६ महिला, जसले पुरुष प्रतिद्वन्दीलाई हराई प्रत्यक्ष निर्वाचन जिते

तस्बिरमा क्रमशः दुर्गा पौडेल, पम्फा भुसाल, पद्मा अर्याल, कमला रोका, पवित्रा निरौला खरेल र बीना मगर

संवाददाता । काठमाडौं, २७ मंसिर ।

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा प्रतिद्वन्दी पुरुष उम्मेवदारलाई पछार्दै ६ महिलाले जित हसिल गरेका छन् । प्रत्यक्षतर्फ रहेको कुल प्रतिनिधिसभा सदस्य संख्या १६५ मध्ये ६ जना महिला निर्वाचित भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाले बताए ।

त्यसरी निर्वाचित हुने महिलामा पवित्रा निरौला, कमला रोका, बीना मगर, पद्मा अर्याल, दुर्गा पौडेल र पम्फा भुसाल छन् । निर्वाचित यी सबै ६ जना महिलाले निकटतम प्रतिद्वन्दी कांग्रेसका पुरुष उम्मेदवारलाई पराजित गरेका हुन् भने सबैजना वाम गठबन्धनका उम्मेदवार हुन् ।

१. प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने ६ महिलामा एमालेकी पवित्रा निरौैला (खरेल) ४५ हजार ८ सय १७ मत ल्याएर झापा निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएकी छिन् । निरौलाले प्रतिद्धन्द्धी कांग्रेसका उद्धव थापालाई १३ हजार ७ सय ६७ मत अन्तरले पराजित गरेकी हुन् ।

२. त्यसैगरी माओवादी केन्द्रकी पम्फा भुसाल २४ हजार ३६ मत ल्याएर ललितपुर निर्वाचन क्षेत्र नं.३ बाट विजयी भएकी छिन् । भुसालले शक्तिशाली प्रतिद्वन्दी कांग्रेसका मदन बहादुर अमात्यलाई १६ सय ९६ मत अन्तरले पराजित गरेकी हुन् ।

३. त्यसैगरी एमालेकी पद्मा कुमारी अर्याल ३५ हजार १४२ मत ल्याएर स्याङजा निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएकी छिन् । अर्यालले प्रभावशाली प्रतिद्वन्दी कांग्रेसका गोपालमान श्रेष्ठ लाई ३७ सय ६ मत अन्तरले पराजित गरेकी हुन् ।

४. त्यसैगरी माओवादी केन्द्रकी कमला रोका १० हजार ४३४ मत ल्याएर रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएकी छिन् । रोकाले प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्ती मगरलाई ६ हजार २८ मत अन्तरले पराजित गरेकी हुन् ।

५. त्यसैगरी राष्टिय जनमोर्चाकी दुर्गा पौडेल ४७ हजार ५१४ मत ल्याएर प्युठान निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएकी छिन् । पौडेलले प्रतिद्वन्दी कांग्रेसका डा.गोविन्दराज पोखरेल लाई १६ हजार २२८ मत अन्तरले पराजित गरेकी हुन् ।

६. त्यसैगरी माओवादी केन्द्रकी बीना मगर ३८ हजार ४६७ मत ल्याएर कन्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएकी छिन् । मगरले निकटतम प्रतिद्वन्दी कांग्रेसका दिवान सिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले पराजित गरेकी हुन् ।

बुधबार, मंसिर २७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*