स्वास्थ्यको परिभाषा र महिला–स्वास्थ्य

– डा. सरोज धिताल
स्वास्थ्यलाई विशुद्ध जीवविज्ञान र चिकित्साशास्त्रको चश्माले मात्र हेर्ने कि यसलाई मूलतः सामाजिक परिप्रेक्ष्यमा बुझ्ने भन्ने विवाद निकै पुरानो हो । दशकौंदेखि चलिरहेको यो विवादको अझै पनि अन्त्य भइसकेको छैन तर सामान्यतया यसबारे त्यति चर्चा भएको भने सुनिँदैन ।

पूर्णतया जीवविज्ञान तथा चिकित्साशास्त्रको घेराभित्रबाट यान्त्रिक ढंगले ‘स्वास्थ्य’ लाई बुझ्दा जनस्वास्थ्यका गतिविधि, स्वास्थ्यनीति–निर्धारण, नागरिकका स्वास्थ्य अधिकारदेखि लिएर सेवाप्रदायकका उत्तरदायित्वसम्म सबै नै एउटा निश्चित ढाँचामा क्रियाशील भइरहेका हुन्छन् । त्यही ‘स्वास्थ्य’ लाई बृहत्तर सामाजिक परिप्रेक्ष्यमा गत्यात्मकताका साथ हेर्दा अर्कै किसिमको प्रभाव पर्न पुग्छ । महिला–स्वास्थ्यबारेको बुझाइ र महिला–स्वास्थ्यमा राज्य, सेवाप्रदायक तथा समाजले लिने रवैया पनि प्रत्यक्ष वा परोक्ष रूपमा यी दुईमध्ये कुनै न कुनै दृष्टिकोणबाट प्रभावित भइरहेका हुन्छन् ।

तर स्वास्थ्यको परिभाषाका कुरा गर्दा कतिपय मानिस यसलाई अनावश्यक ‘बुद्धिविलास’का रूपमा लिइदिन्छन् । ‘यस्ता सैद्धान्तिक गफले कुन चाहिँ समस्या पो हल हुन्छ र ?’ भन्ने मानिसहरूको कमी छैन हामीकहाँ । जतिसुकै ‘निरस सैद्धान्तिक बहस’ वा ‘बुद्धिविलास’को कुरा जस्तो लागे तापनि जनस्वास्थ्यमा चासो राख्ने सबैखाले सामाजिक अभियन्ताले ‘स्वास्थ्य’को परिभाषाबारे गम्भीर चासो लिनु आवश्यक छ ।

‘स्वास्थ्य भनेको के ?’ भन्ने प्रश्न गर्दा हामीमध्ये धेरैजसोको मनमा आउने चित्रहरूमा कि त कुनै बलियो मांसपेशी भएको पुरुष शरीर होला कि बच्चालाई स्तनपान गराइरहेकी आमा, कि रेडक्रसको गलत चिन्ह भएको अस्पतालको चित्र होला कि सेतो पोसाकमा रहेका स्वास्थ्यकर्मीको । कुनै विज्ञापन वा किताबमा देखिने औषधि वा सिरिन्ज जस्ता उपकरणको चित्र पनि मनमा आउन सक्छ ‘स्वास्थ्य’ बारे गम्दा मानिसको स्वास्थ्यसँग कुनै न कुनै रूपमा यी चित्रहरू जोडिनु अस्वाभाविक नभए तापनि ‘स्वास्थ्य’लाई यी चित्रहरूले जनाउनेभन्दा धेरै फराकिलो र गहिरो ढंगले बुझ्नु आवश्यक छ ।

