१ वर्षमा ५० हजार विद्यार्थी विदेशतिर

विद्यार्थीको भिसा आवेदनमा मात्रै डेढ अर्ब बिदेसियो

काठमाडौं, ४ साउन ।  एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३÷७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ ।

गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन ।

एक–एकजना मात्र विद्यार्थी जाने १२ देश
आर्थिक वर्ष ०७३(७४ मा १२ देशमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय गृहयुद्ध भइरहेका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका नाममा पुगेका छन् । बेलारुस, गुयना, साउदी अरेबिया, स्विट्जरल्यान्ड, स्लोभाकिया, श्रीलंका, रिपब्लिक अफ पोल्यान्ड, होल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया र बहमासमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् ।

विद्यार्थीबाट नेपाललाई १० करोड राजस्व
विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले पनि एक वर्षमा १० करोडभन्दा बढी राजस्व उठाएको छ । ५० हजार ६ सय ५९ विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा १० करोड १३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?
नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए । उनका अनुसार विदेश अध्ययनमा आकर्षण बढ्नुका ३ कारण–

– विदेशी डिग्री लिएमा अन्तर्राष्ट्रिय श्रमबजारमा पनि बिक्ने अपेक्षा

– विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था

– छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्न मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्ति

 

यसकारण बढ्यो विदेश आकर्षण 
– प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

पढ्ने नाममा गए पनि २–४ प्रतिशतबाहेक सबै पैसा बचाउन जाने हुन् । नेपालीले विदेशमा धेरै कमाउन सक्दैनन्, तर कमाएकोमध्ये थोरै बचाउँदा पनि नेपालमा धेरै हुन्छ ।

विदेश पढ्ने कुरालाई इज्जतसँग पनि जोड्ने गरेको पाइन्छ । विदेश पढेपछि विशेष हुन्छ भन्ने सोचाइ अभिभावक र विद्यार्थीमा बढ्दो छ ।
नेपालमा नै धेरै राम्रो गर्न सकिन्छ भन्ने आशा राजनीतिक नेतृत्वले जगाउन नसकेकाले पनि विद्यार्थी बिदेसिन चाहेका हुन् ।

नेपालमा जतिखेर भर्ना हुने समय आयो त्यही वेला बन्द–हडताल हुन्छ, । त्यसपछि सबैले विदेशकै आशा जगाइदिएर विदेश लैजाने प्रयास गर्दछन् । (नयाँ पत्रिका)

     साउन ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*