इंग्ल्याण्ड पहिलोपटक विश्वकप क्रिकेट च्याम्पियन

लन्डन ।
इंग्ल्यान्ड पहिलो पटक विश्वकप क्रिकेट च्याम्पियन भएको छ । आइतबार लर्डसमा भएको फाइनलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउन्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो।

रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएका थिए । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

दुबैको २४१ रन

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो ।

उसको सुरूवात खराब रह्यो । ८६ रन जोड्दा ४ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले ११० रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।

२ सय ४२ रनको लक्ष्य लिएर आएको इंग्ल्यान्ड पुरा ओभर खेलेर २ सय ४१ रनमा अलआउट भए पछि खेल सुपर ओभरमा लम्बियो । सुपर ओभरमा इंग्ल्यान्डले विना क्षति १५ रन बनायो । जबाफमा आएको न्युजिल्यान्डले पनि सुपर ओभरमा १५ रन नै बनाए पछि इंग्ल्यान्ड धेरै बाउन्ड्रि प्रहार गरेको आधारमा विजेता बनेको हो ।

न्युजिल्यान्डले पुरा ५० ओभरमा १६ र इंग्ल्यान्डले २४ तथा सुपर ओभरमा न्युजिल्यान्डले १ र इंग्ल्यान्डले २ बाउन्ड्री प्रहार गरेको थियो ।
इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुगेको हो । २०१५ को पछिल्लो संस्करणमा टोली अस्ट्रेलियासँग पराजित भएको थियो ।(एजेन्सी)
आइतबार, असार २९, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*