रिएको घिउकुमारीको वास्ता नै हुँदैन ।

आयुर्वेदिक चिकित्सा पद्धतिमा अदुवालाई ठूलो महत्व दिइएको छ । आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ । अदुवाको औषधीय गुणले गर्दा नै होला, फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरू नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउँछ भनेर विश्वास गरिन्थ्यो । सायद अदुवाको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भनेर मानिएको हुनसक्छ ।

तरकारी, मासु, अचार आदिलाई स्वादिलो बनाउन हामी थोरै मात्रामा अदुवाको प्रयोग गर्छौं । तर यति प्रयोगले पनि हाम्रो शरीरलाई धेरै फाइदा दिइररहेको हुन्छ । अदुवामा पनि लसुन र प्याजमा जस्तै एक प्रकारको तेल हुन्छ तर त्यो तेल भने गन्धरहित हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउँदैन । अदुवाको यही विशेषतालाई ध्यानमा राखेर आयुर्वेदिक चक्कीहरूमा यसको प्रयोग गरिन्छ । अदुवालाई ताजा र सुकाएर दुइटै रूपमा प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । यो लामो समयसम्म राख्दा पनि बिग्रिँदैन । ताजा र सुठो अदुवा दुवैमा शरीरलाई गर्मी दिने गुण हुन्छ । अदुवा इरानमा अति महँगो छ । सुठो इरानमा भारतबाट निर्यात हुन्छ र इरानको भोजनमा एकदम प्रयोग गरिन्छ । त्यहाँ मैले एक नेपाली परिवारलाई सुठो एक किलो लगिदिँदा बडो राम्रो उपहार मानेका थिए ।

मेथी हाम्रो भान्छामा नभई नहुने मसला हो । मेथीलाई भुटनको रूपमा विशेष प्रयोग गरिन्छ ।   भिजाएर टुसा उमारेको मेथीलाई तरकारी वा अचार बनाएर खानाले यो स्वादिष्ट मात्र होइन, अत्यन्त पौष्टिक पनि हुन्छ । टुसा उमारेको मेथीमा विभिन्न खनिज पदार्थहरूका साथै भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । त्यसैले सुत्केरी महिलाहरूलाई मेथीको खीर बनाएर खान दिने चलन छ । यसले आमाको स्तनमा दूधको मात्रा पनि बढाउँछ ।

मेथीमा भोजनलाई पचाउने गुण पनि हुन्छ तर मेथी राम्रो औषधि पनि हो । पेट दुखेको बेलामा लसुन र मेथीको जाउलो ख्वाउने चलन हाम्रा हजुरआमाहरूको पालादेखि नै थियो । त्यसैगरी मेथीको धूलोमा दही मिसाएर पखाला लागेको तथा अपच भएको बेलामा दिने चलन छ । मेथीको प्रयोग मधुमेहका रोगीहरूका लागि पनि उपयुक्त मानिएको छ । हुन त मेथीमा रहेको कुन तत्वले वास्तविक रूपमा मधुमेहका लागि फाइदा गर्छ भन्ने कुरामा अनुसन्धान हुँदैछ ।

कागती सस्तो र सहजै पाइने फल हो ।  कागती  भिटामिन सीको लागि प्रयोग गरिन्छ । स्वास्थ्यका लागि भिटामिन सीको महत्वबारे पर्याप्त मात्रामा अनुसन्धान भएका छन् । विशेषगरी जाडो मौसममा कागतीको प्रयोगले विभिन्न सङ्क्रमणबाट हामीलाई बचाउन सक्छ । रुघाखोकी लागेको बेलामा तातो पानी वा चियामा कागती र मह हालेर पिउने गरिन्छ । कागती वाक्वाकी लाग्दा, विशेषगरी गर्भवती अवस्थामा हुने वाक्वाकी रोक्न प्रयोग गरिन्छ । लौहतत्व पाइने विभिन्न किसिमका भोजन– जस्तै, मासको दाल, गेडागुडी, सागहरू खाँदा कागतीको रस हालेर खाने हो भने यसले रक्तअल्पतालाई रोक्न सहयोग पु¥याउँछ । यही वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर लौहतत्व भएका औषधिहरूमा भिटामिन सी पनि मिसाइएको हुन्छ ।

तर औषधिमा मिसाइएको भन्दा प्राकृतिक रूपले भोजनमा पाइने कागती  राम्रो हुन्छ र कागतीको रस मात्र होइन, बोक्रा पनि निकै स्वस्थकर खाना हो । म कागतीको बोक्रा काटेर चियामा प्रयोग गर्छु ।

नीमका बारेमा एउटा भनाइ छ– जहाँ नीमको रूख हुन्छ, त्यहाँ रोग भागिहाल्छ ।

स्वर्गमा अमृतका लागि देव र दानवका बीचमा युद्ध भयो । दानवको जित भयो र अमृतको घडा उनीहरूले लगे । देवताहरूलाई आपत् प¥यो । ‘अमृतबिनाको स्वर्ग के स्वर्ग ?’ त्यसैले उनीहरूले कागलाई त्यो ‘अमृतको घडा चोरेर ल्याउन’ भने । त्यसपछि कागलाई धेरै उपहार दिने वचन देवताले दिए । बाठो कागले पहिले गएर दानवहरूले घडा कहाँ राखेका छन् भनेर पत्ता लगायो । अनि बिहानपख दानवहरू मस्तसँग सुतेको बेलामा घडा चोर्न सजिलो हुन्छ भनेर बिहान उठेर खुसुक्क घडा चुच्चोले टिपेर ल्यायो । दानवहरूकहाँबाट घडा देवताकहाँ ल्याउँदा पृथ्वीको माथिबाट उड्नुपथ्र्याे । पूरा उज्यालो नभएकोले कागले कतैकतै राम्रोसँग आँखा देखेन र घैँटोबाट अलिकता अमृत छचल्किएर पृथ्वीको नीमको रुखमा छरिन पुग्यो र त्यही बेलादेखि नीममा मानौँ अमृतका गुणहरू आए ।

