५० लाख खर्चिएर १४ वर्षीया छोरीको ३० वर्षीय युवकसँग बिहेको तयारी, फिल्मीशैलीमा रोक्यो प्रहरीले

सिरहा, ८ कात्तिक ।

६ कार्तिकका लागि विवाह छिनिएको थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि उत्तिकै बढ्दै गयो । विवाहमा सरिक हुन विभिन्न ठाउँबाट आफन्तजनहरु आइसकेको थिए । जसले घरपरिवार र आफन्तजनमा उत्तिकै उत्साह थपेको थियो । वैवाहिक समारोहमा सहभागि हुन आउने जन्ती र आफन्तजनको स्वागतमा खानपिनका लागि विभिन्न परिकारहरु साँझसम्म तयार भइसकेको थियो । थप तयारी हुने क्रममै थियो ।

रातिको करिब ११ बजे तिर जन्तीको लाबालस्कर बेहुलीको घर आयो । करिब तीन सय भन्दा बढीको संख्यामा करिब ४० वटा गाडीमा आाएको जन्तीलाई स्वागत गर्न बेहुली पक्ष र आफन्तजन तम्तयार भएर जुटिसकेका थिए । जन्ती आएपछि शुरुमा जन्तीलाई स्वागतका लागि पानी र खाजा खुवाइयो । त्यसपछि वैवाहिक कार्यक्रम शुरु गराउन बेहुली पक्ष जुटे । त्यसको केही समयमै बेहुला र वेहुलीबीचको निकाह (स्वयंवर) सुरु हुन लागेको थियो । पूर्णरुपमा सिङ्गारिएर स्वयंवरको लागि वेहुली कोठाबाट प्रस्थान गर्दै थिइन् । त्यहीँ बेला उक्त समारोहमा सुरक्षाकर्मीहरुको जम्बो टोली पुग्यो । सबैलाई लाग्यो सुरक्षाकर्मीहरु विवाहमा सरिक हुन आए । त्यसले त झन् वैवाहिक समारोहमा सहभागि हुन आएकाहरु उत्साहित भए ।

तर जब प्रहरी प्रमुखले वेहुलीको उमेर कति हो ? उमेर नपुगेको केटीको विवाह गर्न पाईंदैन, विवाह रोक्नुपर्यो भनेपछि उत्साहित सबैमा निराशा छायो, कोलाहल मच्चियो खुसीले रमाइरहेकाहरुको उक्त बैवाहिक मण्डपमा । जन्तीमा सहभागि हुन आएकाहरुबीच भागाभाग चल्न थाल्यो । उक्त समयको दृश्यले सुरक्षाकर्मीहरु कुनै झडप नियन्त्रण गर्न आएको झैँ भएको बताउछन् स्थानीयहरु ।

यो घटना सिरहाको हो ।

सोमबार राति लहान नगरपालिका ६ बस्ने मोह्मद ताहिर अन्सारीको छोरी सबिला खातुन विवाह गर्न सजिएकी थिइन् । भारतको बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला पदमा ग्रामबाट मो. आशिफ इकवाल जन्ती लिएर आएका थिए । तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनी भन्छन्–‘बाल विवाह हुन लागेको सूचना आयो, त्यसपछि विवाह भइरहेको ठाउँमा पुग्दा केटी बालिका भेटियो । त्यसैले विवाह रोक्न बाध्य भयौं । त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो ।’

उनले भने–‘करिब ४० वटा भन्दा बढी गाडीमा ३ सयभन्दा बढी जन्ती आएको देख्दा म नि अचम्म भएँ ।’ – नयाँ पत्रिकाबाट

बुधबार, कात्तिक ८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*