वीरेन्द्रनगर अब छोरीमैत्री नगरपालिका : छोरी जन्मेसँगै बैंक खाता खोलिदिने

सुर्खेत, १९ भदौ ।

वीरेन्द्रनगर नगरपालिका अब छोरीमैत्री हुने भएको छ । छोरीमैत्री नगर बनाउन नगरपालिकाले विभिन्न योजना अगाडि सारेको छ । छोरा मोहका कारण वीरेन्द्रनगरमा गर्भपरीक्षण गरी छोरी भ्रूणको गर्भपतन गर्ने क्रम बढेको छ । छोरा भए जन्माउने र छोरी भए भ्रूणमै गर्भपतन गर्नेको संख्या बढेपछि नगरपालिकाले यस्तो प्रवृत्ति रोक्न योजना ल्याएको हो ।

शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै छोरीमाथि गर्भमै विभेद भइरहेकाले अब वीरेन्द्रनगरलाई छोरीमैत्री सहरका रूपमा विकास गर्न लागेको नगरपालिकाले जनाएको छ ।

छोरामोहका कारण गर्भमै छोरी भ्रूणको गर्भपतन बढ्दो छ ।  छोरी भ्रूणको गर्भपतनले सामाजिक संरचना नै खलबलिने अवस्था आयो, वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, यसलाई रोक्न हामीले वीरेन्द्रनगरलाई छोरीमैत्री नगरका रूपमा विकास गर्दै छौं ।

छोरी भ्रूणको गर्भपतन गर्नेमाथि कारबाही हुने उनले दाबी गरे । हामी स्थानीय प्रशासनसँग मिलेर कडा अनुगमन गर्नेछौं, उनले भने, छोरी भएकै कारण अब गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले छुट पाउँदैनन् । विभेद रोक्न नगर कार्यपालिकाले प्रोत्साहन स्वरूप छोरी जन्मने बितिकै बैंक खाता खोलिदिने निर्णय गरेको छ । हालसम्म सातजनाको नाममा नगरपालिकाले बैंकमा खाता खोलिदिएको छ । – अन्नपूर्ण पोस्ट

    सोमबार, भदौ १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*