आत्महत्या प्रयासपछिको आत्मकथा

डिप्रेसन अर्थात् ‘काल्पनिक रोग ले पीडित युवतीको मौन गाथा

आत्महत्या प्रयासपछिको आत्मकथा

Aruna Upreti

– डा.अरुणा उप्रेती  

केही महिनाअघि तीन वर्षीया शर्मिला मानन्धरलाई लगातार वान्ता भइरहने, टाउको दुखिरहने र खानै मन नलाग्ने मात्र भइरह्यो । उनको परिवारले उनलाई काठमाडौंका निजी अस्पतालहरूमा पुर्याए । वान्ता हुँदा–हुँदा शरीर असक्त भएकाले उनलाई केही दिनसम्म नसाबाट पानी दिइयो । सबै जाँच गराउँदा पनि उनको शरीरमा कुनै मानसिक वा अन्य समस्या देखिएन ।

डाक्टरहरूले उनलाई ‘केही मानसिक समस्या वा तनाव भएर यस्तो भएको हो कि’भनेर घरका सदस्यहरूसँग सोधे । तर, घरका सदस्यहरू ‘केही पनि समस्या छैन । तपाईंहरू रोग पत्ता लगाउन सक्नुहुन्न । अनि तनाव, मानसिक रोग भनेर भन्नुहुन्छ’भनेर रिसाए । राजधानीका अस्पतालबाट घर फर्काएपछि शर्मिलालाई दिल्लीको अस्पताल लगियो । त्यहाँ पनि सबै जाँच गरेपछि डाक्टरले उनलाई ‘मानसिक रोग विशेषज्ञलाई देखाउन’भनेपछि मात्र परिवारका सदस्यहरूको आँखा खुल्यो । अहिले शर्मिलालाई मानसिक रोगविज्ञले परामर्श, औषधि आदि दिएर समस्या धेरै कम भएको छ ।

शर्मिला त एक उदाहरण मात्र हुन् । विभिन्न शारीरिक समस्या हँुदा मानसिक समस्या वा रोगले पनि त्यसरी शारीरिक समस्या उत्पन्न गराउन सक्छ  भनेर प्रायः विश्वास गरिँदैन ।

यस्तै समस्या भोगेकी एकजना महिला हुन्– गायत्री रामप्रसाद । भारतीय मूलकी यी अमेरिकी महिलाले आफ्नो किशोरावस्थादेखि भोग्नुपरेको शारीरिक अस्वस्थताको समस्या धेरै उपचार गर्दा पनि निको नभएपछि आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । अनि त्यसपछि मात्र पो डाक्टरको सल्लाहबमोजिम परिवारका मानिसले ‘यो त मानसिक रोग रहेछ’भनेर उपचार गराए । त्यसपछि मात्र उनको जीवनमा उज्यालो छायो ।

आफ्नो जीवनको यही दुःखद घटनालाई लिएर उनले एक किताब लेखेकी छन्, ‘सूर्यमा छाया

‘मेरो रोग उपचार गराएपछि मात्र ठिक भएको हो । लुकेर बसेको यस्तो समस्याले कतिपय किशोरी, युवती, महिला आदिलाई पीडित बनाइरहेको हुन सक्छ तर यो मानसिक समस्या हो वा मानसिक रोग हो भनेर बुझन नसक्दा जीवन गहु्रंगो हुन जान्छ,’ गायत्री रामदासले आफ्नो किताबका बारेमा भनेकी छन्, ‘मैले त  उपचार पाएँ र निको भएँ तर कतिपय  महिलालाई त्यस्तो समस्या पर्दा शारीरिक रूपमा कुनै रोग नदेखिने हुनाले उपचार एवं परामर्शको खाँचो कसैले देखाउँदैन । कति महिलाहरू यस्तो अति पीडा भोगेर बस्छन् भने कतिजना त मनको रोग (डिप्रेसन) सहन नसकेर आत्महत्या पनि गर्छन् ।’

यस किताबमा कुनै महिलालाई मानसिक रोग हुँदा र उपचार नगरिँदा वा उपचार बीचैमा छोडिँदा जीवन नै खतरामा पर्ने अवस्था आउन सक्छ भनेर बडो प्रशंसनीय ढगंले वर्णन गरिएको छ । यो किताब पढिसकेपछि मलाई लाग्यो– महिलालाई हुने डिप्रेसनका बारेमा सकेसम्म धेरै व्यक्तिलाई जानकरी दिन जरुरी छ । साथै, यो किताब पढिसकेपछि यसका बारेमा लेखियो भने यसबाट धेरै व्यक्तिलाई फाइदा पुग्छ भन्ने पनि विचार मनमा आयो ।

