प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण हाललाई असम्भव

संवाददाता
काठमाडौं । अप्रत्याशित रूपमा एपेन्डिसाइटिस फुटेर शल्यक्रिया गरेपछि त्यसको सफल उपचार भई संक्रमणबाट जोगिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गर्ने भनिएको मृगौला प्रत्यारोपण हाललाई असम्भव देखिएको छ ।

चिकित्सकका अनुसार, मृगौला प्रत्यारोपणपछि त्यसलाई बचाउनका लागि ओलीले निरन्तर रूपमा खाइरहेको ‘इमिनोसप्रेसन’ नामको औषधि हाल पूर्ण रूपमा बन्द गर्नुपरेको छ। उनमा संक्रमण फैलिएको र एपेन्डिक्स काटेर फ्याँकेको अवस्थामा थप संक्रमण हुन नदिन वा उनको ज्यान बचाउन ‘इमिनोसप्रेसन’ बन्द गर्नुपर्ने अवस्था आएको हो।

तर ओलीको जीवनको संरक्षणका लागि हाललाई उक्त औषधि रोक्दा अहिलेलाई राम्रो भए पनि विस्तारै उनको शरीरमा एन्टिबडी बढ्ने निश्चित भएको चिकित्सक बताउँछन्।

एन्टिबडी बढ्दै गएको खण्डमा त्यसलाई घटाउन पुनः प्लाज्मा फेरोसिस गर्नुपर्ने हुनसक्छ। गत भदौ पाँच गते शरीरमा एन्टिवडी बढी भएपछि त्यसलाई हटाउन ओली सिंगापुर पुगेका थिए।

त्यसलाई हटाएर आएको केही समयमै उनको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि डायलासिस गर्नुपर्ने अवस्था आएको थियो।

२५ दिनको फरकमा चार पटक डायलासिस गरिसकेका ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि गत मंसिर १० गते महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको तत्काल शल्यक्रिया गरी एपेन्डिक्स काटेर फ्याँकिएको थियो। र पेटमा फैलिएको संक्रमणको स्रोतहरु हटाउन विभिन्न औषधिहरु चिकित्सकले उनलाई दिएका छन्।

अप्रेशन लगत्तै भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई भोलिपल्ट मात्रै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो।

यता एपेन्डिसाटिसको शल्यक्रिया गर्ने क्रममा चिरिएको भाग निको हुन पनि समय लाग्ने देखिन्छ। चिकित्सक भन्छन्,‘ओलीको शरीर अन्य स्वस्थ मानिसको जस्तो छैन। पटक–पटक संक्रमण देखिएको उहाँको शरीर कमजोर छ। त्यो निको हुन पक्कै समय लाग्छ।’

अर्कोतर्फ शल्यक्रियाको क्रममा रगत चढाइएको हो भने त्यसलाई पनि संक्रमणका लागि जोखिम मानिन्छ। ओलीको शल्यक्रियाको क्रममा रगत चढाइएको हो वा होइन भन्नेबारे उनका निजी चिकित्सक र उनलाई उपचार गरिरहेको अस्पतालले औपचारिक रुपमा जानकारी गराएका छनैन्।

चिकित्सकका अनुसार, ‘अप्रेशनका बेलामा यदि ‘ब्लड ट्रान्स्फ्यूजन’ गरिएको हो भने त्यो बिरामी मृगौला प्रत्यारोपणका लागि जोखिमयुक्त मानिन्छ यद्यपि दोस्रो पटक प्रत्यारोपण आफैमा भने जोखिममुक्त मानिदैन ।’

एक साता अस्पतालमै बस्नुपर्ने

यसैबीच पछिल्लो समाचारअनुसार, प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ। तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ। त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ।’

शुक्रबार, १३ मंसिर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*