सुस्वास्थ्य र खुसी मानिसको जीवनका सर्वाधिक महत्वपूर्ण आयामहरू हुन् । (यी दुईभन्दा महत्वपूर्ण कुनै चीज छ जीवनमा भने त्यो ‘आनन्द’ मात्र हुन सक्छ तर त्यो त सापेक्षिक सत्यमा हैन, शाश्वत सत्यमा खोज्नु पर्ने कुरा हो !) मानिसले गरेका हरेक कर्महरू, उसले भन्ने गरेको ‘विकास’ र ‘प्रगति’का कोसेढुंगाहरू मानिसको सुस्वास्थ्य र खुसीका रूपमा अनुदित नभए सार्थक ठहरिँदैनन् । त्यसैले, मानव शरीरलाई एउटा जटिल यन्त्रका रूपमा मात्र हेर्ने, बिरामीलाई बिग्रेको मेसिनका रूपमा मात्र लिने, र स्वास्थ्यकर्मीलाई फगत बिग्रेको मेसिनलाई ठोकठाक गरेर मरम्मत गर्ने मेकानिक जस्तो मात्र ठानिदिँदा स्वास्थ्यका बारेमा कहिल्यै सम्यक सोच विकास हुन सक्दैन र हुनुपर्ने जस्तो स्वास्थ्यसेवा प्राप्त हुन सक्दैन । यसो गर्दा स्वास्थ्यसेवा केवल टालटुले, प्रचारात्मक, अपूर्ण, आंशिक र कर्मकाण्डीय व्यवहार मात्र हुन पुग्छ ।

बितेका केही दशकहरूमा स्वास्थ्यका बारेमा क्रमशः जनचेतना बढ्दै गए तापनि, राज्य र अन्य सरोकारवालाहरूको उत्तरदायित्वका बारे बहस हुन थाले पनि, अझै पनि विभिन्न गलत धारणाले प्रशस्त ठाउँ पाउने गरेका छन् । महिला–स्वास्थ्यका बारेमा यस्ता गलत धारणा अन्धविश्वास, पितृसत्तात्मकता, सामन्तवादका अवशेषहरू आदिका कारण हुन्छन् । तर, बुझाइकै हिसाबले भन्ने हो भने अग्रगामी चिन्तन राख्ने बुद्धिजीविहरू र सामाजिक अभियन्ताहरूमै पनि केही अस्पष्टता देखिन्छ । नारी–शरीरको विशिष्टतामा यथेष्ट ध्यान नपुग्नुले मात्र हैन, त्यही विशिष्टताको साँघुरो सीमाभित्र मात्रै रहेर सोच्नुले पनि यस्तो अस्पष्टता जन्माउँछ । अनि ‘स्वास्थ्य’कै परिभाषाका बारेमा साँघुरो बुझाइ हुनु यो अस्पष्टताको अर्को महत्वपूर्ण कारण हो ।

शारीरिक विशिष्टताले निश्चय नै महिलाको स्वास्थ्यलाई पुरुषको भन्दा फरक आयाम प्रदान गरिरहेको हुन्छ । यो विशिष्टतालाई बेवास्ता गर्ने हो भने महिलाका स्वास्थ्य सम्बन्धी मुद्दाहरूलाई राम्रोसँग बुझ्न सकिन्न । तर त्यो वैशिष्ट्य प्रजनन स्वास्थ्यमा मात्रै सीमित भने छैन । प्रजनन स्वास्थ्य मात्रैलाई महिलाको स्वास्थ्य भनेर बुझिदिँदा अर्काे ठूलो गल्ती हुन्छ, भइरहेको छ । स्वास्थ्यसँग सम्बन्धित महिलाका अधिकांश आवश्यकता त पुरुषका जस्तै नै हुन्छन् । तर शताब्दियौंदेखिको पुरुषप्रभुत्व तथा अनेक अन्धविश्वासका कारण महिलाका यावत् स्वास्थ्य समस्या सम्बोधित हुन पाइरहेका हुँदैनन् र ओझेलमा पर्छन्, परिरहेका छन् । प्रजनन स्वास्थ्यसँग जोडिएर आउने अनेक समस्याहरू महत्वपूर्ण भए तापनि त्यो महिलाको सिङ्गो स्वास्थ्य समस्याको एउटा सानो अंश मात्रै हो । तर पुरुषप्रभुत्वमा आधारित सामाजिक आर्थिक सम्बन्धहरूका कारण अन्य समस्या प्रायः सम्बोधित नै नहुने स्थिति हुन्छ । प्रजनन स्वास्थ्यमा भने तिनै सामाजिक, परम्परागत तथा आर्थिक कारणले अनावश्यक जटिलताहरू थपिदिएका हुन्छन् र बिनसित्ती भयावह तथा ज्यानमारा स्थिति सृजना भइरहेको हुन्छ । फलस्वरूप महिलाको स्वास्थ्य समस्याको केन्द्रमा प्रजनन स्वास्थ्य नै आँखै बिझाउने गरी बढी देखिन पुग्छ ।

