एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

रुकुम, ३० जेठ । दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् ।

भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेर अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

दाइ हर्कप्रसाद सुनार नेकपा (एमाले) बाट वडा सदस्यमा र बहिनी लीला सुनार नेकपा (माओवादी केन्द्र) बाट दलित महिला सदस्यमा उम्मेदवार बनेका हुन् ।

एमालेका उम्मेदवार हर्कप्रसाद गाउँमा रहेको आधारभूत विद्यालय डलिबाङको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लीलाले लामो समयदेखि स्वास्थ्य स्वयम्सेविका, वन समूहको सचिवलगायतका सामाजिक काम गर्दै आएको स्थानीय रमेश बुढा बताउँछन् ।

दुवै दाजुबहिनी विगतदेखि नै समाजसेवामा रहेकाले कसले बाजी मार्छ भन्नेमा धेरैले चासो राखेका छन् । चुनाव नजिकिएसँगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

दुवैले आ–आफ्नो पार्टीले जित्ने दाबी गर्दै आएका छन् ।

हर्कप्रसादले ६ नं वडामा एमालेको राम्रो पकड भएकाले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताइरहेका छन् ।

माओवादीको जित निश्चित भएकाले आफूले दाइलाई उम्मेदवार नहुन आग्रह गरेको तर उनले नमानेको बहिनी लीलाको भनाइ राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।

      जेठ ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*