अमेरिकामा घरेलु हिंसा र मेरो अनुभव

– मीरा बस्नेत

महिलाप्रति हुने घरेलु हिंसा नेपालजस्तो अविकसित देशमा मात्र व्यापक र चुनौतीपूर्ण नभएर अमेरिकाजस्तो विकसित देशमा पनि यो समस्या गम्भीर छ । अमेरिकाका सबै सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रहरूलाई घरेलु हिंसाले प्रभावित पारेको भए तापनि यसको प्रभाव समाजका सबै वर्गमा समान रूपले परेको देखिँदैन । विश्वका प्रायः सबै सामाजिक संरचनाहरूमा अधिकांश महिलाहरू पुरुषद्वारा हुने घरेलु हिंसाबाट पीडित हुने भएकाले यो समस्या एउटा राष्ट्र वा एउटा वर्गविशेषको समस्या नभएर विश्वकै एउटा साझा समस्या भएको छ ।

यस क्षेत्रमा काम गर्दा मैले प्राप्त गरेको अनुभवमा अमेरिकामा घरेलु हिंसा कानुनी रूपमा दण्डनीय भए पनि यस्ता किसिमका हिंसाबाट पीडित हुनेहरूको संख्या अमेरिकामा ठूलो छ । अमेरिकामा घरेलु हिंसा भन्नाले आफ्ना घनिष्ठ पार्टनरद्वारा गरिने हिंसा, आफ्ना नजिकका परिवारका सदस्यहरूबाट हुने हिंसा र अन्य नाता सम्बन्धका व्यक्तिबाट गरिने हिंसालाई बुझाउँछ । अमेरिकाको नेसनल डोमेस्टिक भायोलेन्स (हटलाइनले देखाएको तथ्यांकअनुसार, अमेरिकामा आफ्ना घनिष्ठ पार्टनर (वर्तमान वा भूतपूर्व श्रीमान वा श्रीमती, गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड) द्वारा गरिने हिंसाबाट वर्षमा एक करोड बीस लाखभन्दा बढी व्यक्ति प्रभावित हुने गर्दछन् । अमेरिकामा महिलाहरू आफ्ना नजिकका परिवार वा अरू नाता सम्बन्धका व्यक्तिको हिंसाबाट गरिने हिंसाभन्दा आफ्ना वर्तमान वा भूतपूर्व श्रीमान वा ब्वायफ्रेन्डद्वारा गरिने हिंसाबाट अधिक प्रभावित हुने गर्दछन् । संकटको समयमा आफ्नो सुरक्षा र सहयोगको खोजी गर्दै संकटकालीन फोनको प्रयोग गर्ने महिलाहरू, आश्रयहरूमा आउने पीडित माहिलाहरू र आश्रयदेखि बाहिरै बसेर व्यक्तिगत रूपमा सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा उपलब्ध गराइएका सुविधाहरूको उपयोग गर्ने महिलाहरूमध्ये आफ्ना घनिष्ठ पार्टनरहरूको हिंसाद्वारा पीडित महिलाहरूको संख्या अत्यधिक बढी हुने गर्दछ । अमेरिकाको यु.एस. जस्टिस डिपार्टमेन्टको तथ्यांकलाई हेर्ने हो भने सन् १९९४ देखि सन् २०१० सम्म आफ्ना घनिष्ठ पार्टनरद्वारा पीडित हुने संख्यामा अधिकांश महिला (करिब ५ मध्ये ४ जना) थिए ।

घरेलु हिंसा अमेरिकामा कुनै विशेष जाति, लिङ्ग, उमेर, रंग, धर्म, आर्थिक तथा शैक्षिक वर्गमा सीमित रहेको देखिँदैन । यस्ता खालका हिंसा समाजका सबै तह र वर्गमा कुनै न कुनै रूपमा रहेको छ । तर यसको प्रभाव सबै वर्गमा समान रूपले परेको भने देखिँदैन । उदाहरणको रूपमा हेर्ने हो भने सरकारी तथा गैरसरकारी संस्थाहरूबाट सुविधा लिन आउने पीडितहरूमा पुरुषको तुलानामा महिलाहरूको संख्या अत्यधिक बढी हुन्छ ।