उदाहरणका रूपमा अचेल निकै चर्चामा रहने गरेको ‘आङ खस्ने’ (जेनाइटल प्रोल्याप्स) समस्यालाई लिन सकिन्छ । गरिब देशका गरिब महिलाका बीचमा ‘आङ खस्ने’ समस्या साँच्चैको ठूलो समस्या हो । जसलाई परेको छ, उनीहरूले मात्र यसको पीडालाई साँच्चै बुझ्न सकेका हुन्छन् । अरूले आत्मसात् गर्न असम्भव हुन्छ । यो समस्याले करिब दुई दशकयता भने जनस्वास्थ्यकै महत्वपूर्ण चुनौतीका रूपमा मान्यता पाउन थालेको छ । यो राम्रो कुरा हो । ठूलो प्रगति हो । तर समाधानका उपायसँगै भित्रिएका भ्रष्टाचार लगायतका मनपरि एकातिर छन् भने अर्कातिर अत्यन्त यान्त्रिक हिसाबले त्यो समस्यालाई हेरिँदा वाञ्छित उपलब्धि हासिल हुन सकेको छैन । उल्टै समाधानसँगै जोडिएर अन्य गम्भीर समस्याहरू देखा परिरहेका छन् । विशुद्ध जीवविज्ञान वा चिकित्साशास्त्रका आँखाले मात्र हेर्ने हो भने ‘आङ खस्ने’ समस्या एउटा महिला शरीररूपी मेसिनको समस्या मात्र देखिन्छ । मेकानिकले मेसिनको मरम्मत गरेझैं स्त्रीरोग विशेषज्ञले त्यसको शल्यक्रिया गरेपछि काम सकियो ! त्यही यान्त्रिक कर्म गर्नका निम्ति राज्यले शिविरहरू सञ्चालन गरिदिए पुग्यो ! यसरी हेर्ने हो भने जे भइरहेको छ, ‘ठीकै त भइरहेको छ नि’ जस्तो देखिन्छ । तर सामाजिक परिप्रेक्ष्यमा समेत ‘आङ खस्ने’ समस्यालाई हेर्ने हो भने शल्यक्रियाले मात्रै पुग्दैन । बिरामी महिला एकजनाकै बारेमा मात्रै सोचेर पनि पुग्दैन । राज्यले शल्यक्रियाका शिविरहरू सञ्चालन गरेर मात्रै पनि पुग्दैन । ती बिरामीको आफ्नै अन्य स्वास्थ्य समस्या पनि हुन सक्छन् । घरमा सात–आठजना बच्चा हुन सक्छन् । उनका श्रीमान्को बडेमानको हर्निया हुन सक्छ दुवैतिर काछमा । भारी बोक्नु त के कुरा, खोक्दा–कन्दा–उठ्दा–बस्दासम्म पनि उनलाई गाह्रो हुन सक्छ । यस्तो परिस्थितिमा ती आङ झरेकी महिलाको अपरेसन मात्र गरेर उनको स्वास्थ्य समस्या समाधान होला कि नहोला ? यसरी सामाजिक धरातलमा समेत टेकेर हेर्दा राज्यको जिम्मेवारी स्वतः थपिन्छ र यो थपिएको जिम्मेवारी समेत पूरा गर्छु भनेर राज्य लाग्ने हो भने ऊ सामाजिक न्यायप्रति पूर्णरूपेण समर्पित हुनुपर्ने हुन्छ । राज्य आफै नै प्रत्यक्ष वा परोक्ष रूपमा स्वतन्त्र बजार अर्थतन्त्रसँग पनि जुझ्नु पर्ने हुन्छ । यो भनेको स्वास्थ्यसेवामा आमूल परिवर्तन मात्रै हैन, ठूलै क्रान्ति हुन पुग्छ !

