आज संसदको अन्तिम बैठक बस्दै, राति १२ बजेदेखि अवधि सकिने

व्यवस्थापिका संसदको अन्तिम दिन शनिबार संसद भवनमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, २८ असोज ।

संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्दैछ ।

संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो ।

विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसदमा रूपान्तरित भएको हो ।

संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुपर्यो । संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि ‘राष्ट्रिय सभा सम्बन्धी विधेयक’ जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन ।

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद कायम रहने प्रावधान उल्लेख छ । रासस

शनिबार, असोज २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*