जातीय तहमा पनि घरेलु हिंसा समान देखिँदैन । आश्रयको सुविधा लिन आउनेमा गोरा अमेरिकन महिलाहरूको तुलानामा अफ्रिकन–अमेरिकन महिलाहरूको संख्या प्रायः बढी देखिन्छ भने आप्रवासी महिलाहरूमा हिस्पानिक मूलका महिलाहरूको संख्या अत्यधिक देखिन्छ । ‘अमेरिकन एकेडेमिक अफ एक्सपर्ट इन ट्रमेटिक स्ट्रेस’को तथ्यांकअनुसार गोरा जातिका महिलाको अनुपातमा काला जातिका महिलाहरूले घरेलु हिंसाको अनुभव ३५% बढी गर्दछन् । त्यस्तै, आश्रयको कार्यक्रममा संम्मिलित महिलाहरूमा कतिपय जागिर नै नभएका हुन्छन् भने कतिपय न्यूनतम तलब पाउने पेसामा काम गरेका हुन्छन् । अर्कोतर्फ, आश्रयको सुविधा लिन आउने महिलाहरूमा डाक्टर, इन्जिनियर, प्रोफेसर वा कुनै उच्च ओहोदामा काम गर्ने अधिकारीहरू, जो पेसामा सफल छन्, को संख्या निकै नै कम देखिन्छ । यसबाट के देखिन्छ भने शैक्षिक, पेसागत र आर्थिक रूपले बलिया महिलाहरूको तुलानामा शैक्षिक, पेसागत र आर्थिक रूपले कमजोर महिलाहरूको संख्या आश्रयको कार्यक्रममा आउनेमा बढी देखिन्छ ।
अमेरिकन एकेडेमिक अफ एक्सपर्ट इन ट्रमेटिक स्ट्रेसको सूचना अनसार उच्च आय आर्जन भएका महिलाहरूले भन्दा गरिब महिलाहरूले घरेलु हिंसाको अनुभव बढी गर्दछन् । घरेलु हिंसालाई शिक्षासँग जोडेर हेर्ने हो भने शिक्षाको उच्च डिग्री हासिल गरेका र पेसामा सफल व्यक्तिदेखि लिएर औपचारिक शिक्षा मात्र हासिल गरेका पीडकहरूको हिंसाद्वारा पीडित महिलाहरू पनि यस्ता आश्रयहरूमा आउने गर्दछन् । तर शिक्षाको उच्च डिग्री हासिल गरेका र पेसामा सफल पीडकद्वारा पीडित महिलाहरूको संख्या भने कम देखिन्छ । युनिभर्सिटी अफ मिसिगनका अनुसार हिंसाबाट पीडित हुनेहरू समाजका सबै भागबाट आउने गर्दछन्, जो आफ्ना घनिष्ठ पार्टनरका पीडक हुन्, तिनीहरू कुनै पनि उमेर, लिङ्ग, जाति वा शैक्षिक तहका हुन सक्दछन् । पीडक धनी वा गरिब, जागीर खाने वा नखाने र कुनै पनि पेसामा काम गर्ने हुन सक्दछ । जब एउटा व्यक्ति शैक्षिक, पेसागत र आर्थिक रूपले सम्पन्न हुन्छ, उसप्रति हुने घरेलु हिंसाको खतरा स्वतः कम हुन्छ । कुनै विशेष परिस्थितिमा यस्ता घटनाहरूको सामना गर्नु परे पनि यो तहका व्यक्तिहरू आफ्नो सुरक्षाको व्यवस्था आफै गर्न सक्ने र कानुन तथा कानुनद्वारा उपलब्ध गराइएका साधन–स्रोतहरूको उचित रूपमा प्रयोग गर्न सक्ने हुन्छन् । यसले गर्दा पनि अमेरिकी समाजमा शैक्षिक, पेसागत र आर्थिक रूपले सम्पन्न वर्गको अनुपातमा शैक्षिक, पेसागत र आर्थिक रूपले कमजोर वर्गमा घरेलु हिंसाका घटनाहरू बढी देखिएको हुनसक्छ ।

अमेरिकन महिलाहरूलाई जस्तै आप्रवासी वा गैरआप्रवासी महिलाहरूलाई पनि अमेरिकाको घरेलु हिंसासम्बन्धी कानुनले सुरक्षा प्रधान गरेको छ । सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको सुविधाको उपयोग गर्ने यी महिलाहरूको संख्या पनि अमेरिकामा ठूलो छ । तर यस्ता सुविधाहरू लिन आउने अमेरिकन महिलाहरूभन्दा आप्रवासी महिलाहरूले अरू छुट्टै प्रकारका कठिनाइको सामना गर्नुपरेको देखिन्छ । यी कठिनाइमध्ये एउटा भाषागत समस्या हो भने अर्को अमेरिकाको आप्रवासन (इमिग्रेसन) सम्बन्धी कानुनलाई माध्यम बनाएर पीडकहरूले आप्रवासी पीडित महिलाहरूमाथि आफ्नो शक्ति र नियन्त्रण कायम राख्नु हो ।

आप्रवासी महिलाहरूमध्ये धेरै महिला भाषागत समस्याका कारण इमिग्रेसनसम्बन्धी नियम कानुन, आप्रवासीहरू लागि बनेका घरेलु हिंसासम्बधी कानुन र उपलब्ध साधन–स्रोतहरूको जानाकारी नभएको कारण पीडकका विरुद्ध कानुनी कारबाही गर्न डराउने गर्दछन् । त्यस्तै, आश्रयहरूको सुविधा लिन आउने धेरै आप्रवासी महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएको, सामाजिक तथा पारिवारिक संस्कारले बढी बाँधिएको, आफ्ना परिवार र नाता–सम्बन्धबाट टाढा रहेको र आप्रवासी महिलाहरूका लागि सेवा उपलब्ध गराउने पर्याप्त आश्रयहरूको व्यवस्था नभएको कारणले पनि अमेरिकन मूलका महिलाभन्दा आप्रवासी महिलाहरू आफ्ना घनिष्ठ पार्टनरबाट हुने घरेलु हिंसाबाट बढी पीडित हुने गर्दछन् ।