यत्तिको राजनीतिक खतरा मोल्न सामान्यतया राज्य तयार हुँदैन तर राज्यले यो खतरा नमोली, सामाजिक न्यायप्रति प्रतिबद्ध नभई एउटा साँच्चैको लोकतान्त्रिक गणतन्त्रमा हुनुपर्ने जस्तो स्वास्थ्य प्रणाली कहिल्यै स्थापित हुन सक्दैन ।

प्रजनन स्वास्थ्यकै दायराभित्र पर्ने अरू कुनै पनि उदाहरणलाई केलाएर हेरौं– चाहे फिस्टुलाको होस्, वा उर्ध्वगामी संक्रमण (एसेन्डिङ इन्फेक्सन)को, प्रसवजन्य जटिलताको होस् वा जन्मजात व्याधिहरूको, किशोरीहरूको गर्भाधानको होस् वा यौनजन्य संक्रमणहरूको, जताततै के स्पष्ट देखिन्छ भने स्वास्थ्यका बारेमा यान्त्रिक ढाँचाको सोंचाइले महिला स्वास्थ्यका यावत् मुद्दालाई सम्बोधन गर्नै सक्दैन ।

प्रचलनमा रहेका स्वास्थ्यका परिभाषाहरूको यो साँघुरो, यान्त्रिक सोचाईसँग के सम्बन्ध छ त ?

विभिन्न विद्वान र संघ–संस्थाहरूले आ–आफ्नै किसिमले मानवस्वास्थ्यको परिभाषा गरेका छन् । तीमध्ये अत्यधिक प्रयोगमा रहेको एउटा हो– विश्व स्वास्थ्य संगठनको परिभाषा जसले स्वास्थ्यलाई एउटा ‘स्थिति’ का रूपमा हेर्छ । एउटा यस्तो स्थिति जसमा रोग व्याधिको अनुपस्थिति हुने मात्र हैन, ‘पूर्ण तन्दुरुस्ती’ रहन्छ । र, यो ‘पूर्ण तन्दुरुस्ती’ ले मानिसलाई सामाजिक, आर्थिक, मनोवैज्ञानिक हरेक हिसाबले क्रियाशील र उत्पादक बन्न सघाउँछ ।
झट्ट सुन्दा ठीकै लाग्छ यो परिभाषा तर यसले दुईवटा ठूल्ठूला प्रश्न जन्माएको छ । एक, ‘पूर्णता’लाई कसरी बुझ्ने ? दुई, स्वास्थ्यलाई कुनै स्थिर ‘स्थिति’का रूपमा हेर्ने कि गत्यात्मकतामा हेर्ने ?

‘स्वस्थ हुनु भनेको पूर्णरूपेण तन्दुरुस्त हुनु हो’ भन्ने कुरा मान्ने हो भने यो संसारमा यस्तो स्वस्थ मानिस पाउन मुश्किल हुन्छ । जन्मजात वा जन्मोपरान्त प्राप्त शारीरिक वा मानसिक समस्या कुनै न कुनै रूपमा अधिकांश मानिसले भोगिरहेकै हुन्छन् । ‘पूर्ण स्वस्थ’ मानिसको युटोपियन परिकल्पनाको कुनै अर्थ रहँदैन । विश्व स्वास्थ्य संगठन आफैले निर्धारण गर्ने गरेका लक्ष्यहरू पनि यथार्थमा ‘पूर्ण स्वस्थता’ प्राप्त गर्न उन्मुख हुँदैनन् । यो वा त्यो सूचकलाई सपार्ने सम्मका लक्ष्यहरू मात्रै निर्धारण हुने गर्छन् । र, ती लक्ष्यहरू खास–खास स्वास्थ्य स्थितिको मापनमा आधारित हुन्छन् ( तौल, उचाई, रक्तचाप, नाडीको गति, तापक्रम, प्रयोगशालाका रिपोर्टहरू, आदि इत्यादि । यस्ता सूचकहरू स्वस्थताको मापन गर्न व्यवहारिक किसिमले कामचलाउ प्रकृतिको हुन मात्र सम्भव छ । तिनका आधारमा मात्र हेर्दा स्वास्थ्य भनेको ‘स्थिरता’मा हेरिने कृत्रिम ‘स्थिति’ मात्र देखिन्छ । यो तथ्य आफैमा ‘पूर्णता’को अवधारणासँग स्पष्टतया विरोधाभासमा छ ।