‘सूर्यमा छाया’ नामक आफ्नो किताबमा गायत्रीले आफ्नै जीवनको एउटा अँध्यारो पक्ष उजागर गरेकी छन् । उनी किशोरावस्थादेखि नै एक किसिमको अस्वस्थताले पीडित हुँदै हुर्किइन् । यथासमय उनको विवाह भयो । अनि छोराछोरी भइसकेपछि मात्र पो उनको जीवनको ‘अँध्यारो पक्ष’त मानसिक समस्या (डिप्रेसन) रहेछ भन्ने थाहा भयो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो जहाँ मनोपरामर्शका साथै अन्य औषधीजन्य उपचार भयो । अनि त उनलाई आफ्नो जीवन पनि उज्यालो भए जस्तै लाग्न थाल्यो ।

अज्ञात समस्याले लामो समयसम्म पीडित भइरहँदा समेत यो मानसिक समस्या पनि हुन सक्छ भन्ने किसिमबाट कहिल्यै विचार नगरेको, यो रोग हो र यसको उपचार हुन सक्छ भनेर पनि कसैले ध्यान नदिएको र त्यसैले गर्दा गायत्री र उनका श्रीमानले अनावश्यक समस्या झेल्नुपरेको तथ्यलाई उनले यस किताबमा दर्शाएकी छन् ।

किताबमा उनले जीवनदेखि निराश भएर आफैले आत्महत्या समेत गर्न लागेको तर उनी आमा बनेपछि भने परिवारले अस्पताल भर्ना गरेर मानसिक उपचार गराएको अवस्था वर्णन गरेकी छन् । लामो समय मानसिक रोग भएर अव्यक्त वेदना हुँदा र कसैलाई देखाउन नसक्दा कति गाह्रो हुँदो रहेछ भन्ने पनि उनले यसमा दर्शाएकी छन् ।

दक्षिण भारतीय सहर बंगलोरमा हुर्केकी गायत्री किशोर अवस्थामा पढाइमा तेज र बुद्धिमान किशोरी थिइन् । उनको परिवारमा उनका दाजु रवि, आफू र एक बहिनी थिए । उच्च शिक्षा हासिल गर्न उनलाई राम्रै स्कुलमा भर्ना पनि गरिएको थियो । उनी लेख्छिन्, ‘सायद किशोर अवस्थामा नै मलाई रोगको सुरुआत भइसकेको थियो तर मैले कसैलाई भन्न सकिन । मेरो मनमा सधैं उदासीपन  छाइरहन्थ्यो । बाहिरबाट देख्दा म हाँसेको जस्तो देखिन्थेँ । सबै काम गर्थेँ । एकपटक म ११ कक्षाको जाँचमा फेल भएँ । त्योबेला मेरो हालत नराम्ररी बिग्रियो । फेल भए पनि अर्को वर्ष जाँच दिएपछि पास भइहालिन्छ भन्ने कुरा मलाई थाहा थियो । मेरा आमाबुबाले पनि मलाई सम्झाइबुझाइ गरेका थिए तर म आफूलाई फेल भएपछि त जीवन नै डुबे जस्तो लाग्यो । मैले खान पनि छोडेँ, निद्रा पनि लाग्न छोड्यो । एकचोटी त खाना खान टेबलमा बसेको बेलामा मुखमा गाँस हाल्न नपाउँदै बेसरी बान्ता भयो । बाथरुममा पसेर म बेसरी रोएँ । आमा आएर ‘फेल भएकोमा त्यस्तो चिन्ता गर्नु पर्दैन’ भनेर सम्झाउनुभयो तर मेरो बुबा चाहिँ ‘त्यति फेल हुँदा पनि कति ठूलो प्रतिक्रिया देखाएको, कति स्वाङ पारेको’भन्दै रिसाउनुभयो । त्यसपछि त मलाई झन् झन् रुन मन लाग्यो । मेरो बुबाका एकजना डाक्टर साथीले मलाई जाँच गरीवरी ‘पेट खराबी भएको हो, आराम गरेपछि ठिक हुन्छ, अलिअलि गर्दै खानुपर्छ’भनेर मलाई सलाह दिनुभयो । डाक्टरको कुरा सुनेर आमाबुबा त मलाई केही भएको छैन भनेर खुसी हुनुभयो तर मेरो मनको बेदना त जस्ताको तस्तै थियो ।’

