गजल/मोना शेर्पा
न्यानो हुन बुनेका सपनाहरू
शिशिर नकाट्दै उध्रिन थालेका छन् ।
दृढ बनाउन लिपेका धरातलहरू
घाम नपाउँदै उक्किन थालेका छन् ।
तिमी भन्छौ, ‘धेरै नसोच, पीर नगर !’
हामीले सँगै रच्ने मायाका गीतहरूले
अभावमा शब्दहरू उधारो माग्न थालेका छन् ।
मप्रति समर्पित तिम्रा अठोटहरू
आज अरूलाई सुम्पिन थालिएका छन् ।
तिमी भन्छौ, ‘धेरै नसोच, पीर नगर !’
भ्रममा बाँचेकी रहेछु
झुठो सत्य सँगालेकी रहेछु
खोक्रो संकल्प बटुलेकी रहेछु
अब भान हुँदैछ, महसुस गर्दैछु ।
हेर्दाहेर्दै आफ्नै आँखा अगाडि सबै
भासिँदै छन्, विलीन हुँदै छन् ।
अनि तिमी भन्छौ, ‘धेरै नसोच, पीर नगर ।’
– मोना शेर्पा
बिहीबार, मंसिर २८, २०७४ मा प्रकाशित
Sundar Rachanaa, Shabda ra Bhaab ko Gagab sanyojan!!!