यस्ता भाषागत समस्याहरूबाहेक अमेरिकन मूलका महिलाभन्दा आप्रवासी महिलाहरूले भोग्ने छुट्टै अर्को समस्या भनेको पीडकले उनीहरूमाथि आफ्नो शक्ति र नियन्त्रण कायम राख्न अपनाउने तरिकाहरू हुन्, जुन अझ गम्भीर र भयावह छन् । पीडकले अपनाउने यस्ता तरिकाहरूमा यदि आफूले गरेको हिंसाविरुद्ध कुनै कानुनी कारबाही गरेमा अमेरिकाबाट जबर्जस्ती आफ्नो देशमा फर्काइदिने, इमिग्रेसनको कानुनी प्रक्रियाबाट पीडितको नाम हटाई दिने, पीडितले पाएको इमिग्रेसनको सुविधाबाट वन्चित गराइदिने र छोराछोरीहरूबाट अलग बनाइदिने जस्ता धम्कीहरू हुन् ।

इमिग्रेसनको विषयलाई लिएर दिइने धम्कीबाहेक आफ्ना परिवार, नाता सम्बन्ध र साथीहरूको सम्पर्कबाट पीडितलाई सम्पूर्ण रूपमा अलग राख्नु पीडकको पीडित महिलामाथि नियन्त्रण कायम गर्ने अर्को बलियो तरिका हो । यसरी आप्रवासी महिलाहरू दोहोरो रूपमा पीडित हुने भएकाले अमेरिकन मूलका पीडित महिलाहरूको अनुपातमा पीडित आप्रवासी महिलाहरूको मनोबलमा बढी ह्रास आउने गर्दछ ।

फ्युचर्स विदआउट भायोलेन्सका अनुसार आप्रवासनसम्बन्धी कानुन, भाषागत समस्या, सामाजिक रूपबाट हुने एक्लोपन, र आर्थिक स्रोतहरूको अभावका कारण आप्रवासी महिलाहरू हिंसायुक्त सम्बन्धको जालोमा परेको अनुभव गर्दछन् । तर पनि धेरै पीडित आप्रवासी महिलाहरू घरेलु हिंसासम्बन्धी आप्रवासन कानुनको र उपलब्ध साधन स्रोतको प्रयोग गरी यस्ता किसिमका हिंसाबाट आफूलाई सुरक्षित बनाउन सफल भएका छन् ।

घरेलु हिंसा नेपाल, भारतलगायत विश्वका अन्य देशहरूमा जस्तै अमेरिकामा पनि यो समस्या गम्भीर र चुनौतीपूर्ण छ । तर अमेरिकामा फरक के छ भने यहाँ कानुनले घरेलु हिंसाविरुद्ध जे जस्ता व्यवस्था गरेको छ, त्यसको सम्मान, सुरक्षा र कार्यान्वयन यस व्यवस्थासँग सम्बन्धित सबै तहका सरकारी तथा गैरसरकारी निकायहरूले गम्भीरता, इमान्दारिता र जिम्मेवारीपूर्ण रूपमा पालना गर्दछन् ।

नेपालमा मानव अधिकारको अभ्यास सम्बन्धमा युनाइटेड स्टेट अफ स्टेट र ब्युरो अफ डेमोक्रेसी, ह्युमन राइट एन्ड लेबरले सन् २०१३ मा प्रकाशित गरेको सूचना अनुसार, नेपालमा घरेलु हिंसासम्बन्धी कानुन सन् २००९ मा पारित भए पनि सुरक्षा अधिकृतहरू र नेपाली नागरीकहरू यस कानुनका बारेमा अनभिज्ञ हुनुका साथै यसको सफल कार्यान्वयनका लागि सरकारले गरेको आवश्यक व्यवस्थाको प्रयास समन्वयात्मक र पूर्ण थिएन । तर घरेलु हिंसाको एउटा पीडित व्यक्तिलाई संरक्षण र सशक्तीकरण गर्न त्यस देशको सरकार, कानुनी व्यवस्था, पुलिस प्रशासन, सरकारी र गैरसरकारी निकायहरूबीचको समन्वय, सहकार्य, गम्भीरता र पूर्ण इमान्दारिताका साथै आवश्यक साधन–स्रोत र प्रशिक्षणको उचित व्यवस्था अनिवार्य हुन्छ ।

(लेखिका बस्नेत गुल्मीमा जन्मेकी हुन् र हाल अमेरिकाको कनेक्टिकटमा बसोबास गर्छिन् । उनी त्यहाँ महिला हिंसाविरुद्ध सक्रिय गैरसरकारी संस्था ‘बी एच केयर’मा ‘डोमेस्टिक भायोलेन्स एडभोकेट’ का रूपमा कार्यरत छन् ।)

(स्रोत : अस्मिता हाम्रो, जेठ-असार अंक , २०७२)

जेठ २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*