यसरी गायत्रीले आफू किशोर अवस्थादेखि नै डिप्रेसनको सिकार भएको वर्णन गरेकी छन् । बीचबीचमा आफै ठिक हुने र आफू आफ्नो पढाइ अनि काममा सामान्य ढंगले नै लाग्ने गरेको पनि उनी बताउँछिन । फेरि बीचबिचमा मनमा अशान्ति हुने, रुन मन लाग्ने आदि भइरहने भयो । यसरी समस्या बेलाबेलामा आफै ठीक हुने हुँदा कसैले पनि यसलाई रोग भन्नै सकेनन् । गायत्री २१ वर्ष पुगेपछि उनको बुबाको सरुवा अफ्रिकामा भएको र आमाले गायत्रीको विवाह गरिदिन वर खोजेको तर गायत्रीचाहिँ आफूलाई रोग लागेको कुरा कसरी भन्ने होला भन्ने द्विविधामा रहेको उनले उल्लेख गरेकी छन् । विवाहका दिनमा पनि गायत्रीलाई अति गाह्रो भएको थियो । बारम्बार बान्ता भइरहे पनि रुवाइ र बान्ता सायद थकाइले होला भन्ने सबैलाई लागेको थियो तर विवाहपछि पनि जब केही दिनका लागि माइत आउँदा पनि वान्ता आउने डर लाग्ने भइरह्यो ।

उनी अगाडि लेख्छिन्, ‘आमाबुबालाई ‘चिन्ताले नै यस्तो भएको हो, पछि सबै ठिक हुन्छ’भनिरहेँ किनभने उहाँहरूलाई पनि यो समस्या मानसिक रोग हो भन्ने कुनै हेक्का भएन ।’

गायत्रीले आफ्नो अवस्थाबारे लेखेकी छन्– ‘म एकदम डराएकी छु । मानौ जेलभित्र बसे झैं लाग्छ । मनमा पीडा भइदिँदा पनि केही भएको छैन भनेर हाँस्नु त साह्रै गाह्रो हुन्छ । म यसरी नै बहाना गरिरहेछु । म पागल हुन थालेकी छु कि क्या हो ? आफै मनमनै गुन्छु ।’उनी मानौं बेहोस झैं ओछ्यानमा लड्छिन । उनले श्रीमानको निम्तामा अमेरिकाको भिसा पाइन् । अमेरिकाको यात्रामा जाउँभन्दा पनि पहिले उनलाई साह्रै गाह्रो भयो । बान्ता आउने, पेट दुःख्ने, मांसपेशीहरू दुख्ने समस्या भइरह्यो, सधैं जस्स्तै । अब फेरि उनलाई चिकित्सकीय परीक्षण र उपचारको क्रम सुरु गरियो । खाना राम्रोसँग नखाएको र राम्रोसँग नसुतेको हुनाले गायत्रीको शारीरीक स्थिति बिग्रँदै गएको थियो । यस्तोमा डाक्टरले सुरुबाटै उनलाई शरीरमा पानी चढाएर आराम गर्न सल्लाह दिए । उनको रगत पनि जाँच गरियो र त्यसमा केही समस्या नभएको बताइयो । ‘सायद अमेरिका जाँदा तनाव भएर उनलाई यस्तो भएको होला । चिन्ता गर्नुपर्ने केही कारण छैन,’ डाक्टरले यसो भनेको सुन्दा उनलाई  झन् गाह्रो महसुस भएको थियो । जसोतसो गरेर चढेको अमेरिका जाने विमानमा पनि उनी एकदम रोइरहिन् र बान्ता गरिरहिन । अमेरिका पुगेपछि पनि उनले आफ्नो वेदना लुकाउन खोजिन् ।

उनको पहिलो बच्चा छोरी भइन् । छोरीको नाम रोशनी राखियो । छोरी भएपछि उनलाई केही समय ठिक भयो, उनी सामान्य जस्तै भइन् । उनको मनको वेदना पनि हरायो । तर, केही समय बित्न पाएको थिएन, उनको पहिले जस्तै वेदना सुरु भयो । उनले आफ्नो श्रीमानलाई पनि मनको वेदना बताउन सकिनन् । श्रीमानले उनलाई पागल भनेर त्याग गर्लान् कि भन्ने उनलाई डर लाग्थ्यो ।

