अग्रज महिला साहित्यकारबीच अनुभूति विमर्श

कला संवाददाता । काठमाडौं, १९ भदौ ।

पाको पुस्ताका महिला साहित्यकारहरूबीच पुराना कुराहरुको अनुभूति साटासाट गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आव्हान समूहको आयोजनामा शनिबार मार्टिन चौतारी थापाथलीको सभाहलमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वरिष्ठ महिला साहित्यकारहरू माया ठकुरी, जलेश्वरी श्रेष्ठ र उषा शेरचनले आफ्नो पालामा साहित्य लेखनको समयमा भोगेका विविध पक्षहरू नयाँ साहित्यकारहरूबीच एकआपसमा साटासाट गरेका थिए ।

अनुभूति साटासाट गर्ने क्रममा त्यतिबेलाको समाज, परिवेश र वातावरण अहिलेभन्दा निकै कठिन रहेको सहभागी सबैको भनाइ थियो । निकै दुःख झेलेर पनि साहित्य सिर्जना गर्नु युद्ध जितेभन्दा ठूलो उपलब्धि भएको साहित्यकार माया ठकुरीले बताइन् ।

आफ्ना अनुभूतिहरू बताउने क्रममा माया निकै भावुक देखिन्थिन् । भक्कानिएर उनले आफ्ना दुःखहरू बताइरहँदा सभाहल केही बेर सुनसान बनेको थियो ।

त्यस्तै, जलेश्वरी श्रेष्ठले पहिलेका साहित्यकारहरू त्यसमा पनि महिलाहरूलाई निकै चुनौती भएको र त्यतिबेलाको तुलनामा अहिले खासै समस्या नभए पनि पछिल्ला दिनहरूमा महिलाहरू साहित्य लेखनमा कमै मात्र लाग्न सकेकोप्रति चिन्ता व्यक्त गरिन् । आफू सानैदेखि विद्राही स्वभावको भएकाले मात्र त्यतिबेला सफल बन्न सकेको उनको अनुभव थियो ।

त्यस्तै, अर्की साहित्यकार उषा शेरचनले पनि महिला र पुरुष साहित्यकारमा भेदभाव रहेको र त्यस्तो भेदभाव अन्त्य हुनुपर्ने अनुभव व्यक्त गरिन् । ुसजिलोमा जसले पनि लेख्न सक्छ, तर असजिलोमा लेख्न सक्नु महान कुरा हो,ु शेरचनको भनाइ थियो ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले अबका नारी स्रष्टाहरूले हस्तक्षेपकारी भूमिका निभाउन जरुरी रहेको विचार व्यक्त गरिन् । कार्यक्रममा कथाकार राजेन्द्र पराजुली, पत्रकार यशोदा तिम्सिना, रामेश्वरी पन्तलगायतको उपस्थिति थियो ।

आव्हान समूहले हरेक महिना साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।

सोमबार, भदौ १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*