६५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट सन्न्यास

उमा रेग्मी नेपाली राजनीतिमा परिचित नाम हो । हाल नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाल महिला संघको अध्यक्ष रहेकी उमाले छत्तीस सालको विद्यार्थी आन्दोलनदेखि अहिलेसम्म विभिन्न मोर्चाहरूमा रहेर काम गरेकी छन् ।

छोरीलाई पढाउनु हुँदैन भन्ने जमानामा समाजका पछि नलागी उमाका आमाबुबाले उनलाई विद्यालय पठाएरै छाडे । उनी विद्यालय स्तरदेखि नै अत्यन्त मेधावी छात्राका रूपमा चिनिइन् । कक्षामा मात्र होइन, देशव्यापी वक्तृत्वकला प्रतियोगितामा समेत उनी प्रथम हुन्थिन् । शिक्षाशास्त्रतर्फको स्नातकोत्तर परीक्षामा प्रथम श्रेणीमा प्रथम भएर स्वर्णपदक पनि तिनै उमा रेग्मीले पाइन् ।

आफ्ना दाजु तीर्थराम नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाल विद्यार्थी संघको क्रियाकलापमा सहभागी भएपछि त्यसको प्रभाव उमामा पनि पर्यो । उनी दाजुले ल्याउने गरेको त्यतिखेरको प्रतिबन्धित नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ पत्रिका लुकीलुकी पढ्ने गर्थिन् र विशेष रूपमा नेपाली कांग्रेसका नेता विपी कोइरालाको राजनीतिक चिन्तनलाई रुचाउँथिन् । यसकै प्रभावले उनमा राजनीतिप्रति चासो बढ्न थाल्यो र ९ कक्षामा पढ्दै गर्दा नै उनी चितवनको शारदा माध्यमिक विद्यालयको नेविसंघ एकाइको अध्यक्ष बनिन् ।

अध्ययन र विद्यार्थी राजनीतिलाई एकै साथ अघि बढाउँदै उमा चितवनबाट प्रमाणपत्र तहको अध्ययन पूरा गरेर स्नातक तहको पढाइका लागि २०३४ सालमा काठामाडौंको पद्मकन्या क्याम्पस भर्ना भइन् । यही बेला प्रवासबाट फर्केका विपी कोइराला र उनलाई स्वागत गर्न विमानस्थल पुगेका हजारौं कार्यकर्तालाई प्रशासनले धरपकड गरेपछि उमाभित्रको राजनीतिक चेतना अझ उँचो भयो । उनले साथीहरूको सल्लाहमा पद्मकन्या क्याम्पसमा नेविसंघको एकाइ गठन गरिन्, जुन त्यसअघिसम्म असंभव जस्तै थियो । २०३६ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य बनिन् ।

uma regmi 2

२०३७ सालमा स्नातकोत्तर तहको पढाइका लागि कीर्तिपुर क्याम्पसमा भर्ना भएपछि पनि उमा त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष चुनिइन् । विद्यार्थी राजनीतिमा पाएको यो सफलता उनको त्याग र साहसको प्रतिफल थियो किनभने यस बीचमा उनले कैयौंपटक जेल र कस्टडीको यात्रा गरिसकेकी थिइन् । राजनीतिक यात्राका क्रममा उनले पटकपटक गरी तीन वर्षको जेल जीवन पनि भोगिसकेकी छन् ।

अध्ययन पूरा गरेर सेवा आयोग पास गरी उमा सहायक प्राध्यापकको हैसियतले गोरखा क्याम्पस, वीरेन्द्र क्याम्पस भरतपुर, ताहाचल क्याम्पस काठमाडौं र शिक्षा संकाय कीर्तिपुरमा अध्यापन पेसामा लागिन् । बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा उनलाई पार्टीले पर्वत क्षेत्र नं.२ को उम्मेदवार बनायो । उनी त्यहाँबाट विजयी भएर सांसद बनिन् ।

राजनीति गर्दा सधैं परिवारको साथ पाएकी उमाले राजनीतिक यात्राका क्रममा भोग्नुपरेका दुःख–कष्ट उनका लागि सामान्य कुरा थिए किनभने त्यतिखेर नेपाली कांग्रेस प्रतिबन्धित अवस्थामा थियो र निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धमा लड्दा भोग्नुपर्ने नियतिका बारेमा उनी अनभिज्ञ थिइनन् । तर पार्टीको प्रतिबन्ध हटेर आफ्नै पार्टी सत्तासीन भएपछि उनको राजनीतिक यात्रामा संघर्षपूर्ण दिनहरू आए । त्यसको कारण थियो, आफ्नै श्रीमान्को असहयोग र विरोध ।

