अमेरिकाको बाल्टिमोरमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

संवाददाता । काठमाडौं, २७ असोज ।

अमेरिकी राज्य मेरील्यान्डको मुख्य सहर बाल्टिमोरमा एकजना नेपाली विद्यार्थीको मृत्यु भएको । त्यसरी मृत्यु भएका विद्यार्थी २३ वर्षीय प्रसिद्ध कँडेल भएको समाचार स्रोतले जनाएको छ ।

करिब १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका उनी काठमाडौं शंखमुलका बासिन्दा थिए । उनले गत बुधबार आत्महत्या गरी प्राण त्यागेको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका गएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सिसिबिसी कलेजमा अध्ययनरत थिए ।

काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी रहेको बताइएको छ । यसपहिले पनि  पढाइको चाप र डिप्रेसनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीले आत्महत्या गर्ने गरेका घटनाहरू समय समयमा सार्वजनिक हुने गरेका छन् ।

शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*