मानव स्वास्थ्यलाई अर्को किसिमले पनि हेर्न सम्भव छ । हरेक मानिसभित्र आफ्नै भित्री संसार छ । तर ऊ आफै भने बाहिरी संसारमा अवस्थित छ । त्यो बाह्यसंसारसँग उसको आन्तरिक संसार निरन्तर गत्यात्मक (डाइनामिक) अन्तरसम्बन्धमा रहेको छ । लयात्मकता (हार्मोनी) र उपलब्धिमूलकताका साथ खुसी हुन सक्ने गरी यो गत्यात्मक अन्तरसम्बन्धमा रहने क्षमतालाई नै स्वास्थ्य मान्ने हो भने नितान्त फरक चित्र देखा पर्छ । ‘पूर्ण स्वस्थ’ वा ‘अस्वस्थ’ भन्ने भन्दा पनि ‘कति स्वस्थ’ भन्न मिल्ने हुन्छ । निश्चित जीवशास्त्रीय मापका आधारमा कसैलाई स्वस्थ वा अस्वस्थ भनेर ‘ट्याग गर्ने’ भन्दा पनि जो कसैलाई, आ–आफ्नो शरीरको जस्तोसुकै विशिष्ट स्थितिका बावजुद ‘बाह्य संसारसँग लयात्मक, उपलब्धिमूलक र गत्यात्मक सम्बन्ध राख्ने क्षमता’ विकास गर्न लिइने सबै उपायहरू स्वास्थ्यसेवाको दायराभित्र आउँछन् । यसो गर्दा नागरिकको स्वास्थ्य अधिकारको दायरा पनि फराकिलो हुन पुग्छ । अपांगता भएका मानिसहरूको मात्र हैन विभिन्न असाध्य रोगसँग जीवनको अन्तिम घडीमा जुझिरहेका मानिसहरूको समेत ‘स्वास्थ्य अधिकार’ को सवाल महत्वपूर्ण हुन पुग्छ ।

फेरि पनि ‘आङ खस्ने’ समस्यालाई नै उदाहरणका रूपमा लिएर यो आलोकमा हेर्ने हो भने नितान्त फरक चित्र देखा पर्छ । ‘आङ खसेकी’ महिला एउटा ‘बिग्रेको मेसिन’ हैन, बाह्य संसारसँग लयात्मक र उपलब्धिमूलक सम्बन्ध स्थापना गर्न यत्न गरिरहेकी जोधाहा मानिसको रूपमा देखा पर्छिन् । स्वास्थ्यकर्मीहरू ‘बिग्रेको मेसिन मरम्मत गर्ने’ ‘मेकानिक’ मात्र नरहेर, उनको त्यो लडाईंमा सहयोद्धाका रूपमा देखिनुपर्ने हुन्छ । राज्यको भूमिका हिस्टेरेक्टोमीका शिविरहरू सञ्चालन मात्रै गर्नुमा सीमित नरहेर सामाजिक, आर्थिक लगायत नागरिक स्वास्थ्यका सबै आयाममा आफ्नो जिम्मेवारी निर्वाह गर्ने गरी फराकिलो हुन पुग्छ ।

यसरी, ‘स्वास्थ्य’लाई पूर्णतया जीवविज्ञान र चिकित्साशास्त्रको सीमाभित्र कुनै स्थिर मापका आधारमा मापन हुने ‘स्थिति’का रूपमा हैन, सामाजिक परिप्रेक्ष्यमा, मानिसको आन्तरिक र बाह्यसंसारको गत्यात्मक सम्बन्धका आधारमा लयात्मक, उपलब्धिमूलक, मोदोन्मुख (खुसी–उन्मुख) जीवन यापन गर्ने क्षमताका रूपमा लिँदा मात्र महिला–स्वास्थ्यका यावत् मुद्दाहरूलाई सम्बोधन गर्न सम्भव हुन्छ ।

(स्रोत– ‘अस्मिता हाम्रो’ माघ–फागुन अंक, २०७१)

जेठ २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*