२०३७ सालमा एउटै राजनीतिक सोच भएका व्यक्तिसँग उनको प्रेमविवाह भएको थियो । २०४८ सालमा पार्टीले उनलाई सांसद पदको टिकट दिएपछि आफ्नी श्रीमती आफूभन्दा अघि बढेको उनका श्रीमान्लाई चित्त बुझेन र उनीहरूबीच मनमुटाव सुरु भयो । जसका कारण उनीहरू डेढ दशक बेग्लाबेग्लै बसे । यसबीचमा श्रीमान्ले अर्को विवाह गर्ने कुरा सुनाएपछि उनले छोरासँग सल्लाह गरेर श्रीमान्सँग कुनै अंश नलिइकन सम्बन्ध–विच्छेद गरिन् ।

शिक्षित पुरुषहरूलाई पनि महिलालाई अघि बढेको सह्य नहुँदो रहेछ भन्ने तीतो वास्तविकता उमाले आफ्नै जीवनबाट भोग्नुपर्यो । उनी २०६२–६३ को आन्दोलनबाट पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य बनेकी थिइन् र पहिलो संविधानसभाको सभासद पनि थिइन् ।

विभिन्न आरोह–अवरोहहरूका साथ चार दशकभन्दा लामो राजनीतिक यात्रा पूरा गरेकी उमा आफूले कुनै पद प्राप्तिका लागि राजनीति नगरेको बताउँछिन् । भन्छिन्, “मैले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने र त्यसलाई संस्थागत गर्ने अठोटले राजनीति गरेकी हुँ, कुनै पद प्राप्तिका लागि होइन ।”

लामो समयसम्म सक्रिय राजनीति गरेकी उमाले एक राजनीतिज्ञका रूपमा मात्र नभई एक महिलाका दृष्टिकोणले पनि पार्टी र राज्यले सबै नागरिकहरूको समानताका लागि वहन गर्नुपर्ने दायित्वहरू औंल्याउने काम गर्दै आएकी छिन् ।

पहिलोपटक आपूm सदस्य भएको संविधान सभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिअन्तर्गतको नागरिक सम्बन्ध उपसमितिमा उनले महिला र पुरुषलाई नागरिकता सम्बन्धी समान अधिकार हुनुपर्ने तथा गैरआवासीय नेपालीलाई नागरिकता दिने पक्षमा सरकार सकारात्मक हुनुपर्ने पक्षमा कुरा राख्दै आएकी थिइन् ।

पार्टीभित्र महिलाहरूको उल्लेखनीय सहभागिता भएको खण्डमा मात्र महिलाहरूका अधिकार सुनिश्चित हुने ठहर गरी उमाले समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्ने माग राख्दै आएकी छिन् जबकि नेपाली कांग्रेस मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ ।

पार्टीभित्र महिलाहरूको आवाज झिनो हुने भएकाले उनीहरूले उठाएको मुद्दालाई पनि खासै गम्भीरतापूर्वक नलिइने गरेको नमिठो अनुभव उमाको छ । २०४६ सालको परिवर्तनपछि पनि आधा जनसंख्या महिला भएको देशको संसदमा ५ प्रतिशत महिलाहरूलाई मात्र आरक्षण दिने कुरा राखियो । यसमा पनि विडम्बनापूर्ण तरिकाले राष्ट्रिय राजनीतिक रङ्गमञ्चको उपल्लो तहमा रहेका सहाना प्रधान, शैलजा आचार्यजस्ता राजनीतिक व्यक्तित्वहरूलाई पनि त्यही कोटामा राखियो ।

पहिलो संविधान सभामा झण्डै ३३ प्रतिशत रहेको महिला सहभागिता दोस्रो संविधान सभामा करिब २९ प्रतिशतमा झर्न पुग्यो भने पार्टीभित्रका समितिहरू तथा राज्य संयन्त्रमा अझै पनि त्यसो हुन नसकेकाले सबैतिर महिला सहभागिता बढाउन लागि पर्नुपर्ने धारणा उनको छ ।

विभिन्न उतारचढाव, चुनौती, सफलता तथा अवरोधहरूले भरिएको उमाको राजनीतिक यात्राले एउटा लामो कालखण्ड पूरा गरिसकेको छ । तर राजनीतिलाई निरन्तरता दिने विषयमा उमाको धारणा आम राजनीतिकर्मीहरूको भन्दा बेग्लै छ । उनी नमरुञ्जेलसम्म राजनीति नछाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्छिन् । भन्छिन, “मानिसले जीवनको हरेक आयामहरूको अनुभूति गर्न पाउनु पर्छ ।”

त्यसैले उनले अहिल्यै ६५ वर्षको उमेरसम्ममा मात्र राजनीतिक गतिविधिमा संलग्न रहने घोषणा गरिसकेकी छिन् ।

uma-regmi 1

प्रस्तुति– शान्ता भण्डारी/भरत अधिकारी

     मंगलबार, असोज ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*