उनी बारम्बार आफ्ना बुबाले भनेको सम्झिन्छिन्, ‘तिमी आफूले नै आफैलाई कमजोर बनाउँछौ । तिम्रा वरिपरि तिमीलाई माया गर्ने कति मानिसहरू छन् तर तिमी ‘कल्पनाको रोग’ बाट मुक्त हुनै खोज्दिनौ । यसरी तिमीलाई आफैले आफूलाई मद्दत नगरेको हुँदा अन्य कसैले मद्दत गर्न सक्दैनन् ।’

बुबाको यो कुरा सम्झेर उनलाई के गरूँ के गरूँ पनि हुन्थ्यो ।

‘मैले के गरौं ? मैले रोक्न खोजेर पनि आफूलाई रोक्न सक्दिन’यसो भन्दै उनी कराउन चाहन्थिन । यसरी शारीरिक रूपमा जति उपचार गरे पनि उनलाई ठिक भएन तर उनी मानसिक रूपमा बिरामी भएको र मानसिक रोग विशेषज्ञको उपचार गराउनुपर्ने कुराचाहिँ कसैले हेक्का राखेनन् । अनि एक दिन यस्तो संयोग भयो– गायत्री घरबाहिर बसेर माटो खोस्रिँदै र खाल्डो खन्दै ठूलो स्वरले रुँदै थिइन् र पटकपटक ‘म यही खाल्डोमा हाम फालेर मर्छु’ भन्दै सुक्सुकाउँदै थिइन् । अकस्मात् उनले गरिरहेको यो सबै क्रियाकलाप र उनको आवाज गायत्रीका पतिले देखे पनि र सुने पनि । त्यसैबेला उनले गायत्रीलाई मानसिक रोग लागेको आशंका गरे ।

त्योभन्दा पहिलेसम्म गायत्रीका पतिले पनि गायत्रीको समस्या शारीरिक समस्या हो र कमजोरीले गर्दा हो भनेर बुझिरहेका थिए तर गायत्रीको ‘खाल्टो खनेर मर्छु’भन्ने अवस्था देखे–सुनेपछि उनले आफ्नी श्रीमती मानसिक रोगबाट ग्रस्त भएको निष्कर्ष निकाले । लगत्तै उनले गायत्रीलाई अमेरिकी मानसिक रोग विशेषज्ञकहाँ लिएर गए अनि सबै बेलीविस्तार लाए । गायत्रीको आत्महत्या गर्ने प्रवृत्तिलाई दृष्टिगत गर्दै डाक्टरहरूले उनलाई केही समय अस्पतालमै राखी उपचार गर्नुपर्ने बताए । नियमित उपचार र परामर्शपछि गायत्रीलाई निको हुन्छ । डाक्टरले गायत्रीलाई औषधिचाहिँ खाइरहनुपर्ने बताउँछन । केही समय औषधि खाएपछि गायत्रीलाई ठिक भयो । उनले औषधि खान छोडिदिन्छिन् ।

त्यसको केही समयपछि गायत्री फेरि मानसिक अवसादको सिकार भएर पुनः डाक्टरकहाँ पुग्छिन । उनको हेरचाह गर्न उनकी आमा पनि भारतबाट अमेरिका आउँछिन । उनी फर्केको केही समयपछि गायत्री आफ्ना छोराछोरी लिएर भारत जान्छिन् । त्यहाँ फेरि उनलाई बान्ता हुने समस्या देखिएपछि मानसिक रोग विशेषज्ञलाई देखाएर उपचार हुन्छ । केही समयपछि पो गायत्रीलाई थाहा हुन्छ– उनका बुबा पनि डिप्रेसनबाट पीडित रहेछन् । आमाले त घरमा सबैसँग यी कुरा लुकाएर राख्नुभएको रहेछ । पछि जब उपचारपश्चात् गायत्री निको हुन्छिन अनि पो उनले थाहा पाँउछिन्– उनको परिवार र धेरै नातागोतामा मानसिक समस्या रहेछ तर सबैले लुकाएर राखेका रहेछन् ।

अनि एकदिन गायत्रीले पटक्कै नसोचेको घटना घट्न पुग्छ । अचानक उनकी बहिनीले पनि मानसिक रोगबाट पीडित भएर आत्महत्या गर्न खोज्छिन् ! तब पो गायत्रीलाई बोध हुन्छ– यस्तो समस्या हुँदा लुकाएर राख्नै हुँदैन ।

