आसन्न निर्वाचन : गृहले सुरक्षाकर्मीलाई भन्यो, …त्यसो भए सीधै गोली हान्नू

काठमाडौं, ३ मंसिर ।

रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

विस्फोटमा परी चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । सरिताको खुट्टाभरि बमका छर्रा लागेका छन् । जैविकको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

गोली हान्ने आदेश
गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो ।

तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन । – नयाँ पत्रिका

आइतबार, मंसिर ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*