व्यापारी श्रेष्ठको खोजी गर्न ‘भुन्टी’ कुकुरको प्रयोग

बेपत्ता राजकुमार श्रेष्ठ

काठमाडौं, ३० जेठ । विगत पाँच दिनदेखि सम्पर्कबिहिन रहेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको खोजि गर्नका लागि ‘भुन्टि’ नामको कुकुर प्रयोग गरिएको छ। ‘भून्टी’ नामक उक्त कुकुर नेपालगञ्जस्थित प्रहरीको क्षेत्रीय कुकुर  तालिम केन्द्रबाट झिकाएर अनुसन्धान र खोजी थालिएको दाङका प्रहरी प्रमुख एवम् एसपी धीरजप्रताप सिंहले जानकारी दिए।

सोमबार दिनभर ‘भुन्टी’को साहेताले श्रेष्ठको कार फेला परेको क्षेत्रदेखि आसपासको जंगलमा खोजतलास गरिएको भए पनि कुनै प्रगति भने हुन नसकेको एसपी सिंहले बताए। तुलसीपुरका व्यापारी श्रेष्ठ उनीसँगै हतियारधारीले बन्धक बनाएर लगिएको आशंका गरिएका घोराहीका रनबहादुर घर्ती र अर्की एक जना महिलाको खोजिमा दुई सय बढी प्रहरी खटाउँदै आइएको प्रहरीले बताएको छ।

दाङ, सल्यान र रोल्पा गरि तीन जिल्लाका प्रहरी खटाएर खोज तलास गर्दा पनि कुनै सुराक फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

सम्पर्कविहिन रहेका व्यापारी श्रेष्ठलगायतका व्यक्तिको खोजिका लागि नेपालगञ्जवाट ल्याइएको ‘भुन्टी’ नामक कुकुरको प्रयोग गरि खोजि थालिएको उनले बताए । ‘कुकुर थाकेर हो या दुरीको कारणले हो, सोमबार दिनभर केही पत्ता लागेन,’ डिएसपी खत्रीले भने ‘तर,हामीले यो प्रयास अझैं जारी राख्ने छौं, प्रहरी र भुन्टीको प्रयोग मार्फत व्यापक खोजतालस गर्नैछौं ।’

हालसम्म सम्पर्कमा आउन नसकेका तुलसीपुरका प्रतिष्ठित व्यापारी श्रेष्ठ लगायत अन्यव्यक्तिहरुको अवस्था अज्ञात नै नरहेको डिएसपी खत्रीले बताए। ‘अपहरण भएको भए फिरौतिको लागि कुनै न कुनै माध्यमवाट कुरा आउनु पर्दथ्यो, तर हालसम्म त्यस्तो कुरा आएको जानकारी प्रहरीलाई छैन।’ खत्रीले भने । तर उनले प्रहरीले कुनै न कुनै ‘किल्यू’ र ‘सुराक’ फेला पार्ने विश्वास व्यक्त गरे। रनबहादुर घर्तीसँगै रहेका भारतीय व्यक्तिहरुले हतियारधारी समूहले आँफुहरुलाई कुटपिट गरेको तथा घर्तीलाई लगेको कुरा गरेता पनि श्रेष्ठको गाडीमा को थिए? भन्ने आफूहरूले देख्न नपाएको बयान दिएको डिएसपी खत्रीले बताए। ‘गाडी श्रेष्ठकै भएकोले उनीहरु नै थिए कि भन्ने आशंका मात्रै गर्न सकिन्छ र खोजि त्यही आधारमा भइरहेको छ ।’

डिएसपी खत्रीले भने ‘तर,अपहरणकारीले गाडी मात्रै त्यहाँ लगेर श्रेष्ठलाई अन्त कुनै दिशामा लगेको पनि हुनसक्छन्।’

शुक्रबार साँझ साढे सात बजेसम्म तुलसीपुरमै रहेका व्यापारीले प्रयोग गर्दै आएको गाडी सल्यानमा फेला परेता पनि हालसम्म उनको अवस्था भने अज्ञात नै छ । (सेतोपाटी)

जेठ ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*