पुराणको यो कथा हो ।      तर यसले नीमको महत्व अमृतजत्तिकै छ भनेर  दर्शाउँछ ।

नीमको बीउमा झण्डै ४० प्रतिशत तेल हुन्छ । यो तेल विभिन्न औषधि तथा साबुनमा प्रयोग गरिन्छ ।

नीमका बारेमा अन्तराष्ट्रिय जगतमा त्यो बेलामा छलफल सुरु भयो जब धेरै वर्षअघि अमेरिकाको एउटा कम्पनीले नीमको औषधि गुण पेटेन्ट गर्न खोज्यो । त्यो बेलामा भारतका धेरै वैज्ञानिकहरूले यसका विरुद्ध आवाज उठाए । प्रसिद्ध वैज्ञानिक डा. वन्दना शिवाले यसलाई ‘जैविक चोरी’ भनिन् । उनले भनिन्, ‘हाम्रो देशमा किसानहरूले नीमलाई कीटनाशकका रूपमा हजारौँ वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । कुनै कम्पनीले यसलाई पेटेन्ट गरेर हामीले गाउँघरमा भएको रुखको प्रयोगका लागि पैसा तिर्ने कुरा असहनीय छ ।’ डा. वन्दना शिवाको लगातारको लडाईंले नीमको औषधीय गुणलाई पेटेन्ट गराउन खोज्ने कम्पनीले हार मान्नुप¥यो ।

करी पत्ता (अर्थात्, मीठो नीम) श्रीलङ्का र दक्षिण भारतीय भोजनमा अत्यावश्यक वस्तु मानिन्छ । चर्चित परिकार साम्भर बनाउँदा करी पत्ताले खानालाई स्वाद दिने मात्र होइन कि पौष्टिक पनि बनाउँदछ । यसलाई मीठो नीम भनेको कारणचाँहि यसका धेरैजसो गुण नीमसँग मिल्छन् तर यो नीमजस्तो तीतोचाँहि हुँदैन । करी पत्ताको प्रयोग गर्दा भिटामिन ए सहजै प्राप्त हुन्छ । साथै यसमा रहेको रेशादार पदार्थले पनि कब्जियत हटाउन फाइदा गर्छ । तराईमा करी पत्ता जताततै पाइन्छ तर अहिलेसम्म स्थानीय समुदायले कमै मात्र यसको प्रयोग गरेको देखिन्छ । करी पत्ताको प्रयोग गर्न जान्नेले त यसलाई अचारजस्तै हरियो धनियाँसँग पिसेर पनि खान्छन् ।  यदि यसलाई प्रयोग गर्न पैसा तिर्नुपरेको भए सायद यसको गुणको प्रयोग गर्ने बढ्थे कि ?

नीम, तितेपाती, बेसार, अमलाजस्ता वस्तुहरू हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने वस्तुमध्ये पर्छन् । तिनलाई केवल खानका लागि मात्र होइन, औषधिका दृष्टिकोणले पनि ठूलो महत्वका साथ हेरिनुपर्ने हो । तर, आधुनिक औषधि विज्ञानसँगै हाम्रो गाउँघरका भान्छा र करेसाबारीमा पाइने औषधिहरू विस्थापित हुँदै गए र हामी महँगा औषधितर्फ बढी आकर्षित हुन थाल्यौँ । साधारण किसिमका समस्याहरूको निराकरणका लागि पनि ट्याबलेट र सूईको भर पर्न थालेका छौँ किनभने हामी रैथाने ज्ञानलाई आदर नै गर्दैनौँ ।

हाम्री प्राय रैथाने र बाजेबज्यैहरूसँग रहेको औषधिको ज्ञानलाई पुरातनवादी भनेर हाँसेर उडाउँछौँ अथवा उडाउन थाल्यौँ । हाम्रा गाउँघरका थारू, चेपाङ, धिमाल, गुरुङहरूले प्रयोग गर्ने औषधिहरू त झण्डै लोप नै हुँदा पनि वास्ता छैन !

घरआँगनका औषधिचाहिँ हामी सित्तैमा पाउने भएकाले वास्ता गर्दैनौँ । अव पनि वरिपरि भएका प्रत्येक वनस्पतिहरू औषधि हुन् भनेर आदर गर्न जानियो भने सायद हाम्रा कतिपय रुख–विरुवा जोगिन्थे होलान् । भविष्यका लागि वातावरण संरक्षण हुन्थ्योहोला ।

हामीहरूले चन्द्रबहादुरबाट केही सिक्न सकिन्छ कि ?

(स्रोत : अस्मिता सम्पूर्णाङ्क ७४, मङ्सिर पुस, २०७२)

शनिबार, भदौ ३, २०७४ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*