बहिनीको सफल उपचार गराएपछि गायत्रीले आफ्नो जीवन र परिवारमा परेको समस्याका बारेमा किताब लेखेर दुनियाँलाई जानकारी गराउँछु भनेर कम्मर कस्छिन् । यो किताब लेख्दा उनले मानसिक रोगका बारेमा अझ धेरै अध्ययन गर्छिन् र कसरी घरपरिवारको सहयोग एवं समुचित उपचार भयो भने मानसिक रोग निको हुन्छ भनेर बुभ्mिछन् ।

गायत्रीको जीवनकथा पढेपछि मलाई लाग्यो, नेपालमा मात्र होइन अमेरिका जस्तो देशमा पनि रोगको पहिचान हुन नसकेर कति कष्ट भोग्नु पर्दोरहेछ !

नेपालमा पनि कतिपय महिला यसैगरी डिप्रेसनको सिकार छन् । उनीहरूले औषधि उपचार र  परामर्श नपाउँदा उनीहरूको जीवन घोर अन्धकारमा डुब्न पुगेको हुन्छ जसले गर्दा कतिपयले आत्महत्या गरेका घटना थुप्रै छन् ।

मानसिक रोग विशेषज्ञहरूले महिलाहरूलाई उपचार गरेर निको पारेको तर डाक्टरसँग सलाह नै नगरी उपचार छोडेपछि भने अनेक महिलाले आत्महत्या गरेका कतिपय घटना मनसिक रोग विशेषज्ञहरूले भनिरहन्छन । दुःख–सुख, मृत्यु, वेदना सबैका जीवनमा आउँछन् र मानिसहरू रुन्छन, कराउँछन अनि समय बितेपछि आफंै पीडा बिर्सिंदै जान्छन् । दःुख हुँदा उदास हुने र रुने कराउने बित्तिकै रोग लागेको हो भन्दै उपचार गरिहाल्नुपर्छ भन्ने धारण पनि ठिक होइन तर रुवाइ, उदासी र आँसु लामो समयसम्म रहिरह्यो, खानै मन लाग्ने, निद्रा नै नलाग्ने, कोही कसैसँग बोल्न मन नलाग्ने आदि भइरह्यो भने यस्तो अवस्थामा रोगको उपचार गर्नुपर्छ भन्ने तथ्य यो किताबमा देखाइएको छ । यो किताब गायत्रीको जीवनअनुभव र अध्ययनको निचोड हो ।

यो किताब निकालेपछि मसँगको एक भेटमा गायत्रीले ‘आफ्नो जीवनको एक अँध्योरो पर्दाबाट मुक्ति पाएर उज्यालोतिर लागेको अनुभूति गरेकी छु । र, यस्तो समस्या हुने व्यक्तिहरूले आफूले जस्तो दुःख नपाऊन् भनेर आफ्नो सम्पूर्ण समय नै मानसिक रोगका बारेमा चेतना जगाउन लगाइरहेकी छु । यसमा परिवारका सदस्यहरूले पनि पूर्ण सहयोग गरिरहेका छन्’ भनेर मलाई भनेकी थिइन् ।  गायत्रीको यस किताबले मलाई पनि मानसिक समस्याका बारेमा जनचेतना जगाउन प्रेरणा दिएको छ ।

आफ्नो अभियानलाई अगाडि बढाउन गायत्रीले डिप्रेसनको उपचारपछि अरूलाई पनि यस्तो समस्या भयो भने परामर्श र परिवारको भूमिका यस्तो बेलामा के हुन्छ, कसरी सकारात्मक सोचले विभिन्न समस्याहरू समाधान गर्न सकिन्छ भन्ने कुराले प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने जस्ता विविध जानकारी दिने उद्देश्यले ‘आशा’नामक एक संस्था नै दर्ता गरेकी छन् । यसलाई अनलाइनमा हेर्न र आवश्यक धेरै जानकारी पनि लिन सकिन्छ : http://www.amazon.com/Shadows-Sun-Healing-Depression-Finding/dp/1616494751

   (स्रोत : अस्मिता हाम्रो, जेठ-असार अंक , २०७२)

असार २९, २०७४ मा प्रकाशित

1 Comment on आत्महत्या प्रयासपछिको आत्मकथा

  1. Glad to hear everyone affected are safe. Thank you for sharing with us. I found it educational. I too believe that awareness is the only way to prevent suicide as well as keep each safe with the better treatment available. I hope to read your book one day.

Leave a Reply

Your email address will not be published.


*